पुरै जन्ती किच्याउने ढुङ्गा, जो बौद्ध धर्मको मन्त्र बोकेर उभिईरहेकोछ (भिडियो सहित)

प्रकाश न्यौपाने/कुमार श्रेष्ठ, रामेछाप ।

पर्यापर्यटनले भरिपूर्ण रहेको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा रहेको ठूलो ढुङ्गा प्रचारप्रशारको अभावमा ओझेलमा परेको छ । आध्यात्मिक बौद्ध दर्शनलाई जीवन्त राख्न सफल भएको यो ढुङ्गा सरोकारवाला निकायको दूरदृष्टिको अभावका ओझेलमा परेको हो ।


गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको साङ्बाडाँडा सँगै रहेको यो ढुङ्गा ठूलो ढुङ्गा नामले परिचित छ । यो ढुङ्गा सम्भवतः यस पालिका भित्रकै साँच्चै नै ठूलो ढुङ्गा हो भने चुचुरे क्षेत्रको चाहिँ ठूलै ढुङ्गा भएको स्थानीयहरु बताउँछन् । यस ढुङ्गामा १ हजार ८ बौद्ध धर्मका लामा गुरुहरुले उच्चारण गर्ने मन्त्रहरु कुँदिएका छन् । करिब २ सय मिटर भन्दा बढी गोलाई रहेको यो ढुङ्गाको वजन कति छ ? भनेर सिधा आँखाले अनुमान लगाउन सकिँदैन । हेर्दा साँच्चै अजङ्गको ढुङ्गा देखिन्छ । यस ढुङ्गामा कुँदिएका लामा मन्त्रहरु सामान्य मान्छेले पढ्न सक्ने खालका छैनन् ।
यस ढुङ्गाको बारेमा निकै रोचक किंवतन्दी भएको स्थानीय होमप्रसाद दाहाल बताउँछन् । दाहालले पनि यस ढुङ्गाको किंवदन्तीलाई सुनेको आधारमा आफूले सुनाउन सकेको हामीलाई बताएका छन् । उनका अनुसार यस ढुङ्गा भएको ठाउँमा परापूर्व कालमा ठूलो पोखरी थियो । एक पटक कुनै स्थानबाट बिहेको जन्ती आएको र रात परेका कारण ती जन्तीहरु यसै ढुङ्गाको ओडारमा बास बसेको साथै खानपिन समेत सोही ठाउँमा गरेका थिए । बास बस्ने व्यक्तिहरुले पोखरीको पानी प्रयोग गरी पोखरीमा जुठो गरेको कारण दैवी शक्तिमा क्रोध पालाउन गई ढुङ्गा पल्टिएको र सो ढुङ्गाले किचेर दुलाहा दुलही सहित् सबै जन्तीहरु किचिएको जन आहान रहेको छ ।


शाक्यमुनी गौतम बुद्धको आराधानामा प्रयोग गरिने मन्त्रहरु कुँदिएको अहिले प्रत्यक्ष देख्दा भने साँच्चै अचम्म लाग्ने गर्दछ । मार्तोल र छिनोको प्रयोग गरेर मात्र यी मन्त्रहरु यस ढुङ्गामा कुँद्न सकिने अवस्था भएको वास्तविकतामा विगत लामो समय पहिला यी अक्षरहरु कसरी कुँदिए भनेर जो कोहीको मनमा पनि प्रश्न चिन्ह खडा हुने नै गर्दछ । अजङ्गको ढुङ्गामा यति मेहनत गरेर आखिर यी मन्त्रहरु कति वर्ष अघि कुँदिएको होला ? प्रश्न आफैँमा अनुत्तरित छ । कसलाई सोध्ने या को बाट बुझ्ने ? सोच्न मन लाग्ने खालको छ ।


यस ढुङ्गाको उत्तरपट्टी देवीको मन्दिर समेत रहेको छ । यस मन्दिरमा हरेक चण्डीपूर्णिमा र बाल चतुर्दशीमा मेला लाग्ने गरेको दाहाल बताउँछन् ।
नेपाल आफैंमा धार्मिक सहिष्णुता भएको देश हो । नेपालमा धर्मका नाममा न यहाँ कहिल्यै झगडा भयो न त दंगा फसाद् नै । यसैको उदाहरण स्वरुप यस ढुङ्गामा कुँदिएका बौद्ध धर्मका मन्त्रहरु र सँगै रहेको देवी मन्दिरको समान सार्थकता र महत्वले यस क्षेत्रलाई अझ भक्तजनहरुको मिश्रित उपस्थितिको सम्भावनालाई बलियो बनाएको छ ।


शाक्यमुनी गौतम बुद्ध आफैंमा नेवारी समुदायका व्यक्ति हुन भन्ने समेत कहिँकतै विश्वास गरिएको छ । यद्यपि गौतम बुद्ध नेवारी समुदायका हुन् कि हैनन् भन्ने यकिन गर्न सकिएको छैन । विभिन्न समयमा प्रकशन भएका विविध शोध सामग्री तथा अनुसन्धानलाई समेत मध्यनजर गर्ने हो भने उनी शाक्य वंशका हुन् ।
हालका दिनमा शाक्यहरु नेवारी समुदायका हुनु र हिनायाना बुद्धको रुपमा नेवारहरुले बौद्ध धर्मलाई मानिरहेका हुनुले गौतम बुद्ध नेवारी समुदायका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । जो कोहीले गर्ने अनुमानलाई अझ बलियो बनाउन यस ढुङ्गामा प्रयोग गरिएको रञ्जना लिपिलाई लिन सकिन्छ । यहाँ कुँदिएका अधिंकाश मन्त्रहरु चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रयोग हुने भोटे भाषाको सम्बोटा लिपि प्रयोग भइरहेको अवस्थामा नेवारी भाषाको रञ्जना लिपि समेत यस ढुङ्गामा प्रयोग हुनुले यहाँ जातीय तथा भाषिक सहिष्णुताको सन्देश समेत अझ बलियो भएको छ ।


हाल यो ढुङ्गामा कुँदिएका लिपिहरुलाई विभिन्न रङ्ग लगाएर कलात्मक बनाइएको छ । अघिल्लो वर्ष गोकुलगंगा गाउँपालिकाद्वारा विनियोजित ४ लाख बजेटले अक्षरहरुमा रंग लगाउँदा यसको प्राकृतिक सुन्दरता केही खस्केको जस्तो देखिएको छ । विभिन्न रंगका इनामेल लगाइको कारण यस ढुङ्गामा अक्षर कुँदिएका भन्दा पनि रंगले अक्षर लेखिएको जस्तो देखिएको छ ।
परापूर्व कालमा जे जस्तो महिमा र गरिमा रहेको भएपनि साविक झैं यहाँ अझै पनि बलिप्रथा चल्दै आएको छ । शाक्यमुनी गौतम बुद्धको उपदेशमा भनिए झैं अहिंशावादी सोचको खिलाफ हुनेगरी यस स्थानमा बली पूजा हुनुले यस ढुङ्गाको बौद्ध दार्शनिक मर्ममा भने चोट पुगेको छ । हुन त ढुङ्गाको उत्तरतर्फ रहेको देवी मन्दिरमा बलि चढाउने गरिएको छ । यसै पनि देवी भगवतीलाई बलि चढाउने गरिएको सन्दर्भमा अहिंशावादी बौद्ध परम्परालाई साँक्षी राखेर बली प्रथा समेत सँगै लैजानु सान्दर्भिक नभएको र निकट भविष्यमा नै बुद्धिष्ट समाजसँग समन्वय गरी बलिप्रथालाई अन्त्य गर्ने कुरामा आफूहरु लागिरहेको दाहाल बताउँछन् ।


गोकुलगंगा गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र भएका पर्यटकीय क्षेत्रहरुको संरक्षणका लागि गरेको प्रयासलाई निकै प्रशंसनीय मान्न सकिन्छ । चुचुरेको खिम्ती किनारमा रहेको स्टोन गार्डेन देख्दा मुस्ताङ्को झल्को आउने गर्दछ । यहाँ पुगेपछि देखिने नजारा निकै मनमोहक छ, जसको शब्दमा कुनै वर्णन नै सम्भव छैन । छिमेकी जिरी नगरपालिका १ नं. वडासँगै रहेको यस क्षेत्र र साङ्बाडाँडामा रहेको ठूलो ढुङ्गा जस्ता क्षेत्रहरुलाई अझ धेरै प्रचारप्रशार गरी आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्न सकिने यसै वडाका वडाध्यक्ष मणीकुमार लामा बताउछन् ।


दोखलाको जिरी हुँदै गोकुलगंगाको तामे, जट्टापोखरी र सोलुको सगरमाथा बेस क्याम्प सम्म पुग्ने पदमार्गमा पर्ने चुचुरे क्षेत्र पर्या पर्यटन प्रवर्धनका लागि गतिलो सम्भावना बोकेको क्षेत्र हो । चुचुरेका चौंरीको दूधबाट बनेको चिजलाई चपाउँदै र छुर्पीलाई चुस्दै गर्ने पदमार्ग यात्रा निकै हितकारी बन्ने प्रक्षेपण गर्न सकिन्छ ।