कुरुक्षेत्र (कविता)

नवीन मनोहर


सबै युद्धहरु लडन
युद्ध मैदान नै हुनु पर्दैन
कति युद्धहरु मायामा लडिन्छन्
कति युद्धहरु प्रतिस्पर्धामा पनि बढिन्छन्
ओ ! युगकी महानायिका
ओ ! युगकी स्रग्धरमयी अप्सरा
यहाँ हरेक षोडषीको कूच मर्दनका खातिर
एउटा नायक भनाउँदो
जीवनभर लखर लखर तिम्रा
अघिपछि गर्दछ
कहिले त्यो मादा खुसी पार्न
महाकाव्य फुराउँछ
कहिले त्यो भार्या नजिक ल्याउन
उपन्यास नै जुराउँछ
जे छैन संसारमा
भलिभाँती बखान र व्याख्या गर्दछ
जे छ संसारमा त्यसको वास्ता पास्ता गर्दैन,

पुरुषहरु यहाँ सबै कुपुरुष हुन्
सबका सब कम्बल ओढेर घिउ खान्छन्
भन्नेले भलिभाँती भनेका छन्
यहाँ स्त्रीको कमजोरी गहना
र पुरुषको कमजोरी स्त्री हुन्
लक्ष्मणले त्यसै
कहाँ शवरीको जुठो बयर खाएका हुन् र ?
कृष्णले त्यसै
आफूलाई राधाको प्रेमपाशमा फँसाएका हुन् र ?

द्रौपदीको सुन्दरतामा लठ्ठीएर
माया महलमा अझै
कुनै युधिष्ठिर बेहिचक लड्न सक्छ
सीताको आभामा रन्थनिएर
पञ्चवटीको अरण्यमा अझै कुनै रावण
बेफिक्री पुंषत्व देखाएर डुक्रन सक्छ
संसार अधिकार र कर्तव्यको पाठ पढाउँदै छ अनवरत
भालेहरु बेलगाम जुधिरहेका छन्
पोथी प्राप्तिका लागि अनवरत,

शास्त्रहरु तिनै कामातुर परिच्छेदमा धुलिसात भए
ग्रन्थहरु तिनै भगयोनी संकथनमा मटियामेट पनि पारिए
भो अब यो शिश्नयुद्धलाई रोकिदेऊ हे ! मनुवाहरु
विन्ती छ तिमी समक्षमा विन्ती छ
प्रयोग गर
उपयोग तर
बरु शालीनता बत्र्याएर
भोग गर
पूजा गर
आचमनी गर
धुनी जगाऊ
सन्जे भन,

जेजे गर्छौ त्यही त्यही गर
तर कृतिको शालीन प्रकृतिलाई नबिच्क्याऊ
शततः योनी भोग तर
शततः लिङ्ग समन गर,

जीवनका उत्ताल तरङ्मा
होमिऊ
नाच
गाउ
रमाऊ
खेल
खेलाऊ
जीवन भोग गर
नवजात सृष्टिका लाग
क्रीडा र केली समेत गर
प्रत्युत्तरमा
कोमल
कान्त
र उज्ज्वल चक्रको
उम्दो यो जीवन भोग चलन गर ।

मन्थली, रामेछाप ।