म, मेरो गाउँ र बिरक्तिएको लिखु तामाकोसी गाउँपालिका

बाेहाेरा अङ्कल


हरेक नागरिकहरु प्रगतिशील हुन चाहन्छन् र आफ्नो समाजलाई प्रगतिको पथमा लम्काउन चाहन्छन् । आफू र आफ्नो समाजको उन्नति प्रगति नहोस् भन्ने कसले पो चाहन्छ र ?
रामेछापको अहिलेको परिप्रेक्ष्यलाई नियाल्दा अनियमितताले छपक्कै छोपेको छ । हामीले विकासप्रेमी भनेका नेताहरू नै नागरिकलाई कसरी आफ्नो पार्टीमा प्रवेश गराउने भन्ने होडबाजीमा तल्लिन छन् ।


सरकार पक्ष हुन् वा प्रतिपक्ष, सबैको चटारो भनेकै आफ्नो पार्टीमा कसरी धेरै भन्दा धेरै कार्यकर्ता प्रवेश गराउने छ । विकासका लागि दिनु पर्ने समय पार्टी प्रवेशमा व्यतित गरिरहेका छन् । यतिसम्म कि कोरोना कहरमा समेत कार्यकर्ता भित्र्याउने होडबाजी नै चल्यो ।


रामेछापको चुनावी क्षेत्र ‘क’ मा विकासको खासै गतिशीलता देखिँदैन । यही अनुरुप हलेदेबेसीदेखि धोबी बजारहुँदै सैपु साप्रासम्मको सडक अवलोकन गर्ने हो भने राजनीति गर्नेहरुलाइ लाज लाग्नु पर्ने हो । त्यहाँ सडक बाटो पुगेको १२ बर्ष नाघ्यो होला । रामेछापको व्यस्त मध्ये पर्ने सो सडक अहिले हेर्दा दयनीय अवस्थामा भेटिन्छ ।


जब हलेदेवेसीबाट उकालो लागिन्छ, मनले त डाँडाकाँडा हेर्छु भनेर खुशी हुन्छ तर केही माथि लागेपछि धुलो सुरु हुन्छ । कहीँ कतै अलि पुरानो बाइक त ठेल्दै जानुपर्छ । सफा र सुन्दर कपडा धुलाम्मे हुन्छ तर त्यो बाटो दैनिक जसो नेताहरू पनि हिँड्ने गर्छन् । खै पहल नगरेको हो कि, नागरिकलाई धुलोमा राख्न चाहेको हो ?’

अहिले देशको सत्तापक्षका जिल्ला इन्चार्जको जन्मभूमि त्यही हो । जाने बाटो त्यही हो । बिडम्बना आफ्नो सरकार हुँदा पनि त्यो सडक बनाउन नसक्नेलाई त्यस क्षेत्रका नागरिकले नेता मान्नु पर्ने ?
अझ धोबीबजार कटेर त्यो भिरको बाटो दुरागाउँ जाने बाटोको अलि पर पुगेपछि त्यहाँ चिया खाने निर्णयले छिरेँ । चिसो मौसम उडेको धुलो दिक्क भएका नागरिक । म केही समय चियासँगै भलाकुसारीमा लागेँ ।


त्यहाँको एक नागरिकले दिक्कदारपनका साथ सुनाए– ‘सर, म भर्खरै बाबु बनेँ । अब केही समयपछि यसको शिक्षा दीक्षाको चिन्ता बढेको छ । बच्चा पढाउने राम्रो स्कुल छैन । यात्रा गर्न लायक सडक छैन । अब मैले मेरो गाउँ छाड्न बाध्य हुनुपर्ने भयो ।’


यति भनिसक्दा उनका आँखा रसाई सकेका थिए । यसैगरि सबैले एक एक गरेर गाउँ छाडेर सहर पस्ने हो भने गाउँमा के नै रहन्छ र ? यहाँका हराभरा सुन फल्ने खेतबारी बाझा बस्छन् । अब उनले परिवार लिएर सहर छिर्दा के उचित रोजगार मिल्ला त ?


चिया गफमै उनले गुनासो पोखे । हुन त त्यो गुनासो मैले सुनेर पनि खासै पार लाग्नेवाला त थिएन । र पनि उनले सुनाए मैले सुनिदिएँ ।


यति बेला लिखु तामाकोसी गाउँपालिका पनि लथालिङ्ग छ । सडक मात्र कालोपत्र गर्ने हो भने लिखु तामाकोसी गाउँपालिका पर्यटकीय क्षेत्र बन्न सक्छ । यहाँका झरनाहरुले जो कसैको मन लोभ्याउन सक्छ । मौसमले पनि साथ दिएको यस पालिकामा कृषियोग्य जमिन पनि मनग्य छ ।


यस पालिकाको अहिलेको विकासक्रम देख्दा जनप्रतिनिधिहरूले खासै चासो नदिए झँै देखिन्छ । ‘के जनप्रतिनिधिहरू उत्तरदायी नभएकै हुन् त ? अब पनि नागरिक चुप बस्ने हो ? कहिलेसम्म चुपचाप बस्ने ?’


कृपया अब नागरिक उठौं, बोलौँ । आफ्नो ठाउँको समस्या, चुनौति र सम्भाव्यताको पोको खोलौँ । विकास हाम्रै लागि हो । विकास हामीले नै गर्ने हो । हामीले चाहे असम्भव केही छैन ।