केब्स सिनियर स्काउटको हाइकिङ्, टिपिकल पाककलामा माहिर विद्यार्थी (शैक्षिक रिपाेर्ट)

माघ २१, रामेछाप


केब्स् स्कूल मन्थलीका कक्षा ८, ९ र १० मा अध्ययनरत् करिब ५० जना बालबालिकाहरुले हाइकिङ् अर्थात् पैदलयात्रा गरेका छन् । विद्यालयमा गठित् सिनियर स्काउट् ट्रुपद्वारा गरिएको हाइकिङ्को गन्तव्य केब्स् स्कूलदेखि विभिन्न रुटहरुको पार गरी सुकाजोर नजिकै रहेको जंगलसम्म रहेको थियो । केब्स् स्कूलले गत वष् िजस्तै यस वर्ष पनि कक्षा ८, ९ र १० मा अध्ययन गर्ने स्काउट टोली अन्र्तगतका बालबालिकाहरुलाई हाइकिङ् गराएको विद्यालयका प्रिन्सिपल केशव तिमल्सिनाले बताएका छन् ।

यसरी सुरु भयो हाइकिङ्

शनिवार, बिहान ६ बजेकै समय, धरतिमा उज्यालोका रेसाहरु झर्न नपाउँदै केब्स् स्कूल, मन्थलीका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत् विद्यार्थीहरु विद्यालयमा जम्मा भए । विद्यालयले बनाएको पूर्व योजना मुताविक नै हाइकिङ्को गन्तव्य सुकाजोर बगर नजिकै रहेको जंगलमा विभिन्न ५ टोली (प्याट्रोल) हरुलाई शिक्षक प्रतिनिधिले लगाएको स्काउट चिन्हले दिएको दिशा निर्देशनको पालना गरी उनीहरु आफ्नो गन्तव्य पहिल्याउन अगाडि बढे । विद्यार्थीहरुलाई हाइकिङ्को गन्तव्य कहाँ हो भन्ने जानकारी थिएन । तर पनि स्काउटको विश्वस्तरीय मान्यताप्राप्त चिन्हहरुको पालना गरी चिन्ह पच्छ्याउँदै पहिलो प्याट्रोल हिँड्यो करिब बिहान साँढे ६ बजेतिर ।


पहिलो टोली हिँडेको करिब आधा घण्टामा अर्को टोलीलाई पनि मुभ गराइयो र यसै क्रममा सबै टोलीहरुलाई मुभ गराउँदै विद्यालयका प्रिन्सिपल सबै गतिविधिको जानकारी राख्दै लागे गन्तव्य सुकाजोर बगर नजिकैको जंगलतर्फ ।


स्काउट प्याट्रोलहरुका विभिन्न फरक फरक दिशातर्फ जाने अनुमति दिइएको थियो । जसमा विद्यालयदेखि हाटेचौरहुँदै मन्थलीघाट, थापाचोक, सोलमारीदेखि सुकाजोर पाखासम्म भने अर्को टोलीलाई विद्यालयबाट बसपार्क हुँदै जिल्ला प्रहरी कार्यालबाट रणजोर खोला हुँदै सानीमदौ निस्केर मच्छेडाँडी हुँदै सुकाजोर जंगलसम्म भने यस्तै अर्को समूहलाई देवकोटाचोक हुँदै मुख्य सडकबाट सडकै सडक गन्तव्य सम्म पुग्नको लागि स्काउट चिन्हहरुले निर्देश गरिरहेका थिए । अज्ञात गन्तव्यको खोजिमा बाटोमा भएका विभिन्न निर्देशन तथा सप्र्राइज गेमहरु खेल्दै र गिफ्टहरु लिँदै बिहान करिब ८ बजेको समयमा विद्यार्थीहरु पुगे गन्तव्य सुकाजोर जंगलमा ।

हाइकिङ्मा विद्यार्थीहरुले जे गरे

आफ्नो गन्तव्य पहिल्याउँदै पुगिसकेपछि विद्यार्थीहरुले गत वर्ष जस्तै नियमित स्काउट परेड प्रदर्शन गरे । करिब ९ बजेपछि उनीहरुले विभिन्न रुटहरु पहिल्याउँदै सुकाजोर बगर भन्दा माथिको जंगलमा पैदल यात्रा समेत गरे । त्यसले उनीहरुलाई जंगल र यससँगको सहयात्रा अनि चिनारीका लागि जानकारी मिलेको कक्षा १० मा अध्ययनरत सहभागी विद्यार्थी सलिना अधिकारीले बताएकी छिन् । १ घण्टाको जंगल यात्रा पछि करिब १० बजे बिहानी खानाका लागि विद्यार्थीहरु खटिएका थिए । आफूलाई चाहिने सम्पूर्ण खाद्य सामग्रीहरु विद्यार्थीहरुले आफ्नो घरघरबाटै ल्याएका थिए भने घरमा उपलब्ध हुन नसक्ने खाद्य सामग्री भने उनीहरुले बजारबाट खरिद् गरेका रहेछन् । प्रति एक प्याट्रोलमा १० जना सदस्य रहेकोको प्रत्येक प्याट्रोलले अधिकतम प्रति सहभागी १ सय रुपैयाँ संकलन गर्दै विद्यालयले प्रति प्याट्रोल १ हजार ५ सय रुपैयाँले उनीहरुले आफ्नो समूहका लागि आवश्यक पर्ने सामग्रीको जोरजाम गरेका थिए । एक प्याट्रोलले अर्को प्याट्रोलसँग कुनै पनि सरसामग्रीको साटासाट गरेनन् । आफ्नो लागि सबै व्यवस्था आफैंले गरे । खाना बनाउने स्थलमा आगो बाल्न चुल्ढुङ्गा बनाउनेदेखि आफ्नो प्याट्रोलको लागि दाउरा, पानी, आगो लगायतका अत्यावश्यकीय सामग्रीहरुको संकलन आफैंले गरेका थिए ।

हाइकिङ्का बारेमा स्कूल प्रिन्सिपलको भनाई

‘हामीले हरेक वर्षजस्तै यो वष् िपनि हाम्रो विद्यालयमा भएको सिनियर स्काउट ट्रुपको हाइकिङ् गरायौं । यसमा विद्यार्थीहरुको आत्मनिर्भरताको गतिलो पाठ सिकाइन्छ, त्यो पनि व्यवहारिक रुपमा नै । सर्सर्ती हेर्दा यो हाइकिङ् सेनाहरुले गर्ने फरेष्ट ट्रेनिङ्को गतिविधिसँग मिल्दोजुल्दो हुन्छ । सेनाहरुको जस्तै यहाँ पनि विद्यार्थीहरुलाई सीमित स्रोत साधनमा आफूलाई ‘सर्भाइभ’ गराउने अभ्यास गराइन्छ । सोही आषय बमोजिम विद्यार्थीहरु आफूलाई सीमित स्रोत साधनमा अभ्यस्त गराउँछन् । आफ्नो लागि खाना पकाउन दाउराको व्यवस्था आफैं गर्ने, भाँडाको सरसफाई आफैं गर्ने, खाना बनाउने, तरकारी काट्ने लगायतका कार्यहरु विद्यार्थीहरु आफैंले गर्दा भोलिका दिनमा परिआउँदा कम्तिमा आफू खानेकुराको जोरजाम गर्न नजानेर भोकै रहनु पर्ने स्थितिबाट गुज्रिनु नपर्ने ठानेर उनीहरुलाई स्काउटले हरेक वर्ष हाइकिङ्मा सहभागी गराउने गरेको छ । हाम्रो विद्यालयमा भएको सिनियर ट्रुपले आफ्नो लागि आफैं खानाको जोरजाम गर्ने गरेको छ भने जुनियर ट्रुपले भने आफ्नो लागि घरघरबाटै होम मेड फुड लिएर आउँछ र समय मिलाएर हाइकिङ् गरिसकेपछि विविध क्रियाकलापको साथमा खानपिन पनि गर्ने गर्दछ ।’


रिपोर्टिङ्को लागि हामी दिउँसो करिब २ बजेतिर हाइकिङ् स्थलमा पुग्दा विद्यार्थीहरु बेलुकाको खानका लागि जुटिरहेका थिए । सहभागी २ प्याट्रोल छात्राहरुको थियो । जसमा छात्राहरुको एक प्याट्रोलले आफ्नो प्याट्रोलका लागि पुलाउ, मासु, तरकारी बनाएको थियो भने अर्को प्याट्रोलले सेलरोटी र अचार । छात्रहरुको ३ प्याट्रोलले एक समूहले मासुभात मात्रै बनाएको रहेछ । जो बिहानको खाना छिटो खाएकोले भोकाएर दिउँसोका खाना छिटै पकाएर खपाखप् खाइरहेको रहेछ । यो दृष्य देख्दा निकै रमाइलो लाग्ने खालको थियो । अन्य प्याट्रोलहरु पकाइ तुल्याई गर्ने काममा लागिरहँदा एउटा प्याट्रोल भने खाना खान व्यस्त हुनुले हामीलाई जिज्ञासा लाग्यो र स्काउट तथा विद्यालयका खेल शिक्षक जे.डी मगरलाई सोध्यौं, ‘अरु प्याट्रोलहरु पकाई तुल्याइमा नै व्यस्त छन्, तर एउटा प्याट्रोलका सबै खानमा नै व्यस्त छन् नि किन ? सबैले एकैपटक बाँढेर खाए हुँदैनथ्यो ?’ यस जिज्ञासामा शिक्षक मगर भन्छन्, ‘यही हो हाइकिङ्को अर्को यथार्थ । यहाँ आफ्नो प्याट्रोलको भन्दा अरुको केही मतलब गरिँदैन । प्याट्रोल लिडरले जे निर्णय गर्छ अन्य सहभागीले सोही कुरालाई ‘फलोअप’ गर्ने हुन् । उनीहरु बिहानको लाइट तथा छिटो खानाको कारणले भोकाए । झटपट् पकाए, कपाकप खाए । यसमा कुनै अन्यथा लिनु हुँदैन ।’


सो हाइकिङ्मा सहभागी प्याट्रोलहरुले बनाएका परिकार तथा उनीहरुको व्यवहारको समेत अध्ययन गरी मार्किङ् गरिने विद्यालयका नेपाली शिक्षक राजेन्द्र निरौला बताउँछन् । उनी भन्छन्, ‘हाइकिङ्मा सहभागी प्याट्रोलले के खाए, कसरी खाए, कस्तो व्यवस्थापनले खाए र कसरी पकाए सबै विषयहरुको सुक्ष्म अध्ययन गरिन्छ । आजको यो हाइकिङ्मा पनि प्याट्रोलहरुले गरको खानपानहरुलाई तथा उनीहरुको समग्र गतिविधिहरुलाई हामीले हेरिरहेका छौं । जुन प्याट्रोलले असाध्यै ‘टिपिकल’ परिकार बनाउँछ, त्यो प्याट्रोल मार्किङ्मा अगाडि आउँछ । जसको पुरस्कार रुपमा हामी स्काउटको झण्डा प्रदान गरेर गर्छौ, पुरस्कारको रुपमा झण्डा पाउनु भनेको स्काउटमा ठूलो पुरस्कार हो ।’


प्रत्येक ५ प्याट्रोलहरुको नेतृत्व कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए । जसमा पविना सुवेदीले डोभ प्याट्रोल, सुरेश मगरले टाइगर प्याट्रोल, सुदीप भुजेलले पाइथन प्याट्रोल, धनबहादुर थापामगरले लायन प्याट्रोल र सुमिना तामाङ्ले पिजन प्याट्रोलको नेतृत्व गरेका थिए ।


सबै प्याट्रोलहरुमा सहभागी लिडरहरुको एउटै बुझाई विद्यार्थीहरुलाई हाइकिङ्ले स्वालम्बी सीपको विकास गराउने भन्ने नै रहेको छ । जसमा लायन प्याट्रोलका लिडर धनबहादुर थापा हाइकिङले आफूहरुमा ‘सेल्फ डिपेन्डेन्सी’ बढाएको धारणा व्यक्त गर्छन् । भन्छन्, ‘हामी दूध पाइने स्थान डेरी मात्रै हो भन्छौं । गाई र भैंसीले दूध दिन्छ भन्ने कुरा नै थाह पाउँदैनौं । झन अहिलेका बालबालिकाहरु शहरमुखी भएका छन् । उनीहरुलाई आफूले दैनिक प्रयोग गर्ने सामग्रीहरु कहाँबाट आउँछ भन्ने पनि थाहा पाउँदैनन् । खाना कसरी पकाउने भन्ने त झन थाहा नै हुँदैन । हाइकिङ्ले आफ्नो लागि आफैंले गर्नुपर्छ भन्ने भावना जगाउन सक्छ । निजी विद्यालयहरु जस्तै अन्य सरकारी समुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत हाइकिङ गराउने हो भने उनीहरुमा पनि नयाँ सीप र क्षमताको विकास पक्कै हुनेछ ।’


मन्थलीमा रहेका ५ वटा माध्यमिक विद्यालयहरु जस्तै केब्स् स्कूलमा गठित स्काउटका विद्यार्थीहरुको भूमिका समेत अब्बल रहेको देखिन्छ ।