मन मिल्दा प्यार, मन मिल्न छाडे त्यही प्यार हुने बलात्कार ?

              माया आफैमा शक्तिशाली शब्द हो। जो कोहिलाइ पनि चाहिने । जो कसैको जिन्दगीमा पनि दखल राख्ने । भगवानको पाला देखि नै माया चलि रहन्थ्यो र त्यो अहिलेसम्म नै छ।

 जब उनी सँग भेट भयो, अनि मैले मेरो घरजिन्दगिमा बिछ्याइएको पहिलाको सम्बन्ध सबै बिर्सिन थाले। दिनभर कक्षामा सँगै। रातको डिउटी पनि सँगै। सुरुसुरुमा मुस्कुराउने मात्र सम्बन्ध भयो। तर उनि एउटा असल केटि म असल केटा ।  मन मिल्यो सम्बन्ध नजिकिन थाल्यो। जागिर सहितको पढाइ ज्यादै गाह्रो त थियो नै। तर सम्बन्धले नजिक्याए पछि सहज हुनेनै रहेछ। सायद छोटो दिनमा नजिकिएको सम्बन्ध हाम्रो नै होला।

           उनको रिसको ओखति बनेर फकाउन त जान्दैनथे तर मुस्कुराउन कहिलै छाडिन। यहि बानिले उनि म सँग ज्यादै नजिक भएकी थिइन्। हामी साथी मात्र नभएर प्रेमी प्रेमिका भै सकेका थियौ। पढाइ हाम्रो (प्राबिधिक ) स्वास्थ्य अस्पतालको डिउटी, त्यहाँ माथी थप प्राक्टिकल। पढाइ सुरु भए देखि कहिल्यै निन्द्रा पुगेन। सुत्ने समय प्रत्येक दिन कक्षामा सरले थाहा नपाउने गरि  १ घन्टा हुन्थ्यो।

            हुनत राती ४ घन्टा सुत्न त पाइन्थ्यो पालै पालो तर हाम्रो माया प्रेमका कुरा नै सकिँदैन थियो । के सुत्न मन हुन्छ र? प्रेममा चुर्लुम्म डुबेका जोडिलाई कुरा गर्न थाले पछि निद्रा कहाँ आउदो रहेछ र ?  हामीलाई मात्र होइन जो कोहिलाइ नि सुरु सुरुमा सगै बस्न मन लाग्ने हुन्छ नै जस्तो लाग्छ। हुन्छ पनि। हाम्रो पनि त्यस्तै थियो। प्रत्येक वार्डमा १ सिस्टर २ प्राबिधिक डिउटिमा हुनुपर्ने। सिस्टरको सहयोगमा बिरामिको फाइल देखि भाइटल साइन समेत लिनुपर्ने हुन्थ्यो । अझ अघिल्लो ब्याचका दाइहरु नभएको बेला औषधि र बिरामिको खानाको ब्यवस्थापनमा समेत नजर लगाउदा १० बज्थ्यो।

सिस्टरले २ जनामा पालैपालो आराम गर्नु भन्नुहुन्थ्यो र आफू आराम गर्न जानू हुन्थ्यो। तर हामी दुबै जना कहिले दिनभर पढेको कक्षाको कुरा त कहिले हाम्रो सम्बन्धका कुरा गरेर बस्थौं।  एउटा अक्सिजनको भरमा बाचेको बिरामीको फायल पल्टाएर हेर्दै भन्थिन। म यस्तो बिरामी हुँदा कहिल्यै साथ नछाड है। म हस् को इसारा गर्थे। सामान्य कुरा बाट झगडा समेत हुन्थ्यो। त्यसरी महिनौ रात सकियो।

काठमांडौ र काठमांडौ आसपासका धेरै सुन्दर ठाउँ घुमियो। उनि सँग हात समातेर घुम्दा म बिश्वको सबभन्दा खुशी मानिस हुँ जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध कैयौ प्रेम इतिहास बोकेका कथा भन्दा कम भएन। बनभोज र पानी छान्ने तरिका हेर्न सुन्दरीजल पुग्दा सबै माथी ड्याङ सम्म पुग्यौ तर उनि र म बाटो मुनि। गफिदा गफिदै उसको काखमा म र उ भित्तामा अडेस लागेर दुबै जना निदाए छौ। सबै  जना फर्केर खाना खाने बेला खोज्दा न भेटेपछि धेरै पटक फोन आएछ , थाहा पाएनौं हामिले थाहा पनि के पाउनु धेरै रातको निन्द्रा। बिउझिदा त दुबैको फोनमा सय कल भन्दा माथी फोन । तर्सिएर हामी डराउदै बहाना बनाउदै गयौं। दुबैको मोबाइल त्यही ढुङ्गा मुनि लुकाएर मोबाइल हरायो अनि खोज्दा समय लाग्यो भनेर बहाना बनायौ। तर राता आँखा आखिर झुट कुरा क्षणभर टिकेन। धेरै पटक कान समातेर उठबस गर्नु पर्यो।

हाम्रो सम्बन्ध झन सबैलाई थाहा भयो। हुनत हामी धेरै रात काठमाडौ धेरै होटलमा सगै बसेका थियौं डराउनु पर्ने खास कारण त थिएन। तर उसलाई हाम्रै शिक्षकले मन पराउदो रहेछ। जसको कारण धेरै सजायको भागेदार हुनुपर्यो। त्यसपछि हाम्रो एउटा मुनामदनको जस्तो सम्बन्ध लाई बर्षायामको बाढी आए जस्तै  भेल आउन थाल्यो।

उनि म सँग एक्कासी रिसाउने, कल न लाग्ने हुन थाल्यो। म मेरो कुनै कमजोरी भयो कि खोज्न थाले। सोच्दा सोच्दै मानसिक रोगी हुन थाले। तर म मैले मन पराएको मान्छे खुशी हुनुपर्छ भनेर उसलाई केही भनिन। यति सम्म कि त्यस दिन देखिको आज सम्मको मेरो सिरानी नसुकी बस्ने थियो त निचोर्न मिल्ने आँसु बगे होलान र अहिले पनि बग्छन। जसको कारण मैले मानसिक रोगको औषधि नै खानु पर्यो। तर उनि अलिकति पनि दुखी छैनन् झन खुशी देख्छु। एका एक बोलचाल बन्द छ। केही दिनपछि फाइनल परिक्षा छ। वार्डमा प्राक्टिकल नम्बर लिनु छ तर मलाई निन्द्रै लाग्दैन काम गर्न मन लागेन। ज्वरो आयो आफै बेर्ड भर्ना भए। केही साथीहरू आए सम्झाए तर यो मन कहिल्यै सम्झेन। केही मन हलुङ्गो हुँदै थियो। अब डिउटी गर्नुपर्छ भनेर डिउटी तिर लागे।

फाइनल परिक्षा नि राम्रो नै भयो। अब प्राक्टिकल थियो। पढाइ र डिउटी राम्रै थियो। म कसैको मन दुखाउदैनथे। बिरामी सँग नजिक हुन्थे। सबैलाई खुशी पार्नुपर्छ जस्तो लाग्थ्यो । जस्तो अहिले थिए त्यो भन्दा नि साथीहरू सग नजिकिन्थे। भोलि प्राक्टिकल को परीक्षा थियो। आज बिहानै वार्डमा डिउटी गए। बिरामीको फाइल मिलाएपछी एउटा बुढी आमा वार्डको बिरामी भएको ठाउँमा गएर केही खुशी हुने कुरा गरेँ । चाडै निको हुनुहुन्छ अनि घर जानू भनेपछि त्यि बुढी आमाले खुशी हुँदै बाबुको जीवनकालमा कहिल्यै दुख नपरोस् भनेर खुशी ब्यक्त गर्नु भयो।

म खानाखान के भान्सामा पुगेको मात्र थिए अफिस बाट फोन आयो तपाईं अफिस आउनुस भनेर। म खाना खाएर अफिस जादा पुलिस पनि देखे । मलाई देख्न साथ पुलिसले मलाई पक्राउ पुर्जी थम्यायो। पक्राउ पुर्जिमा जबर्जस्ती करणी मुद्दा थियो मेरो नाममा। म आत्तिए । सके जति आँसु झारे तर मेरो आँसु पुछ्ने कोहि थिएनन्।

पुलिसले जबर्जस्ती गर्ने उहीँ हो भन्दा बोल्नै नसक्ने अर्थात  मैले आजै जबर्जस्ति गरेको जस्तो उसले प्रतिकार गर्न खोज्दा थकित भएको जस्तो गरेर मुन्टो हल्लाई। मलाई प्रहरिले भ्यानमा हाल्दै आतिनु पर्दैन अनुसन्धानको लागि मात्र हो भन्यो। तर मलाई त्यतिबेला पृथ्वी भसियो जस्तो लाग्यो। मेरो जागिर घर, छरछिमेक, साथिभाइ र आफन्त के भन्लान्। मेरो अन्तिम बिकल्प भनेकै आत्माहत्या सोचे। प्रहरि कार्यालयमा पुर्याएर अनुसन्धान सुरु भयो। तपाईंले ७ महिना अगाडी जबर्जस्ति गरेको हो भनेर सोधियो। म मौन बसे, हो भनौ कि होइन। हो भनौ भने जबर्जस्ती होइन । होइन भनौ भने म सँगै बसेको छु। थर्काउदै भने सुन्नुभएन। म झस्किए। र भने हो निन्द्रा पुगेको थिएन, उसले कोठा बुकिङ गरेकी हो मलाई बोलाएको नि हो। १ बर्ष मा ३९ रात सगै बसियो सबैको पैसा उसैले तिरेको छ। चाबी उहीँ लिन्छ सबै जानकारी गराए। उता निर्मला बलात्कार पछि हत्या हुँदा मौन बस्ने प्रशासन हाम्रो सम्बन्धको अनुसन्धान गर्न थाल्यो। मैले थुनुवामा रहदा अनुसन्धान गर्न सहयोग गरिरहे।

म थुनुवामा रहदा मलाई त कुनै समस्या भएन तर मेरो घर झन्डै लथालिङ्ग भएको रहेछ। त्यसबेला देखि ममि बिरामी हुनु भयो । प्रहरिको अनुसन्धानले म निर्दोष छु कसैको त्रासमा मुद्दा हालेको कुरा थाहा पाए पछि हामीलाई नै पढाउने शिक्षक जेल जानू पर्यो। आखिर उसले नि जागिर छाड्नु पर्यो। म पनि बाध्य भए।

आज उनि त बहादुरी देखाउछे होलि तर म समाजको अगाडि त बलत्कारी भए। बुझाउन सक्नेलाइ त बुझाउछु। तर पढेर पनि नबुझ्ने एकथरी समाजका भाइरसहरु खुलेर सामाजिक संजालमा नै टिप्पणी गर्छ्न। आज म निर्दोष हुदा टिप्पणी हुन्छ तर पछि उ आफै कुनै कुराको दोषी हुँदा म उसलाई सद्भाव गर्ने छु। त्यसैले सबै उहि न हो। मन मिलेको सम्बन्ध बलात्कार मा नजोडौं। मन मिल्दा प्यार, मन मिल्न छाडे त्यही प्यार हुने बलत्कार ? वाह समय !