कुन चाँहि प्रकारको चुम्वक हुन्छ महिलामा?पुरुष समाज किन यति उत्तेजित?


सम्झना श्रेष्ठ ।
नेपाली समाजमा नारीलाई घरकी देवि, लक्ष्मि, सरस्वती, दुर्गा आदी–आदी भन्ने गरिन्छ । नारीलाई भगवान् ठानी पूजा गरिन्छ, खुट्टा धोएर पानी खाइन्छ । तर, यहि समाजमा एउटी नारी योनी भएकै कारण असुरक्षित हुनुपरेको छ । पाँच महिनाको बालिका देखि लिएर ७६ वर्षिय वृद्ध आमाहरु सुरक्षित छैनन् । काँहा कोबाट, कतिबेला बलात्कृत हुन पर्ने हो कसैलाई पत्तो हुँदैन । पुरुष समाज किन यति उत्तेजित भएको होला ? महिलासँग भएको दुई थान स्तन र एक थान योनी कै कारण हो त ? अथवा कुन चाँहि प्रकारको चुम्वक हुन्छ महिलामा, जसलाई बलात्कार गर्नुपर्छ । योनी भएको मान्छे देखेपछि मानवता हराएर जानुपर्ने होर ?
गत ०७५ साउनमा कञ्चनपुरकी निर्मला पन्तदेखि ०७७ माघ सम्ममा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा ३ हजार ३ सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जनाको त हत्या नै भएको छ  । यो अढाई वर्ष अवधिमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । यो बीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ  । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा दुई तथा ०७५÷७६ मा ११ जनाको हत्या भएको तथ्याङ्कले देखाएको छ । यी तथ्यांकहरुले नेपाली संस्कारलाई अझ समाजलाई नमज्जाले जिस्काइरहेछ । यसरी सार्वजनिक भएका तथ्यांकहरु जिवित घटना हुन् । मृत घटनाहरुको तथ्यांक न प्रहरी सँग छ, न कुनै संघसस्थासँग छ ।
बलात्कारको विषयमा नेतृत्व तह नै खिसिट्युरी गर्छ
पछिल्लो राजनितिक व्यवस्थामा यस्तो कुरा गर्दा यो गुट र उ गुट भन्ने धारणा बनाइन्छ तर, सत्य तितो नै हुन्छ । गत अशोजमा गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताए । उनले विश्वका २०० भन्दा बढी देशको तथ्यांक विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको सम्म भन्न भ्याएका थिए । त्यसपछि उनको निकै आलोचना भए, विस्तारै सेलाए । यसरी सार्वजनिक रुपमा देशकै गृहमन्त्रीको पदमा रहेका व्यक्तिले भन्दै हिड्न कत्तिको सुहाउँछ ? यसलाई गृहमन्त्रीको असक्षता भन्ने कि गतिछाडा भन्ने ? यस विषयमा उनको जति आलोचना गरे पनि पुग्दैन । एउटा जिम्मेवार पदको व्यक्तिले यस्तो लाचार, अव्यवहारिक र आपत्तीजनक अभिव्यक्ति दिन मिल्छ ?
यसैगरि प्रदेश २ की सांसद करिमा वेगम एकताका बलात्कारबारे दिएको विवादास्पद अभिव्यक्तिले चर्चामा आइन् । युवतीले छोटो कपडा लगाएका कारण बलात्कारका घटना बढेको उनको दावी थियो । यसरी कानुन निर्माणको तहमा बसेका व्यक्तिले यस्ता खालका अभिव्यक्ति दिन कतिको सुहाउने कुरा हो ? मर्यादालाई ख्याल नराखी बोल्ने यि र यस्ता पात्रलाई कसरी मान्ने नेतृत्व ? यस्ता खराव आचरण र विचार बोकेर हिड्ने पात्रहरु रहिञ्जेल बढीरहन्छ भन्न कुनै आपत्तीको कुरा हुँदैन । बलाकार जस्तो जघन्य अपराधका विषयमा नेतृत्व तहबाट जवसम्म यस्ता अभिव्यक्ति आइरहन्छ, तवसम्म बलात्कार िमानसिकतालाई प्रोत्साहन मिलिरन्छ ।
र आफुलाई सामाजिक अभियन्ता भन्न खुवै रुचाउने केहि पात्रहरु बलात्कार भनेको सप्राइजिङ् सेक्स हो भन्दै युटुवमा अन्तरर्वाता दिन सम्म नि पछि पर्दैनन् । कसैमाथि जवर्जस्ती गरिन्छ, कोहि अर्काे व्यक्तिलाई पिडित बनाएर क्षणीक खुसी लिइने कामलाई कसरी भन्न मिल्छ, सप्राइजिङ् सेक्स ? समाजमा विकृति फैलनमा यस्ता पात्रको ठुलो भुमिका छ । हो, यि र यस्तै पात्रहरुको कारण भएको हो बलात्कारका घटना । देशमा लोकतन्त्र छ भन्दैमा जे पनि बोल्न पाइन्छ ? तर, पाइन्छ कानुनका आँखामा पट्टी बाँधेर जवसम्म राखिन्छ तवसम्म, यो सब पाइँदोरैछ । जवसम्म नेतृत्व तहको सोचमा बदलाव आउँदैन, तवसम्म हिंसाका घटना दोहोररिहन्छ ।

धेरथोर जस समाजले पनि लिनुपर्छ
छोरीहरु बेलुका सबेरै घर आइदियोस्, रातीका कार्यक्रमहरुमा अँह, ननिस्कियोस्, एक्लै नहिँडिदियोस् जस्ता अपेक्षा र बन्धन यो समाजले राख्दछ । छोरी मान्छे भएर सबेरै घर आउन सक्दैनस् । छोरी मान्छे साँझमा धेरै डुल्नु हुँदैन, राती भरसक घर बाहिर निस्कनै हुँदैन, लुगा लगाउँदा ध्यान दिनु, छोटो नलाउनु, शरिरमा टिमिक्क परेको पनि नलाउनु, बोल्दा विचार पुर्याएर बोल्नु जस्ता अंकुशहरु लगाइन्छ ।
तर तेहि घरमा छोरालाई यो सिकाँदैन । तिमि पनि साँझ सबेरै घर फर्किनुपर्छ, हिँड्दा, बोल्दा, लुगा लगाउँदा, ध्यान दिनु पर्छ । छोरीलाई छिट्टै घर फर्कनु, तिमि असुरक्षित छौ भनेर अर्ति दिइरदाँ छोरालाई चाँह तिमि बाहिर निस्फिक्रि डुल्न सक्छौ तिमि स्वतन्त्र छौ, तिमिलाई जे गर्न पनि छुट छ, भनेजस्तो महसुस किन गराइन्छ ? तेहि घरको छोरी साँझमा बाहिर डुल्दा असुरक्षा ठान्ने समाज तेहि घरको छोरालाई चाँहि किन छुट दिन्छ ? तिमि छोरा हौ जे गर्न पनि छुट पाउँछौ भन्ने महसुस किन गराइन्छ ? यसबाट त्यो छोरा मान्छेलाई म छोरा हुँ त्यसैले जे पनि गर्न सक्छु, भन्ने भावनाको विकास त्यहिबाट हुने हो । यसकारण पनि बलात्कार जन्य घटना बढ्नुमा तपाइँ हामी आफैँ चाँहि कत्तिको दोषी छौँ ? अव आत्मालोचना गर्ने, आफैँले आफैँलाई समिक्षा गर्नु आवश्यक छैन र ।
महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक छ
हामी यस्तो समाजमा बँँचेका र्छौँ नि, बलात्कार गर्ने पुरुष सँधै चोखो हुन्छ तर, बलात्कृत महिला सँधै अपवित्र हुन्छिन् । समाजले फरक आँखाले हेर्ने गर्छ महिला र पुरुषलाई । जसले जवर्जस्ति गर्यो र खुसी लुट्यो, उ कसरी चोखो हुन सक्छ ? जसले अपराध गरेको छ, उसलाई समाजमा बाँच्न कुनै अप्ठ्यारो हुँदैन , खुलेआम बाँच्न सक्छ तर, बलात्कृत एउटी महिला पलपल मरेर बाँच्नुपर्छ, अनेकौँ लाल्छना सँहदै । समाजमा एउटी छोरी उत्ताउली देखिन्छे तर, छोरा उत्ताउलो देखिँदैन । छोराहरु वर्षाै परिवारको सम्पर्कमा नरहे पनि केहि फरक पर्दैन यो समाजलाई तर, छोरी एक दिन सम्पर्कमा छैन भने समाजमा परिवारको इज्जत जान्छ, नाक काटिन्छ । अनि सिङ्गो परिवारलाई समाजबाट बहिस्कृत हुन वाध्य पार्छ । र एउटा परिवार लाचार हुँदै समाज भन्दा आफ्नै सन्तान त्याग्न वाध्य बन्छ । हामीहरु नै मिलेर बनेको समाज, हामीले नै बनाएका निति नियम जो छन्, हामी यसैको भुँरोमा रापिँदै मरिरहेका छौँ । सायद समाजले कतिकति व्यवस्थाहरु बदल्यो होला तर, आफैँलाई अप्ठ्यारो बनाइरहेको निति बदल्न सकेन ।

पहिले सोच बदल्नुपर्छ
कहिलेकाँहि बलात्कारका विषयमा छोटो लुगा लाई पनि तर्क बनाइन्छ । भन्ने गरिन्छ कि, छोटो लुगा लगाएर उत्तेजना फैलाउने अनि बलात्कारका घटना बढ्यो भन्ने ।
यि तर्कहरुलाई हार्दिक श्रद्धाञ्जली मात्रै भन्न सकिन्छ । युवतीले छोटो लुगा लगाएका कारण बलात्कार भयो भन्ने कुतर्क मात्र हुन् । यदि तेसो हुन्थ्यो भने ६ महिनाकी अबोध बालिकाले बलात्कृत भएर मर्नु पर्ने थिएन होला । ७६ नाघेकि वृद्ध आमाको पनि बलात्कार हुन्थेन होला । यहाँ त लुगा छोटो होइन, मानिसको सोच छोटो छ, मानिसको सोच दरिद्र छ । बलात्कारी विचार दुर्गन्धित छ । मानिस परिवर्तनशिल प्राणी हो, उ परिवर्तन चाहन्छ । नभए गुनासो गर्छ तर व्यक्ति स्वयम् आफुलाई चाँहि परिवर्तन गर्न सक्दैन । सबैभन्दा पहिला आफ्नो सोच परिवर्तन गर्न सक्नुपर्छ । आफुले सार्वजनिक गर्ने धारणाहरुमा कैँची लगाउनै पर्छ । अरुका चेलिबेटिको विषयमा अलिकति पनि नहिच्किचाई बोल्ने हिम्मत गर्नेले एकपटक आफैँलाई त्यो स्थानमा राखेर हेर्न सक्नुपर्छ । आँखाले देखेको छोटो लुगा, दिल र दिमागलाई समेत छोटो बनाउनेहरुको विचारलाई विचरा भनेर चुक्चुकाउन वाहेक के नै सक्ने रहेछौँ र !
म मेरी आमाले झैँ घुँडा छोपेर कुर्ता लाउन, धोती साडी लगाउन सक्तिँन, मैले घुँडा देखाएर लुगा लगाएँ भन्दैमा म माथि हिँसा गर्न कसरी पाइन्छ ? मैले घँुडा छोप्ने लुगा नलगाएकै आधारमा मलाई बलात्कार गर्न कसरी पाइन्छ ? मैले घुँडा देखाउँदा होइन, म नाँगै हिँडे पनि म माथि हिँसा (बलात्कार) गर्न पाँइदैन ।
सबैभन्दा पहिले बलात्कारी मानसिकता बदलौँ, बलात्कारलाई सामान्य रुपमा लिन छाडाँै । आफुलाई श्रीजनशिल बनाउने कोसिस गरौँ । सबैभन्दा ठुलो कुरा भनेको मानिसको मानसिकता हो । उसको विचार हो, सोचाई हो अनि बाहिर ल्याउने धारणा र गर्ने व्यवहार हो । उसले कतिबेला के सोच्छ कसैलाई थाहा हुने कुरो होइन । एउटा व्यक्तिमा बलात्कारी मानसिकता कसरी आउँछ भन्ने कुराको खोजी गर्नुपर्छ । र अर्काे कुरा कुनै पनि अपराधमा संलग्न हुने मानसिकता बन्नु अघि कानुनसँग डर लाग्नुपर्छ, समाजसँग डर लाग्नुपर्छ । इज्जत भन्ने कुरा महिलाको शरिरसँग नभई स्वाभिमानसँग जोड्नुपर्छ ।
आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । आजको दिनमा हुने ठुला भनिएका अन्तक्र्रिया, छलफल, कार्यक्रम, भेला, नारा सबैलाई शुभकामना । शुभकामना यस अर्थमा ति कार्यक्रमहरु प्रभावित सम्म पुग्न सकोस्, नकि भेला हुने कार्यक्रमकै नाममा कार्यक्रम गर्ने र फर्किने माध्यम नबनोस् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबै कसैको आमा, दिदि, बहिनी, भाउजु, बुहारी, श्रीमती, प्रेमिका, साथीकी बहिनी लगाएत सबै नारी जातीलाई आँट, हिम्मत, उत्साह, उर्जाका साथै व्यक्तित्व विकास हुन सकोस् हार्दिक शुभकामना । नारी माथि हुने हिंसाको विरुद्धमा नक्कली आवाज उठाउने, नक्कली नारा लगाउने बलात्कारी मानसिकता बद्लियोस् शुभकामना ।