पूर्वरानीको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं १७ बैशाख ।

पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत उहाँलाई यो विधिबाट हिजो साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।

 उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

सोही अस्पतालमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । उहाँलाई पनि अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था सामान्य अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।