नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

आइतवार, श्रावण ३ । काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो।

संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको सांसद डिला सङ्ग्रौलाले जानकारी दिनुभयो ।

विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको कांग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने संग्रौलाको भनाइ छ। नेपाली नेटवर्कले लेखेको छ ।