भान्सा घरमा आँखा जाँच

रामेछाप । जिल्लाको एकमात्र सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि भान्सा घरबाट विरामीको आँखाको उपचार गर्न सुरु गरिएको छ ।
भदौ १३ गतेको वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको स्थानमा भित्तातर्फवाट आएको पहिरोले भवनमा क्षती पुर्याएपछि आँखा जाँचको सेवा बन्द गरिएको थियो । उक्त सेवा हाल भान्साको लागि बनाइएको प्रिफ्याव भवनबाट उपचारा शुरुवात गरिएको तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।उनले भने– ’भएको भवन पहिरोले क्षती पुग्यो । अर्को भवन तत्काल बन्ने अवस्था छैन ।’
तिलगंगावाट आएको टोलीले निरिक्षण गरे पश्चात मात्रै भवन वरपर पुरिएको माटो हटाउने र नयाँ भवन निमार्णको कामलाई अघि वढाइने तामाकोशी अस्पतालका सचिव हिमाल ढुंगेलले जानकारी दिए ।

स्व.जगदिश प्रसाद घिमिरेको पहलमा २०५७ सालमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंको सहयोगमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । तिलगंगा आँखा अस्पतालले केही वर्ष अघि मात्रै ५० लाखको लागतमा प्रिफ्याव भवन निमार्ण गरि त्यहीँ भवनवाट आफ्नो सेवा सुरु गरेको थियो। सामुदायिक आँखा केन्द्रमा अहिले रामेछापको अलावा दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलु लगाएतका जिल्लाहरुवाट विरामीहरु आँखा जाँच गराउन आउने गरेका छन् ।