अभिभावक सचेत बन्ने की ?

एकदिन साथीले भनिन्– हाम्रो नानीले खाना खानै मान्दैन । मोबाइल हेर्न थालेपछि भोकाको पनि थाहा पाउन्न । खाना खुवाउने बेलामा पनि जहिल्यै मोबाइलमा युट्युब या टिकटक खोलिदिएपछि मात्रै खाना खान मान्छ । युट्युब या टिकटक हेरेपछि फेरि म खुवाको खुवायै गर्छु । ऊ चाहिँ आँ गरेको ग¥यै हो । अघाको पनि थाहा पाउन्न ।


अचम्म परेँ म । पाँच वर्ष नपुगेकी बालिकामा कस्तो नमिठो लत लागेछ । त्यो उमेर भनेको त खेल्ने, कुँद्ने अनि चकचक गरिरहने उमेर हो । एकै ठाउँ बसेर युट्युबमा घोत्लिएर बस्ने उमेर नै हैन । तर अहिले समय यस्तो रहेन । हरेक बालबालिका मोबाइल, ट्याबलेटमा झुकेर कि त गेम खेलिरहेका हुन्छन् या त युट्युबमा मन परेको कार्टुन, फिल्म हेरिरहेका हुन्छन् । कि त टिकटक बनाइरहेका हुन्छन् ।


मेरो भदा केटो छ एउटा । जहिल्यै भन्छ –ल्यापटपमा फ्रि फायर खेल्न दिनु । ऊ जहिल्यै मोबाइलमा फ्रि फायर खेलिरहेको हुन्छ । तँलाई मोबाइलमा खेलेर पुगेन अझऐ ल्यापटप चाहियो ? भनेर भन्यो भने– मोबाइलमा भन्दा ल्यापटपमा मज्जा आउँछ भनेर जवाफ दिन्छ । म हैरान हुन्छु धेरै फ्रि फायर नखेल पढाइमा ध्यान दे भनेर । तर ऊ लगायत उसका धेरै साथीहरु वाइफाइ हुनेहरुको घरमा जम्मा भएर साँझ बिहान जतिबेला फ्रि फायर खेलिरहेका हुन्छन् ।


अहिले धेरै जसो विद्यालयले अनलाइन कक्षा सञ्चालन थियो । धेरै जसो विद्यार्थी अनलाइन कक्षामा सहभागी त हुन्थे । तर भिडियो, अडियो अफ गरेर गेम नै खेलिरहेका हुने। शिक्षकहरुको एउटै गुनासो हुन्थ्यो– भिडियो अफ गर्छ भनेर ।


यो त स्कूल जाने उमेरका केटाकेटीका कुरा भयो । स्कूल जाने उमेर नभएका केटाकेटी पनि टेलिभिजन, खेलौनामा भन्दा मोबाइलमै रमाउछन् । अधिकांश अभिभावकले आफ्नो बच्चा रोयो भने फकाउनका लागि मोबाइल हातमा राखिदिन्छन् । कति सजिलो । म धेरै अभिभावकलाई सम्झाउदै भन्ने गर्छु– बच्चालाई मोबाइल खेलाउन नदिनु न भनेर । तर उनीहरु उल्टै ‘नदिएर के गर्ने ? रोएर घर उचाल्न खोज्छ’ भनेर भन्छन् । यसो सोंच्छु –के बच्चाहरुले आमाबालाई नियन्त्रण गरेकै हुन् त ? कि मोबाइलले अभिभावक र केटाकेटीलाई नियन्त्रण गरेका हुन् ?
केटाकेटीलाई मात्र पनि के सम्झाउनु र ? हामी अभिभावक पनि फुर्सद मिल्ने बित्तिकै फेसबुक, ट्वीटर, टिकटक र युट्युबमै झुण्डिइरहेका हुन्छौ ।
अहिलेको समयमा हरेक अभिभावक आफ्नो बच्चाको फ्रि फायर खेल्ने, टिकटकमा झुण्डिरहने बानीदेखि आजित छन् । केही गर्ने, सोंच्ने अनि साथीभाइसँग घुलमिल भएर सिर्जनात्मक कार्य गर्ने उमेरमा युट्युब, टिकटक र फ्रि फायरमा झुण्डिइरहे भने बालबालिकाको भविष्य के होला ?
अहिलेका टिकटक र युट्युब त झन् बालमैत्रीपूर्ण छँदै छैन । तैपनि हरेक अभिभावकले आफ्नो मोबाइलमा आफ्ना छोराछोरीलाई हेर्न दिइरहेका हुन्छन् । यदि आफ्ना बालबालिकालाई युट्युब देखाउनु नै छ भने पनि उनीहरुको छु«ट्टै जिमेल बनाएर हेर्न दिइयो भने कमसे कम युट्युबले सिफारिस गरेका उनीहरुको उमेर सुहाउँदो सामाग्री हेर्न पाउनेछन् । हैन भने अभिभावकले हेर्ने साउथ इण्डियन ढड्याङ ढुडुङ फिल्म, सासुबुहारी झगडा गरेका, श्रीमान श्रीमतीको झगडामा पुलिस र छिमेकी जम्मा भएर कराएका अनि फलानाको श्रीमती फलाना नाठोसँग कोठामा भेटिइन् भन्ने खालका सामाग्री हेरेर हाम्रा बालबालिका हुर्किनेछन् ।


एकपटक सोचौं त, यस्ता सामाग्रीले बालबालिकाको कलिलो मस्तिष्कमा कस्तो असर पर्छ होला ? के हामी, हामीले हेर्ने यस्ता खालका सामाग्री हाम्रा बालबालिकालाई पनि देखाउन चाहन्छौं ? चाहदैंनौं र बच्चालाई सिर्जनशील बाटोमा डो¥याउन चाहन्छौं भने हरेक अभिभावकले अब गम्भीर भएर सोंच्ने बेला भएको छ ।