रामेछाप । काठमाण्डौबाट मन्थली हुँदै ओखलढुङ्गाको खिजिदेम्बा हिँडेको बोलेरो मन्थलीमा दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ भने एक जना घाईते भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
प्रदेश नम्वर ३–०१–०२३ च ३५१३ नम्वरको डबल क्याव बलेरो रामेछापको मन्थली स्थित बोक्सेको भिरमा दुर्घटना भएको हो । जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं–६ खिजीफलाटेका चालक लाक्पा शेर्पा उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङछे शेर्पाको घटनास्थलमा नै मृत्यु भएको छ ।
लाक्पा शेर्पा उनकी श्रीमती फुर्वा शेर्पाका छोरा १० वर्षिय बालक पेम्वा शेर्पा भने गम्भिर घाइते छन् । उनको मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारको लागि काठमान्डौ पठाइएको छ । जिप सडकवाट करिव ६ सय मिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा रहेको छ । के–कती कारणले जीप दुर्घटना भएको सो बिषयमा अनुसन्धान भइरहेको र मृतकको शव घटनास्थलवाट निकाली पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ भने आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।