रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

१८ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको रामेछाप जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । आइतवार सम्पन्न मतदानमा सभापतिका प्रतिस्पर्धी मध्ये कान्छारामले ४९.४१ प्रतिशत मत ल्याएका थिए । उनले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी गरिएको थियो ।

तर मतदान हुनु अगावै सहमति भएसँगै पुनः मतदान नगरी सभापतिमा कान्छाराम निर्वाचित भएका छन् । हिजो भएको चुनावमा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत र कान्छारामले ६६८ मत पाएका थिए । सभापतिका उम्मेदवारद्धय न्यौपाने र कान्छारामबीच सहमति जुटेसँगै कान्छाराम पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएका छन् । हिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।