उहिलेको दसैँ ‘एक्चुअल’: अहिलेको दसैँ ‘भर्चुअल’ !

दसैँ नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो चाड हो । दसैँलाई उत्तर वैदिक कालदेखि नै मनाइन थालेको दृष्टांश रामायणमा आदर्श पुरुष रामचन्द्रले उनकी भार्या सीता रावणबाट हरण भएर युद्धको तयारीमा गरेको देवी पूजनोत्सवले समेत इङ्गित गर्दछ ।सोकुरा पत्ता लगाएर युद्धको तयारी गर्दा आश्विन शुक्ल पक्षको प्रतिपदा (घटस्थापना) देखि नवमीसम्म दुर्गा माताको भक्तिका साथ ९ दिनसम्म पूजार्चना गरी दसौं दिनमा पूजा समापन गरेर देवीको प्रसादस्वरूप टीकाजमरा ग्रहण गरी रावण युद्धमा विजय हासिल गरेको सन्दर्भमा विजयादशमी भनेर मनाउन थालिएको हो । हजारौं वर्षसम्म दसैँलाई सम्पूर्ण हिन्दूहरूको महान् चाड भनेर मनाइए पनि यो सबै हिन्दूहरूको महान् चाड भने होइन । खानपिन मात्र गर्ने तर टीका नगलाउने हिन्दूहरू नेपालभित्रै धेरै भेटिन्छन् ।
हिन्दू धर्ममा धेरै सम्प्रदायहरु छन् । कृष्णलाई मान्ने कृष्ण प्रणामी, विष्णुलाई मान्ने वैष्णव, शिवलाई मान्ने शैव र शक्तिलाई मान्ने शाक्तहरू हुन् । शाक्तलाई मान्ने भएकैले हामी शक्तिपूजारी हौं । यसरी कृष्ण, विष्णु, महेश र देवी सबैलाई मान्नेचाहिँ सनातनी भक्तहरु हुन् ।
जहाँसम्म नेपालीहरूले यो चाड मनाउने सन्दर्भमा अहिले यसको शैली परिवर्तन भएको छ । हिजो कृषिको युग थियो सबै वस्तुहरू खेतीपाती र उब्जनीबाटै प्राप्त हुुुन्थे तर आज नेपालीहरूको जनजीवन र पेसा समेत परिवर्तन भएका छन् ।
हिजो खोजेर, तुल्याएर, उब्जाएर र भेलाजम्मा पारेर मनाइने दसैँको रौनक घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा दिनसम्म रहन्थ्यो । परदेश र घरदेशका आफन्तहरू सप्पै गुरुप्पै घरमा जम्मा हुन्थे ।
रामरमाइलो हुन्थ्यो । अनुभवका आदानप्रदान, खेलबाड, हाँसोठट्टा, भेटघाट र अनेक किसिमका सन्दर्भहरु आदानप्रदान हुन्थे । गरिब गुरुवाहरू समेत दसैँमा राम्रा लुगा र मिठा खाना भनेर साँच्ने गर्दछे ।
हुनेलाई वर्षैभरि दसैँ हुन्थ्यो भने नहुनेलाई वर्षको कम्तिमा १५ दिन भए पनि आनन्दले खाने, पिउने, घुम्ने र मनोरञ्जन गर्ने दिन हुन्थे । जीवन शैलीका तौरतरिका फेरिएपछि दसैँको रौनक बद्लियो ।



हामी सम्मपचास माथिको उमेर भएकाहरुले दसैँको अर्गेनिक शैली र अनुभवहरु देख्यौं । त्यो दसैँ अब हाम्रा दिमागमा मात्र रहेको छ ।
हाम्रा पिताजी र माताजीहरुले अझ घच्ची पाराले दसैँ मनउने चलन देख्नु भयो । भोग्नु भयो । यो मानेमा हामीभन्दा हाम्रा अभिभावकहरु महान् छन् ।
घर, आगँन र बारीका डिलमा रोटे, जाँते र लिङ्गे पिङहरू सामूहिक रुपमा हालिन्थ्यो । खोरमा जखमले बोका खसीहरू हुन्थे । घरीका घरी केरा पकाउन खाडल खनेर पोलिन्थ्यो ।
चिउरा कुटिन्थे । पारि डाँडामा कुटेको ढिकीको आवाजले अब दसैँ उतैबाट आउँदै छ है भनेर थाहा हुन्थ्यो । यो शैली कसैले सेभ गरेर राखेको छैन । चलचित्र र कथाहरुमा यदाकथा देख्न र पढ्न पाइनु बेग्लै कुरा हो ।


गेरु र कमेरो लिन हुरुरुरुरुरु पाखामा गइन्थ्यो । निःशुल्क लिन पाइने गेरु र कमेरो अहिलेको जस्तो किनुवा र मिसावटी हुँदैनथ्यो ।
कस्तो मजा घरमा पाहुना पासालाई अघाउँजी खिलाउन पिलाउन पाउँदा । आफू जहाँ गए पनि उधुमै मानमनितो हुन्थ्यो । मावली जाऊँ कि ससुराली ? घरमा जम्मा होऊँ कि साथीभाइ कहाँ ? हरेक जमघट र पारिवारिक मिलनले आउने एक वर्षसम्मका लागि नयाँ ऊर्जा थपिरहन्थ्यो ।
अब ती सबै हराए । नयाँ पुस्ताले केही थाहा पाउँदैनन् । एक्चुअल दसैँ जो जति पाको र उमेरको भएको छ उसले उति नै भोगेको र देखेको छ । जो जति कम उमेरको छ उसले तेती नै कम भोगेको र देखेको छ । अब त सबै कुरा गुगल र यु ट्यूबका भर पर्ने पुस्ता भैसके । बाख्राको पाठो र बोको भन्न नजान्ने पुस्ताले गुगल गरेर खसीलाई बाख्राको छोरो भन्ने अर्थ पायो भने त्यही भन्छ । आफू भित्रको ज्ञानलाई भन्दा पराश्रित सूचनालाई अब्बल मान्ने जमान आएछन् ।
कठै ! ती दिन गैगए ।
नेपालीहरू रोजगारीका लागि जब विदेश जान थाले अनि वर्ष दिनमा पनि ती घर आई नपुग्ने भए । अतः दसैँमा परिवारका सदस्यहरू जम्मा भएर चाड मनाउने दिन हराउँदै गए ।
विगत् केही समयदेखि नेपालले वार्षिक १४ अर्ब बराबरको चामल आयात गर्छ । यो अवस्था युवाहरू जति सबै वैदेशिक रोजगारीमा गएपछि आएको हो ।
नेपाल अब पञ्चायत कालमा भनिएजस्तै कृषि प्रधान देश रहेन । यो अब श्रम निर्यातप्रधान देश भयो । विदेशीका भरिया, गुलाम, पाले, श्रमिक र थोरै मात्र सीपयुक्त श्रम बेच्ने हैसियतमा नेपालीहरू पुगे ।
फेरि धनी देशमा पिआर र ग्रीन कार्ड लिएर उतैका बासिन्दा हुने चलनसमेत चले । यो अवस्थाले गर्दा जाति र धर्मका आधारमा मनाइँदै आइएका चाडपर्वका रौनक कम भएर निस्तेज हुँदै गए ।


बीचमा जनजातिहरूले दसैँ मनाउने शैलीमा अनुसन्धान गरे । केहीले बखेडा शुरू गरे । अघिपछि दसैँको विरोध गर्ने जनजाति नेता गोरेबहादुर खपाङ्गी राजा ज्ञानेन्द्रका पालामा महिला बालबालिका मन्त्री हुँदा कुद्दै राजदरबार गएर राजाको हातको टीकाजमरा ग्रहण गरे ।
कतिपय जनजाति समुदायले दही मुछेको सेतो अक्षतामात्र लगाउने चलन चलाए । कोही टीकै नलगाउने, कोही सेतो लगाउने र कोही सबै लगाउने यसरी दसैँमा विविधता आयो ।
चाडपर्व मनाउने दिनहरू कटौति भए । १५ दिनबाट स्कुल कलेजहरू ८ दिनमा झरे । अदालत अझै १५ दिनै विदा दिने चलन छ । कोरोनाले मानिसको जीवनशैली तहसनहस बनायो ।
राज्यको पुनर्संरचना भएपछि हाइस्कुल शिक्षा (१–१२) को लगाम स्थानीय तह (गाउँपालिकादेखि महानागरपालिकासम्म) ले कानुनः जिम्मा पाए अनि उनीहरूले कहिले कोरोना निहूँमा, कहिले स्थानीय तह चुनावमा सहयोग नगरेका निहूँमा र कहिले गाउँका सिँहदरबार र आफू चन्द्र शमशेरका भएका निहूँमा मास्टर पेल्ने नीति बनाए । भविष्यमा यसको सूक्ष्म अध्ययन र सन्धान हुँदै जाला !
अहिले देशमा केही पालिकाका स्कुललाई छाडेर सबै पालिका भित्रका स्कुलहरू फूलपातीको अघिल्लो दिनसम्म खुल्ला छन् । कसैले परीक्षा र कसैले कक्षा सञ्चालन गर्दैछन् ।
हिन्दी उखान छ ‘बन्दुक मिलगया तो हबल्दार बनगया’। यो भयो शासनको बेढङ्गी ढर्रा । के कोरोनाका कारण लकडाउन निजामति, जङ्गी र न्यायालयका कर्मचारीलाई भएको थिएन ? के उद्योगधन्दा, पर्यटन, यातायात, मनोरञ्जन र सेवा उद्योगहरू बन्द भएका थिएनन् ?
राज्यले सबैलाई छुट दिएका सन्दर्भमा हाइस्कुलका विद्यार्थी र मास्टर लक्षित जुन पेलानको नीति पालिका स्तरबाट लिइएको छ त्यो सर्वथा आलोच्य छ ।


गाउँपालिका र नगरपालिका जहाँ अहिलेसम्म शिक्षाको पोलिसी बनाउने, अनुगमन गर्ने र पाठ्यक्रम मूल्याङ्कन गर्ने कुनै जनशक्ति सरकारले परिचालन गरेको छैन ।
जनप्रतिनिधिले सबैथोक जानेका हुँदैनन् । जाने पनि व्यक्तिका सीमा हुन्छन् । ती सीमा भित्रका व्यक्तिहरूले शिक्षा जस्तो देशको मेरुदण्ड नै चलाउने अधिकार पाएपछि अबको १०÷१५ वर्षमा देखिनेछ बास्तविक नतिजा ।
नेपाल शिक्षक महासंघले त हाइस्कुललाई फेरि संघकै मातहतमा राखिनु पर्छ भनेर धर्ना कार्यक्रम राखिसक्यो । यसरी सधैँ भुकुण्डिने भए शिक्षक, अभिभावक र विद्यार्थीहरू ।
तमासे राज्यमा यस्ता घटना धेरै देखिन्छन् । फूलपातीका अघिल्लो दिनसम्म काम गरेर घर जानु पर्ने शिक्षकले कसरी दसैँ तयारी गर्ने होलान् ।
बैँक तथा वित्तीय संस्थाहरू समेत फूलपातीदेखि एकादशीसम्म बन्द भैदिन्छन् । यस्तो बेलाँ कसरी बालबच्चा र परिवारलाई हँसाउन सकिन्छ । भन्न खोजिएको कुरा ‘सिष्टम बसाऊ भनेको हो । धेर विदा देऊ, पढाउनु नपरोस्’ भनेको पक्कै होइन ।
दसैँको अन्तर्यमा जौका जमरा, अक्षताका टीका र दहीको मिश्रण र अग्रज पुस्ताबाट आशीर्वाद लिने जुन परम्परा छ त्यसका धेरै दार्शनिक कारण छन् । जौ पृथ्वीमा मानिसले सबैभन्दा पहिले लगाएको बाली हो ।
यो शीरमा लगाउँदा यसले गर्ने शीतलता, अन्नको राजा धान र धानको सम्मान र गोरस भनिने दहीलाई जीवनको लाइफ लाइन भनिएको हो ।
पुर्खाले गरेका पारम्परिक चाडपर्व, मेलाजात्रा, संस्कार, चलन र पूजाआजाका हरेकका माने मतलब छन् ।
अहिलेका पढे लेखेका हौं भन्ने आधुनिक व्यक्तिहरूले विज्ञानका आधारमा यी धर्म र परम्पराका सबै मान्यतामा क्रमशः प्रहार गरिरहेछन् । यो सोरै आना गलत छ ।
दसैँको अर्थ राजनीति कस्तो चर्को छ भने मुुद्रा, बेपार, उद्योगधन्दा, पर्यटन, होटल, यातायात र सेवा क्षेत्रमा वार्षिक कारोबारको ८० प्रतिशत कारोबार दसैँकै बेला हुनेगर्छ ।


यसरी दसैँलाई पर्खने चलन भित्रको यो सत्य पक्षलाई जो कोहीले हम्मेसी पक्रेर विश्लेषण गर्न सक्दैन ।
दसैँको पहिलो दिन घटस्थापनाका दिन शैलपुत्री देवी भगवतीको आराधना गरी घरघरमा घटस्थापनाका घरी वैदिक पूजाआजाका साथ जमरा राख्ने काम हुन्छ ।
यसपछि दिनहूँ फरकफरक देवीको विधिवत् पूजा गर्र्दै सातौं दिनमा फूलपाती भित्र्याउने र दसौं दिनमा देवी विसर्जन गरी मान्यजनबाट टीका लगाउने परम्परा छ ।
असत्यमाथि सत्यको, दानवी शक्तिमाथि दैवी शक्तिको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र पापाचारमाथि सदाचारको विजय पर्वका रूपमा विश्वभरि छरिएर रहेका समस्त हिन्दूहरूमा विजया दशमी –२०७८ को असिम शुभकामना भन्न त मन छ तर के गर्नु यतिखेर रामराज्य पृथ्वीमा सारै थोरै भूगोलमा छ ।
यत्र, तत्र र सर्वत्र ‘रावणहरुकै राज्य’ देदिप्यमान छ । यस्तो अवस्थामा रावणहरुको विरुद्धमा रामको पक्षमा कसरी पो शुभकामना दिन सकिन्छ ? तैपनि बडा दसैँको सबै सबैमा असिम र अनन्त शुभकामना ।।