बचपन र दशैं

बचपन जिन्दगीको उत्तम समय हो । यो उमेरमा न कुनै पीर, न कुनै बोझ । आनन्दै आनन्द । मोजाको भकुण्डो, काठ अनि झिंजाका टुक्राटुक्रीदेखि लिएर साना भन्दा साना चीजले सन्तुष्ट हुने उमेर पनि यै हो । चाडपर्वमा मामाघर जानु, दशैंमा पिङ खेल्नु, गाउँभरि डुलेर टीका र जमरा लगाउनु अनि थोरै दक्षिणामा पनि रमाउनु । यस्ता दिन र पलहरु जिन्दगीमा बारम्बार दोहोरिेएर आउँदैन ।
दशैंमा सबैभन्दा महत्वपूर्ण भनेको टीकाजमरा र पिङ नै हो । विशेष सहरको दशैं भन्दा गाउँको दशैं बेग्लै रमाइलो हुन्छ । दशैं आएपछि छिमेकी मिलेर रातो कालो अनि सेतो माटो लिन गइन्छ । अनि भिजाएर चोटाकोठा लिपिन्छ । साँघुरा अनि बर्खाले बिगारेका बाटो बनाइन्छ । परदेश अनि राजधानी र सदरमुकाम पढ्न अनि जागिरका लागि गएकाहरु घर फर्किन्छन् । यति भएपछि गाउँ पनि उज्यालो देखिन्छ । खालि घर लिपेर या बाटो सफा भएर मात्रै दशैंमा गाउँ उज्यालो देखिने होइन । गाउँ उज्यालो त घरबाट पर रहेकाहरु घर फर्किएकाले पनि देखिएको हो ।
उबेला बचपन छँदा बाले फ्रक ल्याइदिनुहुन्थ्यो झमझम मुजा परेका । त्यो फ्रक लगाएर गाउँभरि टीका लगाउने डुलिन्थ्यो । दक्षिणा स्वरुप दिएका ढ्याक पैसा खल्तीमा राखेपछि बज्दाको रमाइलो नै बेग्लै हुन्थ्यो । टीका सकिएपछि दाजूदिदीहरुले बनाएको रोटेपिङ र लिङ्ग खेलिन्थ्योे । आहा! त्यो बचपन फर्काएर कहाँ फर्किनु ? अब त पिङ खेल्छु भनेपनि पिङ भेटिदैन । यदाकदा लिङ्गे पिङ भेटिन्छ । तर रोटेपिङ भने लगभग अब मासिइनै सक्यो । अहिलेका साना केटाकेटीहरु पिङ भनेको खालि चित्रमा मात्र देख्दछन् । दशैंमा घर लिप्ने चलन पनि यदाकदा मात्रै छ ।
बचपन र दशैंका याद भनेको जिन्दगीभरका लागि साह्रै सुन्दर समय हो । फेरि फेरि त्यो दोहोरिएर आउँदैन । तर हिजोको दशैं र आजको दशैंमा धेरै अन्तर छ । हिजो दशैं भनेको पिङ टीका जमरालाई महत्व दिइन्थ्यो तर हिजोआज दशैं भनेको मिठो खानु राम्रो लाउनु मात्र बुझिन्छ । हिजोआज बालबालिका पनि पिङमा भन्दा ज्यादा मोबाइलमा झुण्डिएर बस्छन् । आफू भन्दा ठूलाको हातबाट टीकाजमरा र आशिर्वाद गह्रण गर्ने अनि गाउँभरि डुलेर टीका थाप्ने चलन पनि लगभग हराइसक्यो । चाडपर्व भनेको हाम्रो संस्कृति हो । संस्कृतिले नै ब्यक्तिको पहिचान हुन्छ । संस्कृति भनेको देशको पनि पहिचान हो । अतः देश चिनिनका लागि पनि संस्कृतिहरु बाचिरहनुपर्छ ।