रामेछाप – रामेछापको गर्जाङदेखि देवीटारसम्मको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। गोकुलगंगा गाउँपालिका-१ गर्जाङदेखि मन्थली नगरपालिका-१३ फलासीको न्यु खिम्ती सबस्टेसनसम्मको प्रसारण लाइन पूरा भएपछि खिम्ती खोलामा बनेको उपल्लो खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित १९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
नेपाल विद्यत् प्राधिकरणले बनाएको ३१ किमि लामो प्रसारण लाइन ०७३ सालदेखि निर्माण थालिएको थियो । कोभिड महामारीले निर्माण सामग्री आयात गर्न भएको ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयमा आयोजना पूरा हुन सकेको थिएन । स्थानीय अवरोध सुल्झाएर आयोजना निर्माण गत महिनामा मात्र सकिएको थियो ।
गर्जाङ-खिम्ती १३२ केभी प्रसारण हुँदै लाइन समयमै पूरा नहुँदा माथिल्लो खिम्ती र अपर खिम्तीको १९ मेगावाट
बिजली करिब ७ महिनासम्म खेर गएको थियो । हिमालय ऊर्जा कम्पनीले उत्पादन गरेको उक्त बिजुलीलाई चार महिनाअघि जिरी सबस्टेसनबाट मकैबारी सिँगटीसम्मको ३३ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । अब भने सिधै १३२ केभीबाट उक्त विद्युत् प्रवाह गरिएको हिमालय ऊर्जा कम्पनीका सञ्चालक सरोज उपाध्यायले बताए । १ सय ५ वटा टावर रहेको प्रसारण लाइनले रामेछाप र दोलखाका विभिन्न भाग छुन्छ । करिब २ करोड अमेरिकी डलर लागतमा निर्मित प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह हुने प्राधिकरणले जनाएको छ ।
खिम्ती खोलामा निर्माणाधीन पिपल्स हाइड्रोबाट उत्पादित विद्युत्समेत अबसोही प्रसारण लाइनबाट न्यु खिम्ती पुऱ्याउने लक्ष्य छ ।