Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोरम्बा हत्याकाण्ड र पीडितका भत्किएका सपनाहरु, जुन यादहरु मुटुका किला बनिरहेका छन्

जनता भ्वाइस by जनता भ्वाइस
September 1, 2020
in जनता स्पेसल, फिचर
0
दोरम्बा हत्याकाण्ड र पीडितका भत्किएका सपनाहरु, जुन यादहरु मुटुका किला बनिरहेका छन्
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

साउन ३२ । रामकृष्ण गिरि, रामेछाप ।
दोरम्बा हत्याकाण्ड भएको आज १७ वर्ष पुगेको छ ।
१७ वर्षको यो समयमा दोरम्बा हत्याकाण्डमा हत्या भएका व्यक्तिहरुका आफन्तले अनाहकमा आफ्ना आफन्तले रागत बगाएको अनुभूति गरिरहेका छन् ।


आजैको दिन अर्थात् २०६० साल साउन ३२ गते दोरम्बा हत्याकाण्डको सम्झनामा सरकारले विभिन्न कार्यक्रम गर्दै र हत्याकाण्डमा सहिद भएकाहरूका बारेमा ठूलाठूला र रसिला कुरा गरेर सम्मान भाव व्यक्त गर्दै तथा एक मिनेट मौनधारण गर्दै आइरहेको छ ।
यो एक औपचारिकता मात्रै भएको जस्तो देखिन्छ ।


सो हत्याकाण्डमा मारिएका पीडितका परिवारका मनमा लागेका घाउहरु र आफ्ना परिवारका सदस्य गुमाउनु पर्दाको कठोर पीडाको क्षतिपूर्ति इतिहासको कुनै कालखण्डमा पुराहुने खालको छैन ।


दोरम्बा हत्याकाण्ड त्यो बेला भयो, जुन बेला तत्कालिन युद्धरत माओवादी र राज्यपक्षबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको थियो । हापुरेमा वार्ता चलिरहेको अवस्थामा माओवादीपक्षलाई तत्कालिन शाही नेपाली सेनाले निशस्त्र अवस्थामा मारेको थियो । माओवादीले तत्कालिन शाही नेपाली सेनालाई विश्वास गरेको अर्थात् राज्यलाई विश्वास गरेको र राज्यले माओवादीमाथि विश्वासघात गरेको एउटा ठूलो र भयानक नरसंहारको एक कुरुप नमुना हो ।


त्यसो त माओवादी पक्षले पनि युद्धरत समयमा नेपाली सेना अर्थात् त्यति बेलाको शाही नेपाली सेनासँग पनि विभिन्न बहानामा धोका नदिएको होइन । तर जतिबेला दोरम्बाको घटना घट्यो, त्यो बेला शान्तिवार्ता चलिरहेको र युद्धविराम भइरहेको थियो ।


युद्धको मैदानमा हतियारका बीच हतियारको प्रदर्शन र प्रयोग माओवादी पक्षबाट पनि नभएको होइन । तत्कालिन शाही नेपाली सेनालाई समेत क्रुरताको पराकाष्ठा भन्दा माथि गएर माओवादीहरुले पनि नमारेका होइनन् ।


दोरम्बाका सैनिक व्यारेकका तत्कालिन कमाण्डर मेजर रामराज पोखरेलको व्यक्तिगत सनकमा सो घटना घटको देखिन्छ । सो बेला ज्यान गुमाउने सबै माओवादी थिएनन् । माओवादीहरुलाई समर्थन गर्ने र माओवादी युद्धमा पूर्णकालिन भएर लाग्नेहरु दुवै थरिका मान्छेहरु मारिएका थिए । १७ वर्ष अघि भएको उक्त मानवता विरोधी क्रुर युद्ध अपराध आज पनि दोरम्बाबासी तथा पीडित परिवारका लागि मुटुको किला बनिरहेको छ ।


आज समय बदलिएको छ ।
यो बदलिएको समयको संघारमा तत्कालिन माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका त्यो बेलादेखिका सहयोगीहरु सत्ताको बागडोर संहालिरहेका छन् आज । जंगलबाट सत्तामा पुगेका तत्कालिन माओवादीहरुको हालिमुहाली भएको अवस्थामा दोरम्बाबासी नागरिकहरु र पीडित परिवारका व्यक्तिहरुको उनीहरुप्रतिको आशा र विश्वासको परिधि कहाँ पुग्यो ? भनेर खोज्ने हो भने त्यसको प्रतिफल हातलागी शुन्य हुन आउँछ ।


१७ हजार नेपाली नागरिकहरुको कत्लेआम गरेर सत्तारोहण गरेका प्रचण्ड र उनको आजको मनस्थिति त्यो समयमा रगत बगाउने आफ्ना वीर लडाकुहरुको कुनै मूल्य नभएको उचित मूल्याङ्कन नगरेको अवस्थामा आफूलाई उभ्याइरहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ पुरा गराउनका लागि सोझा सिधा नेपाली नागरिकहरुका सन्तानलाई विकसित स्वीट्जरल्याण्डको सपना देखाएर आफ्नाहरुको सुरुवाल र फरिया फेराउने ध्ययमा स्वयं प्रचण्ड लागेका देखिन्छन् ।


युद्धरत तत्कालीन नेकपा माओवादीका रामेछाप जिल्ला सेक्रेटरी तथा जनमुक्ति सेनाको बटालियन कमिसारसम्म भएका हाल नेकपा रामेछापका जिल्ला अध्यक्ष मैनकुमार मोक्तान (मदन) त्यो बेला दोरम्बा हत्याकाण्डका ‘जिउँदो शहीद’ हुन् । पार्टी एकीकरण अघिसम्म तत्कालीन माओवादी पोलिटब्यूरो सदस्य रहेका मोक्तानले दोरम्बा हत्याकाण्डको प्रत्यक्षदर्शीका रुपमा त्यो क्षणको स्मरण यसरी गरेका छन् ः


युद्धबिरामको समय भएकाले हामी अर्धभूमिगत जस्तै थियौं । खुलेआम सदरमुकाम र सुरक्षाफौज भएका ठाउँतिर नगए पनि हामी युद्धको अवस्थामा थिएनौं । ०६० साउन ३२ गते रामेछाप काभ्रे विशेष जिल्ला कमिटीअन्तर्गत इलाका कमिटीको बैठक बस्ने भएकाले हामी दोरम्बातिर लाग्यौं ।
तत्कालीन जिल्ला इन्चार्ज हरि दाहाल (ललित), सेक्रेटरी म, जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प) सहितको टोली गुन्सीबाट दोरम्बातर्फ लाग्यौं । हामीसँग जनमिलिसिया हेडक्वार्टरका कमाण्डर रक्तिम र जनमुक्ति सेनाको सानो टुकडी पनि थियो । युद्धबिरामको बेला भएकाले कुनै भिडन्तको आशंका थिएन ।


युद्धविरामको मौका, त्यसमा पनि तत्कालीन शाही सेना ब्यारेक वरिपरिको केवल ५ किलोमिटर क्षेत्रभन्दा बाहिर निस्कन नपाउने आचारसंहितामा सरकारले सहमति गरेको थियो । सेनाभन्दा करिव २५ कोष टाढा दोरम्बामा पार्र्टी बैठक राखेका थियौं हामीले ।


साउन ३१ गते बेलुका हामी दोरम्बा पुगेर स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बास बस्यौं । युवराज माओवादीका समर्थक थिए । उनका छोरा लीला पनि हामीसँग आवद्ध थिए । राति हामीले त्यहीँ बसेर योजना बनायौं । इलाका सेक्रेटरी ललिका पनि हुनुहुन्थ्यो । विहान हामी नेताहरुको टिम बसेर इलाका बैठकको योजना बनाउँदै थियौं ।


साथीहरु कोही मेसमा खान बनाउँदै थिए, कोही आराम गर्दै थिए । आ–आफ्नो धुनमा थियौं सबैजना । दोरम्बाको भिरकुनाभन्दा त्यो ठाउँमा सधैं कुहिरोले ढाकेको हुन्छ । साउन मसान्तको दिन सिमसिम पानी र कुहिरोले ढाकेकोको थियो ।


बिहान ११ बजेतिर सेनाले हामी बसेको एरिया घेरा हालिसकेको रहेछ । तर, हामीले चाल पाएनौं । हामी बसेको घरभन्दा केही पर सेन्ट्री बसेकी एकजना बहिनीलाई गोलीले ढालेर उनीहरु अघि बढ्दासम्म हामीले थाहा पाएनौं ।


बैठकस्थलमा आउँदै गरेका टेकवहादुर थापा मगरलाई पनि उनीहरुले कब्जा गरेर हत्या गरेपछिमात्रै हामीले सेना आयो भन्ने थाहा पायौं । तर, त्यतिबेला हामीले केही गर्न सक्ने अवस्था नै थिएन ।


घरभन्दा बाहिर रहेका साथीहरु भाग्न सफल भएछन् । हामी मुख्य टिम घरभित्रै थियौं । घरबाहिर १०÷१२ जना साथीहरु थिए । उनीहरु सेनाले टेकबहादुरलाई समातेर मारेको खबर सुनेपछि भागेछन् । घरभित्र हामी मुख्य नेतृत्वसहित २१ जना थियौं ।


अब के गर्ने भनेर सोच्न नपाउँदै सेना घरभित्र प्रवेश गर्न थालिसकेको थियो । हामी बसेकै घरको करेसाबारीमा प्रदीप दोङ ‘रक्तिम’ लाई पनि हत्या गरेपछि हामी बसेकै ठाउँसम्म बन्दुक पड्केको आवाज आयो ।


युद्धविरामको समय हो, किन आएको भन्ने पनि सोध्न पाइएन । यिनीहरुले मार्छन् भन्ने लागेपछि मैले भागौं साथी हो भनेँ । मचाहिँ घरभित्र माथिल्लो चोटाको झ्यालबाट हामफालेर बारीको कान्लाबाट ठाडै ओरालो भागेँ ।


मेरो पछि–पछि दर्जनौं राउण्ड गोली चल्यो । तर, संयोगवश मलाई एउटै पनि लागेन । ओरालो बाटो, साउनको मकैबारी भएका कारण पनि लुक्दै गोली छल्दै भाग्न सकियोजस्तो लाग्छ ।


जिल्ला इञ्चार्ज हरि दाहाल अलमलमा पर्नुभएछ । उहाँकी पत्नी ललिका, जो इलाका सेक्रेटरी पनि हुनुहुन्थ्यो, उहाँ अलि विरामी भएकाले के गर्ने भन्ने परेछ । तर, उहाँ पनि अन्तिममा ढोकामा उभिएका सेनालाई घचेटेर भाग्दै तल मलाई नै भेट्न आइपुग्नुभयो ।


हामी ओरालो भाग्दै–भाग्दै खोल्सो तरेर पारिपट्टि पुग्यौं । अरु साथी के भए भन्ने थाहा हुनै सकेको थिएन । आँगनमा भएका साथीहरु हामीभन्दा पहिले भागिसकेका थिए । उनीहरु पनि पारि पुग्दा भेटिन थाले । भाग्न सफल भएका १४÷१५ जना जम्मा भएर हामी भागेको घरमा के भयो होला भन्ने चिन्ताले खबर बुझ्न थाल्यौं ।


सेनाले घरमाथि मात्र घेरा हालेकाले हामी भागेर बाँच्न सफल भएका थियौं । यदि घरमुनि पनि घेरा हालेको थियो भने हामी कोही नबाँच्ने रहेछौं ।


हामी उकालो लागेर पारिगाउँमा पुग्दा साथीहरुलाई लहरै लाइन लगाएर हिँडाएको देख्यौं । त्योबेला कुहिरो भागेकाले देख्न सकियो । हामीलाई लाग्यो, साथीहरुलाई गिरफ्तार गरेर लगेको होला । उहाँहरुलाई पनि सायद गिरफ्तार मात्रै गर्ने होला, हत्या गर्दैन भन्ने विश्वासले नै भाग्नुभएन ।


घेरामा पर्नुभएका सबै साथीलाई शाही सेनाले हात पछाडि लगेर डोरीले बाँधेको दृश्य हरि दाहालले अलि परको घरबाट देख्नुभएको रहेछ । हात बाँधेका निहत्था सबैलाई शाही सेनाले १ घन्टा हिँडाएर डाँडाकटेरी भन्ने ठाउँमा पु¥याएर लाम लगाएर एक–एक गर्दै गोली ठोकेर मारेको रहेछ ।


हामीले पारिपट्टि बन्दूक पड्केको र महिला साथीहरु चिच्याएको आवाज सुनेपछि शाही सेनाले सिध्यायो भन्ने अनुमान गरिहाल्यौं । साथीहरुलाई लस्करै लाइन लगाएको रहेछ ।


जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङले म कमाण्डर हुँ, जे गर्ने होला मलाई गर, अरु साथीहरुलाई छाडिदेऊ भन्नुभएको रहेछ । त्यसैले अरु सबै साथीहरुलाई मारेपछि उहाँलाई यातना दिएर मारेको भन्ने प्रत्यक्षदर्शीले बताए ।


उनीहरु सबैजनालाई लाइन लगाएर हत्या गरेपछि लासहरु त्यतिकै छाडेर हिँडेछन् । त्यसदिन त्यतिकै रात परेको थियो । हामीले केही साथी पठायौं र लासहरु संकलन गर्न भन्यौं । भोलिपल्ट शवहरु गाडियो ।


त्यो घटनामा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, इलाका सेक्रेटरी ललिका, जनमिलिसिया प्रमुख रक्तिम, चतुरमान थामी, टेकबहादुर थामा मगर, बिष्णुमाया मगर, पदमराज गिरी, घरधनी युवराज मोक्तान र छोरा लीलालाई पनि सेनाले हत्या गरेको थियो ।


हत्या हुने अरु कमरेडहरुमा उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, सोमई थामी ‘संगिता’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायतका साथी पनि परे ।


साथीहरुलाई हत्या गरेको थाहा पाउनासाथ अब के गर्ने भन्ने भयो । त्यतिबेला अहिलेजस्तो सञ्चार सम्पर्क सहज थिएन । मसँग एउटा नोकिया मोबाइल थियो । जिल्ला हेडक्वार्टरले प्रयोग गर्ने सो मोबाइलबाट मैले क्षेत्रीय व्यूरो इन्चार्ज अग्नि सापकोटालाई फोन लगाएँ । उहाँलाई सबै जानकारी गराएपछि आफू सुरक्षित हुन भन्नुभयो ।


त्योबेला आफ्नो च्यानलभन्दा भन्दा बाहिर कसैसँग कुरा गर्न पाइन्नथ्यो । मैले उहाँलाई फोन गरेपछि उहाँले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो होला । त्यसपछि पार्टीले केही समयमै वार्ता भंग गरेर युद्धमा फर्किने निर्णय ग¥यो । हामी त्यहाँबाट हिँडेर दिमीपोखरी पुग्यौं । यति ठूलो त्रासदी युद्धकालमा कहिल्यै भोगिएको थिएन । नसोचेको घटना भएको थियो ।


दोरम्बा हत्याकाण्डपछि हामीले यसको कारण खोज्न थाल्यौं । हामीले धेरैसँग वयान लिएपछि त्यसक्रममा स्थानीय स्वास्थ्यकर्मी समेत रहेकी रेलिमाया मोक्तान र अर्का एकजनाले खबर गरेर सेना आएको भन्ने थाहा भयो । उनीहरुको पनि हत्या भयो ।


कृष्णजंग रायमाझी नेतृत्वको छानविन आयोगले पनि अनुसन्धान गरेर राज्यबाट युद्दविराम विपरीत निहत्थाको हत्या गरेको रिपोर्ट दिएको थियो । सायद त्यो रिपोर्ट अहिले पनि होला ।


त्यो घटनापछि दोरम्बामा सेनाको ब्यारेक बसेको अहिलेसम्म उठेको छैन । वास्तवमा दोरम्बा हत्याकाण्ड तत्कालीन सेनाका मेजरको सनकमात्र थियो कि राज्यले नियोजितरुपमा गराएको थियो ? अहिलेसम्म प्रष्ट छैन । तर, यसप्रकारको मानवताविरुद्धको अपराध गर्ने शाही सेनाका कमान्डरलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेर सरकारले शान्ति सेनामा पठायो ।


हामीले पनि केही असावधानीका कारण ठूलो क्षति भोग्यौं कि जस्तो लाग्छ । युद्धविराम भए पनि सेनाको गतिविधि हामीले वाच गर्नुपथ्र्यो । हामी बढी विश्वासमा परेका थियौं । हामीलाई सेनाबाट धोका हुन्छ भन्ने थाहा भएको भए हतियार हामीसँग पनि थियो । तर, हामीले हतियार चलाउनै पाएनौं ।


हाम्रा साथीहरुले बन्दूकहरु दाउराको चाङमा राख्नुभएको रहेछ । केही दिनपछि हामीले त्यो घरमा गएर बन्दूक जहाँ राखिएको थियो, त्यहीँ भेट्यौं । मसँग पनि सानो हतियार थियो, तर चलाउन पाइएन । यदि हामीले पनि हतियार चलाएको भए हाम्रोतर्फ त्यति ठूलो क्षति हुने थिएन होला ।


आज पनि दोरम्बामा मारिएका कमरेडका परिवारका सदस्य भेट्दा हामी भावविव्हल हुन्छौं । अब कहिल्यै त्यस्तो नहोस् भन्नु बाहेक हामी केही गर्न सक्दैनौं । तर, पीडितले न्याय पाउनुपर्छ । हामी त निरन्तर क्रान्तिमा छौं, बाटोमात्र फरक हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

होम आइसोलेशनको त्रासमा जिमालीका कर्मचारी, कार्यालयमा आएर काम गर्न असहज मान्दै

Next Post

“आमा”

Next Post
“आमा”

“आमा"

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...