माघ ६, रामेछाप ।
वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार रामेछाप र चितवन बिच प्रतिस्पर्धा हुने भएको छ ।
मन्थलीमा जारी राष्ट्रिय खेलकुद महासंघ नेपाल बाग्मती प्रदेशले आयोजना गरेको उक्त खेल अन्तरगत शुक्रबार सेमिफाइनलको खेलमा धादिङलाई हराउँदै रामेछाप र सिन्धुपाल्चोकलाई हराउँदै चितवन फाइनलमा प्रवेश गरेका हुन् ।
धादिङलाई २५–२३, २५–१४ र २५–१५ को सेटमा हराउँदै रामेछाप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । त्यस्तै सिन्धुपाल्चोकलाई २५–१५, २५–२१ र २५–१४ ले हराएर चितवन फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल शनिबार रामेछाप र चितवन बिच मध्यान्ह १२ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।