काठमाण्डौ, १६ बैशाख
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजिव गुरूङ (दीपक मनाङे) लाई युवा तथा खेलकूद मन्त्री बनाएका छन्। आज नै प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।
बुधबारको प्रदेश सभा बैठकमा समेत सहभागी नभएका सांसद गुरूङलाई अविश्वास प्रस्ताव खेपिरहेका मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरि युवा तथा खेलकूद मन्त्री बनाएका छन्।
मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका छन् भने सो प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो। तर जनमोर्चाका सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन्।
सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए। मनाङे आपराधिक पृष्ठभूमिका हुन्। उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए।