काठमाडौं, १६ बैशाख
काठमाडौ- नेपाल सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्दै सेवा प्रवाह गर्न देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाइ ३ बुँदे निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सेवा प्रवाह सम्बन्धमा देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाई निर्देशन दिएको हो ।
विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार कोरोना फैलिइरहेको सन्दर्भमा सेवाग्राहीको अत्यधिक भीडभाड रहने मालपोत कार्यालयबाट पूर्ववत् सेवा प्रवाह गर्न सकिने अवस्था नरहेकाले सो निर्देशन दिइएको हो ।
उनका अनुसार निषेधाज्ञा जारी भएका जिल्लामा निषेधाज्ञा अवधिभर मालपोत कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गर्ने, सोसम्बन्धी सूचना सम्बधित कार्यालयले प्रकाशित गरी सेवाग्राहीलाई जानकारी गराउने र सेवा प्रवाह बन्द भएका कार्यालयमा आलोपालो मिलाई कर्मचारी उपस्थित भई कार्यालयको काम गर्नुपर्नेछ ।
निषेधाज्ञा जारी नभएका जिल्लाका कार्यालयमा भने कोभिड-१९ संक्रमणको जोखिम अवस्था हेरी स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने निर्देशन देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाई दिएको छ ।