रामेछाप । मन्थली नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पालिकाले गरेको कामहरू र योजना अनुरुपका बाँकी कामहरू समेत सार्वजनिक गरेको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले कार्यक्रमको अवसरमा नगरले गरेको कामहरू र योजना अनुरुपका बाँकी कामहरू कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगरपालिले आफू सँग आवद्ध कर्मचारी तथा विविध विधामा नागरिकहरूलाई समेत सम्मानित गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०७७ को नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयमा उत्कृष्ट हुने छात्र/ छात्रा हरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको । उत्कृष्ट छात्रामा सुस्मिता अधिकारी र छात्र आदित्य दाहाल हुन् । सुस्मिता मा वि सिक्रालका विद्यार्थी हुन् भने आदित्य मन्थली माविका विद्यार्थी हुन् । सुस्मिता ८ सय पुर्णाङ्कमा ७ सय ५२ अङ्क प्राप्त गरेर उत्कृष्ट भईन् भने आदित्यले ८ सय पुर्णाङ्कमा ७ सय ६८ अङ्क ल्याएर उत्कृष्ट भए ।
त्यस्तै नगरपालिकाले नगरपालिका भित्रका सेवा निवृत्त कर्मचारी तथा शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा मन्थली मा वि मन्थलीका मा वि शिक्षक श्री विरेन्द्र सहनी, सिद्देश्वर आधारभूत विद्यालय हात्तीटारका प्रा शि केदारप्रसाद प्रसाई, सिद्देश्वर आधारभूत विद्यालय हात्तीटारकै प्रा शि श्री गोपाल वाग्ले , मिल्ती जन ज्योति आधारभूत विद्यालय फुलासीका प्रा शि श्री अच्चुतराज घिमिरे र कठजोर स्वास्थ्य चौकीका कार्यालय सहयोगी रामनारायण श्रेष्ठ हुन् ।
नगरपालिकाले वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई जग्गा उपलव्ध गराउने जग्गा दाताहरु श्री रामवहादुर कार्की भैरवी मा वि सुनारपानी र राम्री मायामगरलाई समेत सम्मानित गरेको छ । रामवहादुर कार्कीले भैरवी मा वि सुनारपानीका लागि जग्गा उपलब्ध गराएका थिए भने राम्री मायामगरले ११ न वडा कार्यालयका लागि जग्गा उपलब्ध गराएका थिईन ।
नगरको सामाजिक आर्थिक विकास र समृद्धिमा विशिष्ट योगदान पुर्याउने संघ सस्थाहरु
शैक्षिक संस्था तर्फ कर्कलादेवी अंग्रजी आवसीय विद्यालय मन्थली स्वास्थ्य संस्था तर्फ तामाकोशी अस्पताल वातावरण तथा सरसफाईका लागि खाँदवारी नयाँवस्ती टोल विकास समिति म न पा १, विवाद निरुपणका लागि मेलमिलाप केन्द्र मन्थली ८, विपद, वातावरण सरसफाई र राहत सहयोगमा योगदान पुर्याए वापत रामेछाप सहयोगी मनहरु मन्थली १ र वालवालिकाको क्षेत्रमा काम गरे वापत

सिद्देश्वर वाल क्लव , म न पा ४ लाई सम्मानित गरेको छ ।
नगरले उत्कृष्ट कृषकहरूलाई पनि सम्मानित गरेको छ । अकवरे खुर्सानी र सुन्तला फलाए बापत म न पा १४ फुलासीका कृषक ज्ञानवहादुर लामा , मासु उत्पादन गर्ने कालीदेवी वाख्रापालनका
टंकवहादुर खत्री र दुध उत्पादनका लागि तारा गाई फार्मकी तारा पौडेललाई सम्मानित गरेको छ ।
उत्कृष्ट करदाता भन्दै गुञ्ज वहादुर श्रेष्ठ सम्मानित गरेको हो । उनले अघिल्लो आर्थिक वर्षमा १ लाख१ हजार २ सय ४२ रुपैया ८०पैसा राजस्व नगरलाई बुझाएका थिए ।
उत्कृष्ट स्वयसेविकाको रुपमा मन्थली नगरपालिका वडा नं. ३ की श्री भगवती भट्टराई सम्मानित भएकी छिन् भने उत्कृष्ट उद्दमीमा वाँसको हस्तकला सामग्री उत्पादन गर्ने मन्थली नगरपालिका वडा नं. १ की हिरामाया शिवभक्ति सम्मानित भएकी छिन् ।
नगरपालिकाले आफ्ना मातहतका विभिन्न कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । विपद व्यवस्थापनमा उल्लेख्य योगदान पुर्याए वापत हेभि सवारी चालक लेखवहादुर श्रेष्ठ,
स्वास्थ्य क्षेत्रको उत्कृष्ट काम गरे वापत फुलासी स्वास्थ्य चौकीका अहेव सुरेन्द्रकुमार साह , उत्कृष्ट शिक्षकका रुपमा भैरवी मा वि सुनारपानीका मा वि शिक्षक दिनेशकुमार कार्की , आधारभूत तहका उल्लेख्य काम गरे वापत नर्मदेश्वर आ वि गाइखुरा म न पा ८ की
हिरा वोहोरा पुरी, वाल विकास तर्फ साँखे आ वि देविटार म न पा १३ कीमधुशा गिरी लाई सम्मानित गरेको छ ।
त्यस्तै नगरले उत्कृष्ट कर्मचारी भन्दै १ न वडा कार्यालयका कार्यालय सहयोगी शम्शेरवहादुर माझी एम्वुलेन्स चालक अर्जुन खडका, मन्थली नगरपालिकाका कार्यालय सहयोगी रविन्द्र हायु मन्थली नगरपालिकाका ना सु ज्ञानेन्द्र काफ्ले, मन्थली नगरपालिकाका कम्पूटर अपरेटर रोशन पोख्रेल र अधिकृत सि अ न मी कमला श्रेष्ठलाई समेत सम्मानित गरेको हो ।
मन्थली नगरपालिका स्थापना दिवसको अवसरमा नगर प्रमुखद्धारा प्रस्तुत मन्तव्य
मन्थली नगरपालिकाको स्थापना दिवसमा आयोजित गरिमामय कार्यक्रममा उपस्थित मन्थली नगरपालिकाका उपप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, प्रमूख प्रशासकीय अधिकृतज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरु, राजनैतिक दलका प्रमुख एंव प्रतिनिधिज्यूहरु, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, नगरसभाका सदस्यज्यूहरु, पत्रकार महासंघ जिल्ला शाखाका सभापति ज्यू, शाखा प्रमुख, वडा सचिव लगायत कर्मचारी साथीहरु, पत्रकार मित्रहरु एवं नगरवासी सम्पूर्ण उपस्थित आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरु,
सर्वप्रथम मन्थली नगरपालिकाको स्थापना दिवसको ऐतिहासिक अवसरमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै सामाजिक न्याय सहितको समानुपातिक समावेशी र सहभागितामूलक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै लोकतान्त्रिक शासन ब्यवस्था स्थापनार्थ जीवनपर्यन्त संघर्ष गर्नु हुने आदरणीय नेतृत्व वर्गहरु प्रति हार्दिक सम्मान गर्दछु ।
विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को पहिलो र दोस्रो भेरियन्टको महामारीले पारेको असरवाट विश्वका कुनै पनि मुलुक अछुतो रहन सकेनन । महामारीवाट सवैभन्दा वढी शिक्षा क्षेत्र रह्यो भने धेरै मुलुकका अर्थतन्त्र डामाडोल अवस्थामा पुगेका हामी सवैलाई विदितै छ । यस महामारीवाट परेका असरको व्यवस्थापन नहुदै पुन तेस्रो भेरियन्टको खतरा वढ्न लागेको छ । अफ्रिकी मुलुकवाट शुरु भएको कोरोनाको ओमिक्रोन भेरियन्टका कारण धमाधम हवाईमार्गहरु वन्दा हुन थालेको छ । कोभिड १९ को वढ्दो संक्रमणका कारण आज मानव अस्तित्वमाथि नै चुनौति वढी रहेको छ । यसका कारण करिव २ वर्ष अघिदेखि मुलुकले एकै पटक मानवीय र आर्थिक संकटको सामना गरिरहनु परेको छ र अझै गर्नु पर्ने अवस्था देखिन्छ । यस विषम परिस्थितिमा पनि महामारीको प्रभाववाट कत्ति विचलित नरही कोभिड १९ को महामारीको रोकथाम र नियन्त्रणका क्रममा संक्रमण देखिएका नगरवासीको उपचार लगायतका कार्यको व्यवस्थापन गर्ने, सम्भावित जोखिममा रहेका नगरवासीको परीक्षण गराउने दायित्व पुरा गर्दै अन्य व्यवस्थापकीय कार्य पहिलो प्राथमिकतामा राखी नगरपालिकाले आफ्नो नियमित कार्य अगाडि वढाइरहेको छ । यस्तो असहज अवस्थामा समेत नगरले चालेका कदमहरुमा साथ सहयोग गर्नु हुने सम्पूर्ण राजनैतिक दल, विभिन्न संघ सस्था लगायत नगरवासी आमावुवा, दाजुभाई दिदीवहिनीहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नगरको कार्य सम्पादन र महामारी नियन्त्रणमा आगामी दिनमा समेत यस्तै साथ, सहयोग, ऐक्यवद्धता र सकारात्मक सल्लाह सुझाव प्राप्त हुनेछ भन्ने विस्वास गर्दै कोभिड-१९ को कारण सिर्जित यस महामारीवाट सुरक्षित हुनका लागि आवश्यक सतर्कता अपनाउनदै जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालन गरी सामाजिक एवं आर्थिक गतिविधिहरुमा सहभागी हुन म सम्पूर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।
अव म मन्थली नगरपालिकाको ऐतिहासिक पृष्टभूमिको वारेमा जानकारी गराउन चाहान्छु ।
- नेपाल सरकारद्धारा रामेछाप जिल्लाको सदरमुकाम रहेको मन्थली गाँउ विकास समिति लगायत तत्कालिन ७ वटा गाउँ विकास समितिहरु ( मन्थली,कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समेटेर १६ वटा वडा रहने गरी मन्थली नगरपालिका २०७१ मसिर १६ गते घोषणा गरियो । नेपालको सविधान वमोजिम राज्यको पुन: सरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन मन्थली नगरपालिकाका वडा सहित क्रमश: पुरानागाँउ, चनखु, गेलु र फुलासी गाँउ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापना भएको व्यहोरा हामी सवैमा सर्वविदितै छ ।
- २११.७७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्वा गाँउपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाँउपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका पर्दछन् । २०६८ सालको जनगणना अनुसार २४,६६६ महिला र २०,७५०पुरुष गरी जम्मा ४५,४१६ जनसख्या र जनघनत्व २१८.९७ रहेको छ । यो २०६८ सालको तथ्याङ्कमा वृद्धि भइ हाल २०७७ सालमा २७८३० महिला र २३४१२ पुरुप गरी जम्मा ५१,२४२ पुगेको प्रक्षेपण गरिएको छ ।
३ यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ ।
४ यस नगरपालिकाको भौगोलिक स्वरुप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरोले निकै प्रभाव पार्दछ । रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरो ठूलो र अनौठो रुपमा रहेको छ । यो पहिरो वर्षायाममा कम र सुख्खा याममा वढी गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।
५. प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा पुरानागाँउको वाउन चुरामा रहेको वैरा महादेव ( थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको निलकण्ठेश्वर र ऐराम्वास मन्दिर, सुनारपानीको थानपती मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रुपमा रहेका छन् ।
६ मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्ने थलोलाई मनथलो भनिएको, पछि सो शव्द अप्रभ्रंश भई मन्थली भएको मान्यता छ ।
७ त्यसैगरी प्राचिन किम्वदन्ती अनुसारविद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहँदै आएको, जाडँ उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडँ र थलो भनेको खान बस्ने ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडँ खाने र बस्ने स्थानको रुपमा पनि मन्थलो भन्न थालिएको थियो । यसै शब्दको अपभ्रंशबाट पछि मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।
८. राजनैतिक तथा प्रशासनिक विभाजनका हिसावले यो नगरपालिका भित्र १४ वटा वडाहरु रहेका छन् । नगरपालिकामा व्यवस्थापिकाको रुपमा ७५ सदस्यीय नगर सभा , कार्यपालिकाको रुपमा २४ सदस्यीय नगर कार्यपालिका र न्यायपालिकाको रुपमा तीन सदस्यीय न्यायिक समिति गठन भई क्रियाशील रहेका छन् । १४ वटा वडा कार्यालय सहित नगर कार्यपालिकाको कार्यालयवाट आम नगरवासीलाई सेवा प्रदान गरिदै आएको छ । यसका अतिरिक्त ४ वटा आयोजना एवं परियोजनाहरु मार्फत सेवालाई थप प्रभावकारी वनाउने प्रयास गरिएको छ ।
९ नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयनका लागि शैक्षिक र स्वास्थ्य संस्थाहरु लगायतको व्यवस्था गरिएको छ । सरकारी स्तरवाट स्थापित ६७ वटा शैक्षिक संस्थामा ४१० जना शिक्षकहरु र २४ वटा स्वास्थ्य संस्थाहरुमा १३० जना स्वास्थ्य कर्मीहरु कार्यरत रहेका छन् । त्यसैगरी निजी लगानीमा ६ वटा शैक्षिक संस्था र ६ वटा स्वास्थ्य संस्थाहरु समेत क्रियाशील छन् ।
१०.तीन खम्वे अर्थनीतिको महत्वपूर्ण खम्वाको रुपमा रहेको सहकारी क्षेत्रमा यस नगरपालिका कार्य क्षेत्र रहेका सहकारी संस्थाहरुमध्ये ५३ वटा अध्यावधिक भई क्रियाशील रहेका छन् ।
आदरणीय उपस्थित महानुभावहरु,
११. नेपालको संविधान जारी भए पछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था संस्थागत हुँदै गईरहेको छ । संविधान वमोजिम गठित संघ, प्रदेश र स्थानीय सरकार बीचको आपसी सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्त अनुरुप संघीय र प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमलाई आधार मान्दै आफ्नो लामो राजनीतिक जीवनका अनुभुतिहरु, नगर प्रमुखको रुपमा प्राप्त अनुभव, जनआकांक्षा, विद्यमान श्रोत साधन र विभिन्न तहवाट प्राप्त सल्लाह सुझावहरुलाई आत्मसात गर्दै नीति तथा रणनीतिहरु तय गरिएका व्यहोरा हामी सवैमा विदितै छ ।
अव म २०७४ सालको स्थानीय तहको आम निर्वाचन पश्चात जनप्रतिनिधिको रुपमा यस नगरपालिकाको कार्यभार समालेको समय देखि चालु आ व २०७८/०७९ सम्म आम नगरवासीलाई प्रत्यक्षरुपमा सरकारको अनुभूति गराउन अवलम्वन गरिएका मुख्य मुख्य नीति र रणनीतिहरु राख्ने अनुमति चाहान्छु ।
- राजश्वका सम्भाब्य श्रोतको पहिचान गरी आन्तरिक राजश्वका दरलाई यथावत विन्दुमा राखी राजश्वका स्रोत एंव दायरा समयानुकूल फराकिलो वनाउदै लैजाने ।
- नगर क्षेत्र भित्रका निर्माण व्यवसायी, उद्योगी तथा ब्यापार ब्यवसायी, परामर्शदाता, बैँक तथा वित्तीय संस्थाहरु, सहकारीहरु लगायतका संस्थाहरुलाई अनिवार्य दर्ता / नविकरण गराइ ब्यवसायको आकार, प्रकृति, उद्देश्य र कारोवारका आधारमा करको दर निर्धारण गर्ने, नगरकेन्द्र भन्दा वाहिर रहेका वजार क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउन दर्ता / नवीकरण शिविर सञ्चालन गर्ने ।
- निजी तथा साझेदार लगानी कर्ताको खोजी गरी स्वीमिङ्ग पुल सहितको मनोरञ्जन पार्क निर्माण गरी मनोरञ्जन कर लिने कार्यको शूरुवात गर्ने ।
- एक वडा/भेग एक उत्पादन क्षेत्र जस्ता पकेट क्षेत्रको पहिचान गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने । जुनार, सुन्तला, कागती, किवी, चिया खेतीको पकेट क्षेत्र घोषणा गरी कृषक प्रोत्साहनका लागि अनुदानको समेत व्यवस्था गर्ने ।
- कृषि तथा पशुपालन ब्यवसायमा वैदेशिक रोजगारवाट फर्किएका युवाहरुलाई समेत आकर्षित गर्ने कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने र वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आवश्यक सूचना प्रदान गर्न रोजगार सूचना केन्द्रलाई प्रभावकारी वनाउने ।
- कोभिड १९ को महामारीका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीवाट फर्किएका युवालाई स्थानीय साधन, स्रोत र कच्चा पदार्थमा आधारित रोजगारमूलक साना, लघु तथा घरेलु उद्योग स्थापना तर्फ आकर्षित गरी नगरवासीको दीगो र भरपर्दो आयश्रोतको विकासमा जोड दिने ।
- कृषि तथा पशुपंक्षी पालनलाई ब्यवसायिक, आधुनिकीकरण र यान्त्रिकरण गर्दै खाद्यान्न, तरकारी, दुध, मासु र अण्डामा नगरलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउने ।
- विद्यालयको भौतिक संरचना सुधार एवं आधारभूत तहलाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहलाई निःशुल्क गरी गुणस्तरीय शिक्षा मार्फत सक्षम जनशक्ति निर्माणमा जोड दिने । वाल विकास सहयोगी सहजकर्ता र कर्मचारीहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने ।
- सामुदायिक विद्यालयहरुमा भैरहेको विज्ञान शिक्षकको अभावलाई न्यूनिकरण गर्न मन्थली मा.वि. मन्थलीको कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने नगरभित्रका विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था गर्ने ।
- विद्यालयहरुमा वालवालिकाको शारीरिक र मानसिक विकासको लागि उमेर र कक्षा अनुसार खेलकुद मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापहरु वार्षिक क्यालेण्डर वनाई सञ्चालन गर्ने ।
- आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र सवैको पहुँचमा पुर्याउन भौतिक संरचनाको निर्माण, ब्यवस्थापन तथा स्वास्थ्य संस्था र कर्मचारीहरुको क्षमता वृद्धि गर्नुका साथै कोभिड १९ को रोकथाम तथा उपचारका लागि परीक्षण, आवश्यक औषधि उपकरण जनशक्ति र खोपको प्रभावकारी व्यवस्थापन र कोभिड १९ को नियन्त्रणमा खटिने स्वास्थ्य/ कर्मचारीहरुको लागि निश्चित मापदण्डको आधारमा जोखिम भत्ताको व्यवस्था गर्ने ।
- नगरपालिका भित्रका सम्पूर्ण नागरिकहरुको मृगौला परीक्षण गर्नका लागि राष्ट्रिय मृगौला केन्द्रसंग सहकार्य गरिनुका साथै डाईलोसिसको लागि तामाकोशी सहकारी अस्पताल लगायतका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग समन्वय र सहकार्य गर्नुका साथै अन्य उपचार पद्धतिको लागि मेडिकल कलेजसँगको सहकार्यलाई कार्यान्वयनमा ल्याउने ।
- घरेलु हिंसाबाट पीडित तथा पारिवारिक विचलनमा परेका महिलाहरुको व्यवस्थापन तथा सेवाको आवश्यकता सम्बोधन गर्न अल्पकालीन सेवा केन्द्रको स्थापना गर्ने ।
- नेपाल सरकारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति अनुरुप वञ्चितीकरणमा परेका वर्गलाई लक्षित गरी आयमूलक, सीपमूलक तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
- नगरका प्रमुख सडकहरुलाई स्तरोन्नती गरी कालोपत्र गर्दै जाने र सवै वडा कार्यालयहरुसम्म वाह्रै महिना यातायातका साधनहरु चल्ने गरी सडकको स्तरोन्नती, सुधार र मर्मत सम्भार कार्यलाई निरन्तरता दिने ।
- प्राकृतिक सौन्दर्यता, प्राकृतिक स्रोत र साधन, जलसम्पदा, भाषा, कला, संस्कृति आदिको संरक्षण, सम्वर्द्धन र प्रचार प्रसार गरी पर्यटन उद्योगको विकास गर्ने । त्यसैगरी विभिन्न जातजातिको मिश्रित वसोवास रहेको यस नगरपालिकामा जाति अनुसार संस्कृति भेषभुषा र परम्परा रहेकाले यिनीहरुलाई लक्षित गरी साँस्कृतिक पर्यटन पूर्वाधार विकास गर्ने ।
- नगरको अधिकतम क्षेत्र सुख्खाग्रस्त भएकोले मानव वस्तीमा खानेपानी ब्यवस्थापन गर्न लिफ्ट/डिप वोरिङ जस्ता प्रविधिको उपयोग विभिन्न निकायको सहकार्य एवं समन्वयमा गर्ने ।
- नगरपालिका भित्रका मुख्य कृषियोग्य जमिनहरुमा सम्भाब्यताका आधारमा साना सिंचाई कुलो, लिफ्ट सिंचाई, डिपवोरिङ्ग थोपा सिंचाई, सिंचाई पोखरी, प्लाष्टिक पोखरी आदिको निर्माण तथा मर्मत गरी सिंचाई सुविधा विस्तार गर्ने ।
- बस्ती स्तरबाट माग भएका, रोजगारी सिर्जना हुन सक्ने, वातावरणमा कम असर पर्ने, स्थानीय सहभागिता जुट्न सक्ने, कम लागतमा बढी जनसंख्या लाभान्भित हुने तथा क्रमागत योजनाहरुको कार्यान्वयनमा प्राथमिकता दिने ।
- उर्जा संकट न्यूनीकरण गर्न साझेदार संस्थाहरुको सहयोग समेत जुटाई साना जलविधुत, सौर्य उर्जा, वायु उर्जा लगायत वैकल्पिक उर्जाका कार्यक्रमहरु सञ्चालनमा जोड दिने ।
- विपद जन्य घटनाहरुलाई तत्काल सम्वोधन गर्न विपद ब्यवस्थापन कोषमा पर्याप्त वजेटको व्यवस्था गरी विपद राहतलाई प्राथमिकता दिने ।
- सटर वाहिर र सडक पेटीमा सामाग्री राखेर वेच्ने, सडक र सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्यलाई पूर्ण रुपमा निष्तेज गर्ने ।
- नगरवाट प्रवाह हुने आधारभूत सेवाहरु सम्वन्धित वडा कार्यालयवाटै उपलब्ध गराउने । सवै वडाहरुमा इन्टरनेट जडान गरी सामाजिक सुरक्षा र घटनादर्तालाई सहज वनाइनेछ । वडा कार्यालयहरुमा राजश्व संकलन लगायतका सफ्टवेयरहरु सञ्चालनमा ल्याउने ।
- नगरको सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र प्रभावकारी वनाई सुशासन अभिवृद्धि गर्न नगरपालिकावाट जारी सुशासन ऐनलाई पूर्णतः कार्यान्वयन गर्ने ।
- नगरपालिका र अन्तरर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी प्रति थप उत्प्रेरित गराई सार्वजनिक सेवामा गुणस्तरीयता कायम गर्न कर्मचारीहरुको क्षमता विकास, योग्यताका आधारमा स्तरवृद्धि, गर्ने ।
- सूचना प्रविधिको अधिकतम प्रयोग, नियमित समीक्षा, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, नागरिक वडापत्र, गुनासो पेटिका जस्ता माध्यमवाट नगरपालिकाका काम कारवाहीमा सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने ।
- नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि तयार गरी लागू गरी वेरुजु सून्य अभियान सञ्चालन गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख र उपशाखा प्रमुखवीच कार्यसम्पादन सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने ।
- शाखागत रुपमा वार्षिक कार्यक्रम एवं वार्षिक खरिद योजना तर्जुमा गरी सार्वजनिक खरिद कार्यलाई ब्यवस्थित, पारदर्शी र प्रभावकारी वनाउनका साथै र खरिद कार्यहरुमा ई- विडिङको प्रयोग गर्ने ।
- नगरपालिकाका सकारात्मक कार्यहरुको यथार्थ सन्देश जनता सामु पुर्याउन योगदान गर्ने सञ्चारगृह र सञ्चारकर्मीहरुलाई नगरपालिकाको सञ्चार क्षेत्र, एंव कला सस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउनेहरुलाई अक्षय कोष मार्फत सम्मान तथा पुरस्कृत गर्ने ।
- नगरपालिकावाट सञ्चालित आयोजनाहरुको नतिजामा आधारित अनुगमन र नगरमा हालसम्म निर्माण गरिएका आयोजनाहरुको तुलनात्मक मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गर्ने ।
- नेपालको संविधान तथा अन्य प्रचलित कानून वमोजिम नगरपालिकालाई प्राप्त अधिकारहरुको उपयोगका लागि आवश्यक कानुनको तर्जुमा, कार्यान्वयन र सरोकारवालाहरुवाट प्राप्त सुझावहरुका आधारमा समयानूकुल संशोधन एवं परिमार्जन गर्दै जाने ।
- न्यायिक समितिको कामलाई थप सहज र प्रभावकारी वनाउदै मेलमिलाप केन्द्रको प्रभावकारी सञ्चालनमा सहयवग पुर्याउने तथा न्यायिक समितिवाट भएका निर्णय कार्यान्वयनको प्रभावकारिताका लागि नियमित अनुगमनको व्यवस्था मिलाउने ।
आदरणीय उपस्थित महानुभावहरु,
यस नगरपालिकाको नगरसभावाट स्वीकृत नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका मार्ग चित्रका आधारमा कार्य सम्पादन भईरहेका छन् । नगरवासीका आकांक्षाहरुको यथासम्भव सम्वोधन गर्ने हाम्रो प्रतिवद्धताअनुरुप नगरमा उपलब्ध सीमित श्रोत साधनको अधिकतम परिचालन गर्दै कार्यक्रमहरु कार्यान्वयन गरिदै आइएको छ । निर्धारित लक्ष्य अनुरुप नै धेरै क्षेत्रहरुमा अपेक्षित प्रतिफल प्राप्त हुन सक्ने सम्भावनाहरु विद्यमान थिए । तथापि २०७६ सालमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को सन्त्रास र २०७६ चैत्र ११ गते देखिको निरन्तर वन्दावन्दीको कारण नगरवाट भइरहेका सेवा प्रवाह, विकास निर्मांण र राजश्व संकलनमा गहिरो धक्का लाग्न पुगेको छ । यस्तो विषम परिस्थितिमा समेत केही महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन्, अव म हामी जनप्रतिनिधिहरुले यस नगरपालिकाको कार्यभार समाले पश्चात हालसम्म भएका मुख्य उपलव्धिहरु वुँदागत रुपमा यहाँहरु समक्ष प्रस्तुत गर्न चाहान्छु ।
सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ :
१२.निजी घरमा ८ वटा कोठा भाडामा लिइ सार्वजनिक सेवा प्रवाह गरी रहेको नगरपालिकाले प्रशासकीय भवन निर्माणको कार्य सम्पन्न गर्नुका साथै उक्त भवनवाट सार्वजनिक सेवा सरल, सहज र प्रभावकारी रुपमा सञ्चालन गर्दै आज भवनको औपचारिक उदघाटनको अवस्थामा आइपुगेका छौ । एक सभाहल र कार्यपालिका वैठक कक्ष भएको यो भवनवाट सवै प्रकारका सेवाहरु एकीकृतरुपमा प्रवाह गर्न सक्षम भएका छौ ।
१३अनलाईन घटनादर्ता, राजश्व संकलन तथा सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त वनाइएको छ । नेपाल सरकारको नीति अनुरुप वैकिङ्ग प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउन सफल भएकाछौ ।
१४.अधिकांश वडाको सेवा प्रवाह सदरमुकाम केन्द्रित रहेकोमा सम्वन्धित वडा मै कार्यालय स्थापना गरी वडास्तरीय सेवाहरु वडावाटै प्रदान गर्ने वातावरण निर्माण गरिएको छ । आफ्नै भवन नभएका वडाहरुमध्ये वडा न २, १० र १४ मा भवन निर्माण गरी सेवा प्रवाह प्रणालीलाई थप प्रभावकारी वनाइएको छ । अन्य वडा कार्यालयहरु निर्माणका लागि सघीय समपूरक अनुदान मागका लागि प्रक्रिया अघि वढाइएको छ ।
१५नगरका गतिविधिहरु र सेवा प्रवाह प्रणालीलाई प्रविधिमैत्री वनाउन समयानुकूल कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आफ्नो कार्य वोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी नगरपालिकाको संगठन संरचना स्वीकृत आगामी नगरसभावाट गर्न आवश्यक प्रक्रिया अघि वढाइएको छ । जसका कारण कर्मचारीहरुको कार्य विवरण निर्दिष्ट भई सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी भई नगरवासीहरुले सरल र सहजरुपमा गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनेमा विश्वासत रहेको छु ।
१६सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी र जनसहभागितामूलक बनाई प्रभावकारी ढङ्गले सार्वजनिक सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति दिन सम्पुर्ण सूचना तथा जानकारी यस नगरपालिकाको web side- www.manthalimun.gov.np र Facebook page मा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन गर्ने, नागरिक वडापत्र, गुनासो पेटिका, कार्यालय भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ । साप्ताहिक रुपमा स्थानीय रेडियोहरुवाट नगरका गतिविधिहरु सार्वजनिक गर्न हाम्रो मन्थली नामक कार्यक्रम सञ्चालन र सूचनाको हकसँग सम्वन्धित त्रैमासिकरुपमा स्वत प्रकाशन गरी आफ्ना गतिविधिहरुलाई सार्वजनिक गर्दै आएको छ साथै नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।
१७ नेपाल सरकार अन्तर्गतका विभिन्न सशर्त कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्नका लागि तोकिए अनुसारका जनशक्ति सेवा करारमा पदपूर्ति गरी कार्यक्रम कार्यान्वयन गरिएको छ ।
१८ नगरसभा, कार्यपालिका र विषयगत समितिहरुको वैठक नियमित रुपमा तोकिएको समयमा वसी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमनमा सहभागिता जनाउने र उक्त समितिको निर्णयहरु तत्काल सार्वजनिक गर्ने पद्धतिको विकास गरिएको छ साथै नगरभित्रका र वडाका कर्मचारीहरुको नियमित समीक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
१९ जिल्ला सदरमुकाममा अवस्थित मन्थली वजारलाई सुरक्षित गर्ने अभिप्रायले मुख्य मुख्य स्थानहरुमा सि. सि क्यामराहरु जडान गरी निगरानी कक्ष जिल्ला प्रहरी कार्यालयमा राखी मन्थली वजारलाई सुरक्षित सहरको रुपमा विकास गर्ने प्रत्यन गरिएको छ ।
आर्थिक विकास तर्फ :
२० नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा सम्पत्ति करका अलवा अन्य आन्तरिक आयका मुल श्रोतहरु दहत्तर वहत्तर कर, घर नक्शा पास र अभिलेखीकरण, व्यवसाय दर्ता तथा नवीकरण, विभिन्न सिफारिस, धितो मूल्याङ्कन, आय श्रोत प्रमाणित जस्ता क्षेत्रहरु थप गरी सोको दायरामा समेत वृद्धि गरी आन्तरिक राजश्व संकलनमा उल्लखनीय वृद्धि भएको छ । अघिल्लो आ व २०७७/०७८ मा १३९% र यस आ व को पहिलो चौमासिकमा ४८.०१ % राजश्व संकलन भएको व्यहोरा जानकारी गराउँद छु ।
२१ रु.पाँचलाख सम्म पूँजी भएका उद्योगहरु नगरपालिकावाटै दर्ता गर्ने, नगरपालिका क्षेत्र भित्र काम गर्ने सहकारी संस्थाहरुलाई सूचिकृत गराई अभिलेख ब्यवस्थित गर्ने र स्थान, उद्देश्य र कारोवार समान भएका सहकारी संस्थाहरुको एकीकरण गर्ने कार्यको सुरुवात गरी तीन खम्वे अर्थ नीति अनुरुप निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको छ । युवा व्यवसाहीको व्यवसायलाई प्रवर्द्धन गर्न युवा उद्धम कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जसले आर्थिक विकासको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिएका छन् ।
२२नगरको सबै क्षेत्रमा मकै बालीमा देखा परेको अमेरिकन फौजी कीरा र सुन्तला, जुनारमा क्षति पुर्याउने फल कुहाउने औंसा कीरा नियन्त्रणको लागि कृषि ज्ञान केन्द्र, सम्बन्धित वडा कार्यालयहरुसँग समन्वय गरी कृषकहरुलाई व्यवस्थापनका उपायहरुको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक विधिहरु समेत प्रदान गरिएको छ।
२३यस नगरपालिकामा दर्ता/सूचिकृत भएका सहकारी, कृषक समूह, कृषि फर्महरुलाई बीउ विजन, कृषि औजार, विषादी वितरण गर्नुका साथै च्याउ उत्पादन, तरकारी उत्पादनका लागि संरचना निर्माणमा किसानहरुलाई अनुदानका कार्यक्रमहरु संचालन गरिएको छ ।
२४.सामुदायिक छाडा कुकुर नियन्त्रणका लागि वन्ध्याकरण र रेविज रोग, एक वडा एक रेविज रोग र स्थलगत परजिवी नियन्त्रण कार्यक्रम सञ्चालन गरी नगरवासीलाई सुरक्षित वातावरणको सुनिश्चित गरिएको छ ।
२५ नश्ल सुधार (कृतिम) को कार्यक्रम र पशु आहारामा प्रयोग हुने उन्नत जातका विउ ,वेर्ना, सेट्स र दुध उत्पादनमा आधारित अनुदान वितरण प्रणालीको शुरुवात गर्नुका साथै ७०% लागत साझेदारीमा गाई प्रवर्दन कार्यक्रम अन्तर्गत ३ वटा सहकारीमा ५० माउ गाई वितरण, ५ वटा बाख्रापालन कृषक समुहमा १५० वटा बाख्रा र १० वटा उन्नत जातको बोका वितरण , ७०% लागत साझेदारी मै बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (बाख्रा पकेट) अन्तरगत छनौट भएको कृषि सहकारी संस्थाको ३० जना सदस्यहरुलाई ३ वटाको दरले ९० वटा बाख्रा र ६ वटा वोका वितरण गरिएको छ । जसवाट नगरपालिका दुध र मासुमा आत्म निर्भर हुन टेवा पुगेको छ ।
२६ दुध उत्पादन गर्ने गाई भैसी पालन गर्ने किसानहरुलाई प्रोत्साहित गर्न पशु वीमा अनुदान, भैसीमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता , दुध उत्पादन गरी विक्री वितरण गर्ने किसानहरुलाई प्रति लिटर रु २/ अनुदान र सम्भव भएसम्म प्राविधिक सेवा गोठ खोरमा उपलव्ध गराइएको छ ।
२७ वैदेशिक रोजगार तथा उच्च शिक्षा आर्जनका लागि विदेश जाने सोच वनाएका व्यक्तिहरुलाई परामर्श सेवा, आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता शिक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरी सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना अभिवृद्धिका साथै नगरवासीलाई सचेतीकरण गर्न सामी/ रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । वैदेशिक रोजगारको अवस्था सम्बन्धी नगरप्रोफाईल निर्माण भएको छ ।
२८ गरिवी निवारणका लागि लघु उद्दम विकास कार्यक्रम कार्यान्वयनका लागि नगर उद्दम विकास समिति गठन । वडा नं. २, ४, ५ र ९ कार्यक्रम सञ्चालनका लागि छनौट गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ । जसवाट उद्धमीहरु विकास भई आर्थिक उत्पादनमा सहयोग पुगेको छ ।
२९ पराम्परागत रुपमा म्यानुअल लेखाङ्कन तथा अभिलेखन व्यवस्थापन भइरहेको सन्दर्भमा वास्तविक आय, व्यय र मौज्दातको एकिन गर्न कठिन भई वित्तीय प्रतिवेदन गर्न समेत कठिन भएको अवस्थामा आ.व.०७६/७७ देखि स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SuTRA), CGAS, Online Vouching, PAMS लगायतका अनलाईन सफ्टवेयर सञ्चालनमा ल्याई एकीकृत आय-व्यय तथा अन्य वित्तीय प्रतिवेदन गर्न सहज भएको छ । यसबाट वित्तीय जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता, मितव्ययिता, नियमितता तथा कार्यदक्षता समेत प्रबर्द्धन हुँदै गइरहेको स्थिति छ भने वित्तीय संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्न समेत सफल हुँदै गएको अबस्था छ । साथै प्रत्येक मसान्तमा खर्च विवरण सार्वजनिक गरिदै आएको व्यहोरा समेत स्मरण गराउन चाहान्छु ।
सामाजिक विकास :
३०.आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क वनाउने उद्धेश्यका साथ शैक्षिक कार्यक्रमहरु सञ्चालन भएका छन् । फलस्वरुप आगमी शैक्षिक सत्रमा विद्यालय उमेरका वालवालिकाहरु विद्यालय वाहिर नरहेको सुनिश्चितता घोषणाको तयारीको कार्यहरु भईरहेको छ । हाल कक्षा १-८ मा ५-१२ उमेर समूहका वालवालिकाहरुमध्ये ९५% भन्दा वढी वालवालिकाहरु विद्यालय भर्ना भएका छन् ।
३१नगर शिक्षा समितिको नियमित वैठक वसी शिक्षा सुधारका लागि शैक्षिक सरोकारवालाहरुसँग ४० वुँदे प्रतिवद्धता, विद्यालयका प्रधानाध्यापक र नगर प्रमूख वीच भएको कार्य सम्पादन सम्झौता, विद्यार्थी सख्याका आधारमा शिक्षक दरवन्दी मिलान, विद्यालयमा वालमैत्री कक्षाकोठा ब्यवस्थापन, कक्षा ८ को परीक्षा ब्यवस्थापन, स्थानीय पाठ्यक्रम निर्माण र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको व्यवस्थापन जस्ता कार्यहरु सम्पन्न भएका छन् । जसवाट शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुगेको नतिजाहरु देखिन थालेको छ ।
३२.यस नगरभित्र अवस्थित मन्थली माध्यमिक विद्यालय मन्थलीमा सञ्चालित विज्ञान धारमा कक्षा ११ र १२ मा अध्ययन गर्ने नगरवासी ३२ जना वालवालिकाहरुलाई नि:शुल्क अध्ययन गर्ने वातावरण मिलाएका छौ । जसले आधारभूत तहमा विज्ञान र गणित शिक्षकको अभावलाई परिपूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिक्षक, विद्यालय कर्मचारी र वाल विकास सहजकर्ताहरुको छनौटमा नगर भित्र एकरुपता कायम गर्न कार्यविधि जारी गरिएको छ ।
३३. सम्वन्धित निकायहरुसँगको समन्वय र सहकार्यमा विनासकारी भुकम्पले क्षतिग्रस्त भएका १९ वटा माध्यमिक विद्यालयहरुमध्ये ११ वटा माध्यमिक विद्यालयहरुको पूर्णरुपमा पुननिर्माण भएको , २ वटाको पुर्ननिर्माण कार्य भइरहेको र ६ वटा माध्यमिक विद्यलायहरुमा आंशिकरुपमा पुर्ननिर्माण भएको छ । अधिकांश आधारभूत विद्यालयहरुको पुर्ननिर्माण कार्य सम्पन्न भएका छन् । विशेषगरी विद्यार्थी सख्या उल्लेख्य भएका माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय र सूचना प्रविधिको व्यवस्था र आधारभुत विद्यालयहरुमा सूचना प्रविधिको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण पद्धतिमा जोड दिने वातावरण निर्माण गरिएको छ ।
३४.स्वास्थ्य सेवालाई सवै नगरवासीको पहुँचमा पुर्याउन दुर्गम वस्ती तथा टोलहरुमा ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र ९ वटा शहरी स्वास्थ्य केन्द्रहरुको स्थापना गरी नगरवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा पाउने वातावरणको सुनिश्चित गरिएको छ । साथै आम नगरवासीको चाहना अनुरुप प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको स्तरोन्नति गरी अस्पतालको रुपमा मन्थली अस्पताल सञ्चालन गर्ने वातावरण निर्माण गरिएको छ ।
३५स्वास्थ्य संस्थाहरुमा अत्याधुनिक औजारहरुको व्यवस्थापन गर्नुका साथै स्वास्थ्यकर्मीहरुलाई समयानुकूल क्षमता अभिवृद्धिमा जोड दिइ गुणस्तरीय स्वास्थ्य सेवामा अभिवृद्धि हुदै गएको छ । यसका सकारात्मक प्रभावहरु देखिन थालेका छन् ।
३६स्वास्थ्य संस्थाहरुमा २४ घण्टे प्रसुती सेवाको प्रवन्ध र सुत्केरीसँग उपमेयर कार्यक्रम सञ्चालनवाट स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने सख्यामा वृद्धि भई मातृ मृत्यु दर र शिशु मृत्यु दरमा उल्लेखनीय कमी आएको छ । आकस्मिक जटिलतायुक्त प्रसुती शल्याक्रिया सेवा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा सञ्चालन गरी जिल्ला वाहिर पुर्याउनु पर्ने वाध्यात्मक अवस्थाको अन्त्य भएको छ । स्वास्थ्य विमा कार्यक्रममा दलित महिला, एकल महिला र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई ५०% अनुदान सहयोग गरी स्वास्थ्य वीमा कार्यक्रम मार्फत नागरिकहरुको स्वास्थ्य उपचारको सहज वातावरण निर्माण गरिएको छ । विमित विरामीको उपचार एकद्धारवाट गर्ने गरी प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा एक्सरे, फार्मेसी सेवा र प्रयोगशाला विस्तार गरिएको छ ।
३७विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनको सन्दर्भमा हेल्पडेस्क सञ्चालन, स्वास्थ्य परीक्षण, PCR परीक्षण र संक्रमित व्यक्तिहरुलाई आवश्यक व्यवस्थापन गर्न क्वारेन्टाइन, होल्डिङ्ग सेन्टर र आइसोलेसनको स्थापना गरिएको छ । हालसम्म Antigen परीक्षण ५६४ जना, PCR परीक्षण १८१० जना र कोभिड प्रभावित ७४१ जनालाई उपचार गरिएको छ । उपचार गर्दा गर्दै पनि ४ जनाले ज्यान गुमाउनु परेको दुखद् अवस्था रहयो । कोभिड १९ नियन्त्रण र रोकथाममा जोड दिई ठूलो धनजनको क्षतिवाट नगरवासीहरुलाई सूरक्षित गर्नुका साथै उक्त महामारीवाट वच्न खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरी १८ वर्ष भन्दा माथिका उमेर समूहका सम्पूर्ण नागरिकहरुलाई खोप लगाउने वातावरण निर्माण गरिएको छ । हालसम्म पूर्ण मात्रा खोप १६६७६ जनाले लगाएका छन् भने पहिलो मात्रामात्र लगाउने १०१४ जना रहेका छन् । कोभिड-१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनमा खटिने १२२ जना स्वास्थ्य कर्मीहरुलाई जोखिम भत्ता उपलव्ध गराइएको छ ।
३८ नगरपालिका भित्रका सम्पूर्ण नागरिकहरुको मृगौला परीक्षण गर्नका लागि राष्ट्रिय मृगौला केन्द्रसंग सहकार्य गरिनुका साथै डाईलोसिसको लागि तामाकोशी सहकारी अस्पताल लगायतका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने गरी MoU भइ सकेको छ । रोगको समय मै पहिचान भै समय मै उपचार गरी गम्भिर रोगवाट वच्न सहज होस भन्ने उद्देश्यले “स्वस्थ मृगौला स्वस्थ मन्थली “ अभियानका क्रममा मृगौला परीक्षणको कार्य यही २०७८ साल पौष १ गतेदेखि माघ मसान्तसम्म स्वास्थ्य संस्थाहरुमा हुने गरी कार्यक्रम तय भएको छ
३९प्रदेश सरकारसँगको समन्वयमा अत्याधिक विद्यार्थी भएका तीन वटा विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक आँखा केन्द्र मन्थलीद्धारा नगर भित्रका सवै माध्यमिक विद्यालयहरुमा अध्ययन गर्ने वालवालिकाहरुको आँखा परीक्षण गर्ने वातावरण निर्माण गरिएको छ ।
४०वाल विवाह, लैगिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी नगरलाई वाल विवाह मुक्त नगरको रुपमा स्थापित गर्ने वातावरण निर्माण गरिएको छ । हिंसा पीडितको तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि अल्पकालीन सेवा केन्द्रको स्थापना गरिएको छ ।
४१वालमैत्री नगरपालिका घोषणका लागि वालमैत्री स्थानीय शासन कार्यविधि मार्फत नगरका वालमैत्री सूचकहरु निर्धारण गरी सो अनुरुपको कार्य व्यवहार गर्ने वातावरण निर्माण गरिएको छ ।
४२.अपाङ्गता भएका ब्यक्तिहरु तथा जेष्ठ नागरिकहरुलाई सम्वन्धित वडा मै शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरिएको र सम्भाब्य ब्यक्तिहरुलाई तत्काल सामाजिक सुरक्षा भत्तामा आवद्ध गरिएको छ ।
४३नगर भित्र ७० वर्ष माथिका ३०४२ जनालाई जेष्ठ नागरिक भत्ता, ६० वर्ष माथिका २९१ जनालाई जेष्ठ नागरिक भत्ता ( दलित) , ६० वर्ष माथिका ५४३ जना जेष्ठ नागरिक एकल महिला , ६४७ जनालाई विधुवा एकल महिलालाई आर्थिक सहायता, शारीरीक रुपमा कमजोर भएका व्यक्तिहरुमध्ये पूर्ण अपाङ्ग (क) वर्ग १२० जना, (ख) वर्ग २१८ जना र दलित वालवालिका ६४७ जना गरी ५५०८ जना सामाजिक सुरक्षा भत्ता कार्यक्रममा समावेश भएका छन् । सवै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई वैकिङ्ग प्रणालीमार्फत उपलव्ध गराइएको छ ।
पूर्वाधार विकास तर्फ:
४४.निजी घरमा ८ वटा कोठा भाडामा लिइ कार्यालय सञ्चालन गरिरहेकोमा नगरपालिकाले आफ्नै प्रशासकीय भवन र नगर प्रमुख आवास भवन निर्माण कार्य सम्पन्न गरेको छ । वडा कार्यालय नभएका वडाहरु मध्ये ३ वटा वडा कार्यालय भवनहरु निर्माण कार्य सम्पन्न भएका छन् । ट्राफिक चोकमा व्यापारिक भवन निर्माण गरी भाडामा लगाइएको छ । एउटा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको र ३ वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य समेत सम्पन्न भएको छ । त्यसै गरी भूकम्प पश्चात निजी आवास पुन निर्माण लाभ ग्राही सूचीमा नाम समावेश भइ अनुदान सम्झौता गरेका ९५ प्रतिशत लाभग्राहीहरुको भवन निर्माण कार्य सम्पन्न भएको छ ।
४५विधुत सेवा नपुगेका नगरपालिकाका वडा न २, ३, ६ र ७ का केही वस्तीहरुमा विधुतीकरण गरिएको छ । यस कार्य पश्चात नगरपालिकाका सवै टोल वासीहरुले विधुत सेवा उपयोग गर्ने वातावरण वनेको छ । नगरलाई उज्यालो शहरको रुपमा विकास गर्न वजार क्षेत्रमा मठ मन्दिरहरुमा ५० भन्दा वढी सौर्य वत्तिको व्यवस्थापन गरी उज्यालो प्रवर्द्धनमा जोड दिएको छ ।
४६खेलकुद गतिविधिलाई प्रभावकारी रुपमा अगाडि वढाउन प्रदेश सरकारको सहयोगमा अत्याधुनिक कभर्डहल निर्माण भइरहेको छ । त्यसैगरी कृषि उपजको संकलन र भण्डारण गरी विक्री वितरणमा सहजता ल्याउने अभिप्रायले प्रदेश सरकारसँगको साझेदारीमा शित भण्डारण केन्द्रको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको छ । कृषि उपज भण्डारणका लागि प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा ४ कोठे गोदाम घर निर्माण कार्य सम्पन्न भएको छ ।
४७वाह्रै महिना सञ्चालनमा आउन नसकेका वडा कार्यालय जोड्ने सडक निर्माण र स्तरउन्नोतिमा उल्लेखनीय फड्को मारिएको छ । सघीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा मन्थली वजार क्षेत्र भित्रका सडकहरु कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नगर भित्रका मुख्य सडकहरु मध्ये मन्थली सुनारपानी सालु , भुत्याखोला टेकनपुर कठजोर ठाटी सडक, चिसापानी गेलु सिक्राल सडक, चिसापानी पुरानाँगाउँ सडक, चिसापानी चनखु सडक, देविटार फुलासी सडक ,आकासेपुल भटौली सडक, मन्थली भलुवाजोर सडक र मन्थली सानी मदौ राहालटार सालु सडक कालोपत्रे गर्ने कार्य शुरु भई क्रमागत योजनाको रुपमा स्थापित भएका छन् । सम्भवत: हाम्रो कार्यकाल भित्र सम्पन्न गरिने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म नगर भित्र संघ , प्रदेश र यस नगरपालिका समेतको लगानीमा ६४.९७६ किलो मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ भने ३५.९४३ किलो मिटर सडक ग्राभेल तथा सोलिङ्ग गरिएको छ ।
४८नगरभित्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाहरुलाई संरक्षण तथा सम्वर्द्धन गरी पर्यटक प्रवर्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यहरु भइरहेको छ । पुरानागाँउ वाउनचुरा वैरा महादेव (थानापति) मन्दिरलाई लक्षित गरी सिढी निर्माण, रेलिङ्ग, प्रतिक्षालय, खानेपानी निर्माणका कार्यहरु अन्तिम चरणमा पुगेको छ । यस आ व मा सार्वजनिक शौचालय निर्माणका लागि वजेट विनियोजन गरिएको छ । भिमसेनथान र चिसापानी गढीलाई लक्षित गरी फुटट्याक निर्माण र भलुवाजोरको तिल्केस्थानगढीलाई लक्षित गरी प्रदेश सरकारसँगको साझेदारीमा क्रमागत रुपमा योजनाहरु सञ्चालन भइरहेका छन् । नगरको महत्वपूर्ण गौरवको आयोजनाको रुपमा वाल उद्यान सहितको तीनलाल पार्क संघीय सरकारको साझेदारीमा निर्माण भइरहेको छ र उक्त कार्य यही फाल्गुणमसान्तसम्म सम्पन्न हुने प्रतिवद्धता निर्माण व्यवसायीले जनाएको छ ।
४९नगरवासीहरुलाई खानेपानीको व्यवस्थापन गर्न संघ र प्रदेशसँग समन्वय गरी लिफ्टिङ्ग एंव डिपवोरिङ्ग र खेती योग्य जमिनमा सिचाँई प्रवर्द्धनका लागि लिफ्टिङ्ग डिप एंव वोरिङ्ग प्रविधि मार्फत खानेपानी र सिचाईको वन्दोवस्त गरिएको छ ।
५०.नगरभित्र सञ्चालित आयोजनाहरुलाई उपभोक्ता, वडा र नगरस्तरवाट अभिमुखीकरण गरी ३ तहको अनुगमनको ब्यवस्था गरिएको र यस्तो अनुगमनलाई नतिजामूलक वनाउन प्रयासहरु भएकाछन् ।
वातावरण तथा विपद तर्फ :
५१ नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनस्थापनाका कार्यमा जोड दिइएको छ । वर्षादका कारण अवरुद राजमार्गहरुलाई सुचारु गर्न यथासक्य व्यवस्थापन गरिएको छ ।
५२नगर भित्र रहेका वारुणयन्त्र, एम्वुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखिएको छ । अन्तरपालिका समन्वय र सहकार्य गर्ने अभिप्रायले रामेछाप नगरपालिकासँग वारुणयन्त्र सञ्चालनका लागि MoU भएको छ ।
५३ वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसगँको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्वर्द्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माणमा जोड दिएको छ ।
विधेयक समिति/ कानुन तर्फ
५४ संविधान र कानुन अनुरुप नगरपालिकालाई प्राप्त अधिकारको अभ्यास गर्न आवश्यक कानुनको निरन्तर तर्जुमा तथा संशोधन गरिएको छ । न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको छ । उजुरीको सुनुवाईको लागि ईजलासको व्यवस्था गरिएको छ । नगरपालिका विरुद्ध विभिन्न अदालतमा परेका ५ वटा उजुरीहरु मध्ये हालसम्म भएका ४ वटा फैसला नगरपालिका कै पक्षमा भएका छन् ।
५५ नेपालको संविधानले निर्द्धिष्ट गरेका अधिकारहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा २४ वटा ऐन, ४ वटा नियमावली, २९ वटा कार्यविधिहरु र १ वटा निर्देशिका जारी गरिएको छ । जारी भएका ऐन कानुनलाई समयानुकूल ५ वटा परिमार्जन गरिएको छ ।
५६ न्यायिक कार्यमा सहजता ल्याउन वडा स्तरमा रहेका मेलमिलाप केन्द्रहरुलाई सुदृढीकरण र सहजकर्ताहरुको क्षमता विकासगरी क्रियाशील तुल्याइएको छ ।
समस्या तथा चुनौतिहरु
५७अनलाईन प्रणाली(SuTRA)मा खर्च लेखाङ्कन भए तापनि असार मसान्त सम्म भुक्तानीकै काम गर्नु पर्ने भएकोले अनुदानको निकासा तथा राजस्व प्राप्तिको आम्दानी बाँध्न नसक्दा एकिकृत आय व्ययको वित्तीय प्रतिवेदन नआउने अबस्था रहेको ।
५८पुँजीगत तर्फको असार २० र चालु तर्फको असार २५ भित्र मात्रै भुक्तानी गरी लेखाङ्कन अभिलेखन तथा वित्तीय प्रतिवेदन तयारीको लागि समय व्यबस्थापन गर्ने भन्ने नीतिगत निर्णय तथा तालुक निकायको निर्देशन कार्यान्वयन गर्ने वातावरणको सिर्जना हुन नसक्नु।
५९टुक्रे योजनाको संख्या बढी भएको कारण कार्यान्वयन तथा गुणस्तर कायम गर्न प्राविधिक समस्या रहनु।
६०नगर गुरु योजनाको अभावमा अल्पकालीन र दीर्घकालीन योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन हुन नसक्नु ।
६१योजना छनौट कै चरणमा गहन छलफल हुन नसक्दा योजना कार्यान्वयनको चरणमा योजना परिवर्तन हुने परिपाटीले कार्यान्वयनमा समस्या हुनु ।
६२संघ, प्रदेश, प्रदेश तथा स्थानीय पूर्वाधार साझेदारी तथा अन्य निकायबाट प्राप्त हुने योजनाको समयमा नै वजेट निकासा नहुनु ।
६३कोभिड १९ को संकट र लकडाउनका कारण शैक्षिक कार्यक्रम र गतिविधि अवरुद्ध भई सहजरुपमा शैक्षिक गतिविधिहरु अगाडि वढ्न नसक्ननु ।
६४वडा कार्यालयमा पुराना अभिलेखहरु नभेटिदाँ सवै वडाहरुमा अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ता गर्ने कार्य प्रभावकारी हुन नसकेको अवस्था छ ।
६५सघ र प्रदेशवाट निर्माण हुनु पर्ने कानुनहरु समयमा नै निर्माण नहुँदा कार्य सम्पादनमा समस्या हुनु ।
६६विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरुलाई पुरस्कृत एंव सम्मान गर्न, सहयोग एंव आपतकालिन कार्य सञ्चालनका लागि विनियोजित रकमवाट कोष सञ्चालन हुन नसक्नु ।
समस्या समाधानका लागि लिइएका पहल कदमीहरु
६७ विषयगत क्षेत्रसँग सम्वन्धित वार्षिक योजना निर्माण गरी प्राथमिकताको आधारमा कार्यान्वयन गरिएको
६८ विषयगत समितिहरुलाई क्रियाशिल र जिम्मेवार बनाइएको ।
६९योजना निर्माणका सवै चरणहरु पूरा गरेर नगर सभाबाटै सवै योजनाहरुको स्पष्ट पहिचान गरी टुंगोमा पुग्ने पद्धतिको विकास गरिएको ।
७०योजना कार्यान्वयनको चरणमा योजना संशोधन गर्ने परिपाटी पूर्णत अन्त्य गर्न छलफल र वहसको विषय वनाइ अन्त्य गर्न प्रयास गरिएको ।
७१जनशक्तिको समय सापेक्ष क्षमता विकास र प्रोत्साहनको व्यवस्थाको संस्थागत सुनिश्चितताको प्रयास गरिएको ।
७२ योजना निर्माण गर्दा ठोस नतिजा दिने ठूला र क्रमागत योजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गरिएको ।
अव म हामीहरुको वाकी कार्यकालमा गर्नु पर्ने महत्वपूर्ण कार्यहरु संक्षिप्तमा राख्न चाहान्छु ।
- आधारभूत तहको शिक्षामा विद्यालय उमेर ५-१२ वर्षका वालवालिकाहरु विद्यालय वाहिर नरहेको सुनिश्चित गर्न, वाल विवाह मुक्त नगरको रुपमा स्थापित गर्न र वालमैत्री नगरपालिका घोषण गर्न का लागि आवश्यक पूर्व आधारहरु तयार गर्न जोड ।
- नगरको कर्मचारी संरचनाका लागि सँगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत कर्मचारीहरुको कार्य विवरण निर्धारण गरी जिम्मेवार र जवाफदेही वनाउन ।
- नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुख एव शाखा प्रमुखहरु, सस्था प्रमुखहरुका वीचमा कार्य सम्पादन सम्झौता गरी सेवा प्रवाहलाई नतिजामा आधारित वनाउनु ।
- नगर कार्यपालिकाको कार्यालय र वडा तहमा रहेका वडा कार्यालय, स्वास्थ्य सस्थाहरु र विद्यालयहरुसँग नेट वर्किङ्ग गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउनु ।
- वडा कार्यालयहरुमा राजश्व सङ्कलन र व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली मार्फत सेवा सुदृढीकरण ।
- नगरको समग्र विकासको गुरुयोजना सहितको आवधिक योजना निर्माण गरी समयमै सार्वजनिक गर्नु ।
- फोहोर मैला प्रशोधन केन्द्रको स्थापनाका लागि पूर्व आधारहरु तयार ।
- वस पार्कको अत्याधुनिक व्यवस्थापन
आदरणीय उपस्थित महानुभावहरु,
यस नगरपालिकाले नगरको सुदृढ अर्थतन्त्र, सक्षम जनशक्ति निर्माण, ब्यवस्थित, दिगो, सन्तुलित, समावेशी, जनमुखी, नतिजामुखी र सामाजिक न्यायमा आधारित विकास, प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गरी समृद्ध मन्थली नगर वनाउने ध्येय राखी कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौ । सबै खाले सामाजिक विभेदको अन्त्य, नागरिकको सवलीकरण, आधुनिक ज्ञान, सीप तथा नवप्रवर्तनमा आधारित उत्पादन प्रणाली, प्रविधि विकास मार्फत उत्पादकत्व वृद्धि र लाभहरुको समानुपातिक वितरणको अवस्था तर्फ अधिकतम पहल गरी संविधानले परिकल्पना गरेको समाजवादको मार्ग प्रशस्त गर्न नगरपालिका कटिवद्ध छ । यस गरिमामय कार्यक्रममा उपस्थित सवै महानुभाव प्रति हार्दिक स्वागत गर्दै सम्मृद्ध नगर निर्माणको अभियानमा साथ सहयोग गर्न हुन हार्दिक अपिल गर्दछु ।
धन्यवाद