रामेछाप । २०८१ असोज दोस्रो साता (१०–१२ गते) सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । अविरल वर्षा र सुनकोशी नदीमा आएको अभूतपूर्व बाढीले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्की पुलको आधा भाग गल्र्यामगुर्लुम ढल्दा केवल एउटा कंक्रिटको संरचना मात्र भत्किएन, रामेछाप, दोलखा र ओखलढुङ्गाका लाखौँ नागरिकको राजधानी काठमाडौँसँगको सहज पहुँच पनि सँगै बग्यो ।
एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७१÷०७२ मा अनक, बाइपि, तुण्डी जेभीले निर्माण पूरा गरेको यो पुल रामेछापको ‘लाइफलाइन’ नै थियो । पुल बनेपछि सदरमुकाम मन्थलीबाट काठमाडौँ पुग्ने दूरी झन्डै ७५ किलोमिटरले छोटिएको थियो । तर, असोज दोस्रो साता मध्याह्नको त्यो एउटा क्षणले दुई जिल्लाको सडक सञ्जाललाई वर्षौँ पछाडि धकेलिदियो ।
पुल बगेपछि रामेछापवासीले निकै सास्ती भोगे । बिरामीलाई काठमाडौँ लैजान दोलखाको चरिकोट–खाँडिचौर हुँदै लामो यात्रा तय गर्नुप¥यो । सडक सम्पर्क विच्छेद भएपछि स्थानीय आक्रोशित र चिन्तित थिए । तर, चौतर्फी दबाब र जनचाहनाका बीच नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय जनप्रतिनिधिको अग्रसरतामा उक्त स्थानमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइयो ।
सवारी साधनहरू बेलिब्रिज हुँदै वारपार गर्न थालेपछि रामेछापवासीलाई ठूलो राहत मिलेको छ । तर, यो स्थायी समाधान भने होइन । स्थानीय नागरिक अगुवाहरू यसलाई सरकारको तदारुकता र व्यक्तिगत पहलकदमीको परिणाम मान्छन् ।
रामेछापका स्थानीय बासिन्दा मोहन कार्की भन्छन्, “नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ’कान्छाराम’ ले व्यक्तिगत रूपमै चासो दिएर हतार–हतार बेलिब्रिज जडान गराइदिनुभयो र मात्रै यत्तिको सहज भयो । नत्र सरकारी अड्डाको ढिलासुस्ती र आलटाल हेर्दा यो पुल त २०९० सालसम्म पनि बन्ने छाँट थिएन । नेताले चाहे भने काम द्रुत गतिमा हुन सक्ने रहेछ भन्ने यसले देखाएको छ, तर हामीलाई जतिसक्दो चाँडो पहिलेको जस्तै स्थायी पक्की पुल चाहिएको छ ।“
बेलिब्रिजले तत्कालका लागि साना र मझौला सवारी साधनलाई बाटो खोले पनि भारी मालवाहक सवारीका लागि यो सधैँ सुरक्षित र भरपर्दो नहुने सरोकारवालाहरू बताउँछन् ।
यातायात व्यवसायी रमेश थापाको बुझाइ फरक छ । उनी भन्छन्, “बेलिब्रिज बनेर गाडी गुड्न थालेपछि बजारमा सामानको हाहाकार हुन पाएन, यो सकारात्मक पक्ष हो । तर, वर्षायाम सुरु भइसकेको छ । सुनकोशीमा फेरि पानीको बहाव बढ्दा बेलिब्रिज कत्तिको सुरक्षित रहला भन्ने डर सधैँ रहिरहन्छ । फेरि ठूला मालवाहक ट्रकहरू ल्याउन यसमा समस्या हुन्छ । त्यसैले सरकारले अस्थायी बेलिब्रिजमा मात्रै चित्त बुझाएर बस्नु हुँदैन, स्थायी पुल निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ ।“
विगत लामो समयदेखि मन्थली–काठमाडौँ रूटमा सुमो चलाउँदै आएका चालक सुवास श्रेष्ठ पुल बग्दा र बन्दाको सास्तीका प्रत्यक्षदर्शी हुन् । श्रेष्ठ आफ्नो अनुभव सुनाउँछन्, “पुल बगेका बेला चरिकोटको बाटो जाँदा समय र इन्धन दुवै दोब्बर लाग्थ्यो, यात्रुहरू बिरामी पर्दा बाटोमै ज्यान जाने जोखिम हुन्थ्यो । अहिले बेलिब्रिज बनेपछि ५ घण्टामै काठमाडौँ पुगिन्छ, ढुक्क भएको छ । तर, बेलिब्रिजमा एकपटकमा एउटा मात्र गाडी पास गराउनुपर्ने र गति सीमित गर्नुपर्ने बाध्यता छ । पुलमा जतिबेला पनि जाम हुने डर हुन्छ । हाम्रो एउटै प्रश्न छ, खुर्कोटमा पहिलेकै जस्तो दुईतर्फी गाडी कुद्ने बलियो पक्की पुल हामीले कहिले देख्न पाउँछौँ होला?“
विपद्का बेला ’कान्छाराम’ तामाङको नेतृत्वमा राज्यले देखाएको तदारुकता र बेलिब्रिज निर्माणको कदम प्रशंसनीय छ । यसले संकटमा मलमपट्टीको काम त गरेको छ, तर रामेछाप, दोलखा र सिन्धुलीका नागरिकको स्थायी भरोसाका लागि खुर्कोटमा फेरि पुरानै स्वरूप र क्षमताको वा सोभन्दा बलियो पक्की पुल बन्नु अनिवार्य छ ।




