प्रकृतिको नियम हो परिवर्तन र परिमार्जन । प्रकृतिप्रदत्त जुन सुकै शक्तिले व्यवधानको प्रयास गरेता पनि प्राकृतिक नियम आफ्नै अपरिवर्तनीय चक्रमा क्रियाशील रहन्छ । कथम् कदाचित् बाह्य तत्वले यस प्रक्रियामा तिव्रता थप्ने कार्यमा सहयोग पुर्याउन भने सक्छन् । अन्दाजी ४.६ बिलियन बर्ष पहिला अस्तित्वमा आएको एक मात्र जीवधारक यस ग्रहको भूगर्भीय एवम् जैविक विशेषताहरुमा क्रमिक परिवर्तन आएको कुरा भूगोलविद्हरुले पुष्टि गरेका छन् । हेडियन नीहारिकाबाट सुरु भएयता यस ग्रहले थुप्रै युग पार गरिसकेको छ । साथै मानव सभ्यताको पछिल्लो चरणसम्म आईपुग्दा पृथ्वी मात्र नभई यससँग सम्बन्धित सम्पूर्ण प्रणालीमा मानवजन्य क्रियाकलापको प्रभाव पनि त्यत्तिकै पर्दै गएको सहजै देख्न सकिन्छ । जीव श्रेष्ठ मानवका दिशाहीन, गैर जिम्मेवार र अवैज्ञानिक गतिविधिहरुले अलौकिक गुण सम्पन्न पृथ्वी र यस सँग ओतप्रोत खगोलीय अवयवहरुमा समेत नकारात्मक असर परेको छ ।
अझ, तथाकथित शक्तिसम्पन्न र अति विकसित राष्ट्रहरु यस मामिलामा पनि अग्र स्थानमा रहेका छन् । उनीहरुका उद्दण्ड गतिविधि र स्वार्थमा लिप्त भएर अनियन्त्रित रुपमा स्रोत–साधनहरुमाथि गरिंदै आएका निम्नस्तरीय क्रियाकलाप र तिनको दोहनले प्राकृतिक सन्तुलनमा नै गहिरो असर परेको छ ।
मानव सभ्यतालाई नै कलङ्कित पार्ने दोस्रो विश्वयुद्ध पछि बदलिएको परिवेशमा संसारले केवल विकास पछ्यायो, तर विकासको एउटा मानक निर्धारण गर्न सकेन । प्रकृतिमा उपलब्ध स्रोतसाधनको व्यापक दोहन गर्ने होडबाजी चल्यो । स्रोत साधनको उपलब्धता र आर्थिक वृद्धि मात्रै विकास होइन भन्ने बुझाइसम्म पुग्न मानिसलाई अरु लगभग तीन दशक लाग्यो ।
तब बल्ल मानवीय जीवन शैलीको अवस्था र गुणस्तरीय जीवनको अनिवार्यता माथि जोड दिइयो । यसका लागि वातावरण संरक्षण, जैविक विविधता र प्रकृतिका अवयवहरु बीचमा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता महशुस गरियो । त्यसैले दीगो विकासको अवधारणा अघि सार्दै सकेसम्म कम स्रोत साधनको उपयोग गरी भावी पुस्तालाई समेत फाइदा पुग्ने खालको विकासमा ध्यान केन्द्रित गरियो । विकासको नाउँमा विनास ननिम्त्याउने अवधारणा संयुक्त राष्ट्रसंघले अघि बढायो । तर पनि स्वार्थान्धताले गर्दा निर्देशनको उलङ्घन गरि स्रोत साधनको चरम दोहन गर्ने, वातावरणका लागि घातक ग्याँसहरु जस्तै कार्वन डाई अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्वन, नाइट्रोजन ट्रिफ्लोराइड, जाइट्रस अक्साइड आदिको मापदण्ड विपरीत अधिक उत्सर्जन गर्ने कार्यले निरन्तरता पाइनै रहेको छ । विश्वभरिका सबै देशहरुलाई अमर्यादित ढङ्गबाट भएनि आफू अरुभन्दा बढी विकसित र शक्तिसम्पन्न बन्ने होडबाजीले नराम्रोसँग गाँजेको देखिन्छ ।
बढ्दो जनसङ्ख्याको व्यवस्थापन र आवश्यकता पूर्ति गर्ने क्रममा स्रोतसाधनको दुरुपयोग हुन पुग्यो ।
नेपाल जस्ता कम विकसित र उद्योग धन्दामा पिछडिएका देशहरुले मात्र हो कार्वन उत्पादनको मापदण्ड भन्दा तल रहेर पुरस्कार प्राप्त गर्ने, विकसित राष्ट्रहरु त तँछाड् मछाड्मा लागि रहने हो । यस्ता गलत सोचयुक्त मानवीय क्रियाकलापले गर्दा आज वातावरणीय क्षेत्रमा थुप्रै समस्याहरु देखा परेका छन् ।
बीसौं शताब्दीको उत्तरार्धमा एकातिर जनसङ्ख्या वृद्धिदरले तीव्रता लिँदै गयो भने अर्कातिर वनजङ्गल फँडानीले व्यापकता पायो । बढ्दो जनसङ्ख्याको व्यवस्थापन र आवश्यकता पूर्ति गर्ने क्रममा स्रोतसाधनको दुरुपयोग हुन पुग्यो । अव्यवस्थित शहरीकरण, मापदण्ड विपरीतका उद्योगधन्दाको स्थापना, फितलो फोहोर व्यवस्थापन र बढी उत्पादनको नाममा कृषि क्षेत्रमा जथाभावी रासायनिक पदार्थ एवम् कीटनाशकको प्रयोग गर्न थालियो । यसका साथै शहर बजारबाट निस्कने फोहोर र कल कारखानाबाट उत्सर्जित हानिकारक रासायनिक फोहोरले वातावरणलाई दुषित् पार्ने काम गरे । आजको समय दौडधुप र व्यस्तताको समय हो । सारा संसार हतारमा भाग्ने क्रममा छ । बिस्तारै मानिस प्रकृतिबाट टाढा टाढा भाग्दैछ र यसै प्रयासमा उसले अत्यधिक मात्रामा जैविक इन्धनको प्रयोग गर्दैछ । यसबाट हुने वायु प्रदुषणले के कस्तो असर गर्छ भन्ने तर्फ सोच्ने फुर्सत् छैन आजको मानिसलाई ।
माछा मासुजन्य खाद्य पदार्थको बढ्दो प्रयोग अर्काे चिन्तनीय पक्ष हो जसले कार्वन उत्पादन गरी विश्व तापक्रम वृद्धिमा टेवा पुर्याइरहेको छ । मानिसले क्षणिक स्वार्थको लागि गरेको वन जङ्गलको फँडानीले एकातिर पारिस्थितिकीय प्राकृतिक सन्तुलन बिगारेको छ भने अर्कातिर प्रकृतिका अमूल्य रचना, वातावरण सन्तुलनका लागि अपरिहार्य वन्यजन्तुको वासस्थान गुमेको छ । थुप्रै जनावरहरु लोप भइसकेका छन् र अन्य केही लोपोन्मुख छन् । पानीको सतह भासिँदै गएकोले नदी, खोल्सी, झरना, कुवा, ताल, तलैया सुक्दै गएका छन् । त्यस्तै मानवीय क्रियाकलापले जल प्रदूषण पनि अत्यधिक बढेकाले जलचरको जीवन प्रभावित बनेको छ । यसबाट पनि जटिल समस्याको सिर्जना भएको देखिन्छ । जहाँ एकातर्फ शुद्ध खानेपानीको अभाव प्राय सबै देशमा हुन थालेको छ भने अर्कातर्फ सुख्खा, खडेरी, अल्पवृष्टि, अनावृष्टि, अतिवृष्टि, साथै यसबाट निम्तिने प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भइरहेको छ । कृषि क्षेत्र प्रभावित हुनाले खाद्य अभाव र खाद्य असुरक्षाको समस्याबाट ग्रस्त मानिस तथा देशहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । जल, जमिन, वायुमण्डल समेत प्रदूषित हुदा बीच बीचमा हुने अम्लीय वर्षाले झन समस्यामा नुनचुक् छर्ने काम गरेको देख्न सकिन्छ ।
पानीको सतह भासिँदै गएकोले नदी, खोल्सी, झरना, कुवा, ताल, तलैया सुक्दै गएका छन् । त्यस्तै मानवीय क्रियाकलापले जल प्रदूषण पनि अत्यधिक बढेकाले जलचरको जीवन प्रभावित बनेको छ ।
सन् १९७० को दशक यता दीगो विकास र वातावरण संरक्षणका क्षेत्रमा सोच विचार गर्न थालेका मानव समुदाय र संयुक्त राष्ट्र सङ्घ मातहतका निकायहरुले केही प्रयास अवश्य गरेका छन् । सन् २००० मा १८८ देशको उपस्थिति र हस्ताक्षरमा ८ उद्देश्य, १८ वटा लक्ष्य र ४८ सूचक सहित “सहस्राब्दी विकास लक्ष्य” को घोषणा गरियो र त्यस कार्यक्रमले वातावरणीय क्षेत्रमा निकै उत्साह जगाउने काम गरेको थियो । नेपालले पनि सोेही नीति निर्देशन अनुसार गरिबी निवारण, प्राथमिक शिक्षा, लैङ्गिक समानता, मातृ स्वास्थ्य, बाल मृत्युदर घटाउने जस्ता केही कार्यक्रममा सकारात्मक पहलकदमी लिएको थियो । तत्पश्चात् सन् २०१५ को सेप्टेम्बरमा तयार गरी २०१६ देखि कार्यान्वयनमा ल्याइएको “दीगो विकासका लक्ष्यहरु” पहिलो कार्यक्रमकै निरन्तरता हो जसमा १९३ राष्ट्रहरुले हस्ताक्षर गरी आ आफ्नो देशमा परिस्थिति अनुरुप लागु गर्दै आएका छन् । जनता, पृथ्वी, समृद्धि, शान्ति, साझेदारी जस्ता महत्वपूर्ण पक्ष समेटिएको उक्त कार्यक्रममा १७ वटा उद्देश्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २४४ वटा सूचकहरु राखिएका छन् । परिस्थति, आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिक एवम् समसामयिक घटनाक्रमले प्रभाव पर्दा उल्लेखित् लक्ष्य प्राप्तिमा समस्या परेको देखिन्छ । वातावरण संरक्षण नगरी मानव जातिका साथै समग्र जीव जगतको सुरक्षा असम्भव छ भन्ने बोध अनुरुप संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९७२ को जुन ५ तारिख देखि १६ सम्म विश्व वातावरण सम्मेलन गरेर ५ जुनलाई विश्व वातावरण दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
त्यस यता हरेक वर्ष जनचेतना मूलक विभिन्न नारा सहित यो दिवस मनाउने गरिन्छ । “भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्व” (२०७५) र “स्वच्छ वायु स्वस्थ जीवन” (२०७६) मा वातावरणीय नारा रहेका थिए ।
मानव जीवहरुमा सर्वश्रेष्ठ प्राणी हो र उसले आफ्नो मात्र फाइदा हेरेर यावत् गतिविधि गर्न मिल्दैन । उसले बसुधैव कुटुम्बकम् को ज्ञानलाई आत्मसात् गरी अघि बढ्नु उसको परम कर्तव्य हो । जल, जमिन, वायु र ध्वनि प्रदूषणको मात्रा रोकथाम र नियन्त्रणमा प्रत्येक व्यक्ति, समुदाय र राष्ट्रले उल्लेख्य भूमिका खेल्नु आजको परम आवश्यकता हो । वातावरण बाँचे जीवनको अर्थ खोज्न सकिन्छ । मानवीय गतिविधिले प्रदूषणमा वृद्धि हुँदै जाँदा पृथ्वी लोकका समग्र जीवनको रक्षा कवच ओजन तहमा प्वाल पर्दै गएको बारे वैज्ञानिकहरुले चेतावनी दिइसकेको सत्यलाई भुल्न मिल्दैन । सूर्यबाट आउने खतरनाक परावैजनी किरणलाई रोकेर हाम्रो जीवनको रक्षा गर्ने ओजनतह क्षतविक्षत हुनबाट रोक्नका लागि र विश्वभर उष्णता नबढोस् भन्नका लागि कार्वनजन्य विषादीको उत्सर्जन होइन यसको नियन्त्रणमा एक ढिक्का भएर लाग्नुपर्ने परम आवश्यकता देखिन्छ ।
मानवीय गतिविधिले प्रदूषणमा वृद्धि हुँदै जाँदा पृथ्वी लोकका समग्र जीवनको रक्षा कवच ओजन तहमा प्वाल पर्दै गएको बारे वैज्ञानिकहरुले चेतावनी दिइसकेको सत्यलाई भुल्न मिल्दैन ।
विभिन्न कालखण्ड र परिवेशमा देखा पर्ने विषाणु र किटाणुहरु प्रदूषणकै प्रत्युत्पादन हो भनेर बुझ्न जरुरी छ । पृथ्वीको जुन भूभाग अलि कम प्रदूषित र स्वच्छ छ । त्यस क्षेत्रका मानिसका साथै जीवजन्तुको जीवन तुलनात्मक रुपले सुरक्षित देखिनुले पनि यसै कुरालाई पुष्टि गर्छ । वर्तमान देखा परेको महामारी पनि वातावरण विनाश र प्रदूषणकै नयाँ रुप हो भनेर मान्ने प्रसस्त आधारहरु छन् । प्रदूषणको अर्काे डरलाग्दो पाटो हो यसले गराउने जलवायु परिवर्तन र विश्वको तापक्रममा ल्याउने वृद्धि । जलवायु परिवर्तनले प्रकृतिका हरेक सामन्य प्रकृयामा प्रभाव पार्ने हुनाले सबैले यसतर्फ सचेत भइ पूर्वसावधानी अपनाउन ढिला गर्नु हुँदैन । यसबाट कृषि क्षेत्र देखि लिएर दैनिक पेशा व्यवसायका सबै क्षेत्रहरु नराम्रोसँग क्षत विक्षत हुने प्रवल सम्भावनालाई नजर अन्दाज गर्न मिल्दैन । त्यस्तै विश्वको तापक्रम बढ्दै जाँदा ठूलाठूला हिम सृङ्खला र हिम नदीहरु पग्लिँदै जाने र प्रकृतिका होचा स्थानहरु जलमग्न हुने खतरा बढ्दै गएको छ ।
यसरी वातावरणको विनाशबाट अनेकौं समस्याको सामना गर्न पुगेको मानवले अब पनि यसतर्फ आँखा चिम्लेर बस्ने हो भने आफ्नै संहार निश्चित छ भन्ने बुझे हुन्छ । तसर्थ यथासम्भव उपाय र माध्यमको प्रयोगगरि विश्व मानवमा वातावरणको महत्व, संरक्षणको आवश्यकता र उपाय बारे जागरुकता जगाउनु पर्छ ।
त्यस्तै, कृषि क्षेत्रमा रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा जोड दिनु उत्तिकै जरुरी छ । यस किसमको सोच र प्रयास साथ अघि बढेमा मात्र मानव जातिका साथै समग्र जीव जगतको भलो सम्भव छ र यही नै हाम्रो परम दायित्व पनि हो ।
विकासको नाममा विनाश हुने कार्यलाई हतोत्साहित र प्रतिबन्ध लगाइनु जरुरी छ । दैनिक जीवनका हरेक कार्यमा वैज्ञानिक विधि र उपकरणको प्रयोग गर्दा वातावरणमैत्री बन्न बनाउन सिकाइनु पर्दछ । समाजमा हुने र गरिने सामाजिक कार्यहरु कोलाहल नियन्त्रित हुनु जरुरी छ । शहर बजार, उद्योग जगतका साथै गाउँ घरमा समेत इन्धनको प्रयोग गर्दा सकेसम्म कम धुवाँ उत्सर्जन गर्ने प्रकृया अवलम्बन गरिनुपर्छ । भूक्षय, भूस्खलन, वन फँडानी, मरुभूमिकरण हुने जस्ता कार्य रोक्ने र वृक्षारोपण, वन जङ्गल संरक्षण, पानीको मुहान संरक्षण गर्ने जस्ता गतिविधिमा जोड दिने एवम् जन सहभागिता बढाउने कार्य गरिनु पर्दछ । साथै जैविक इन्धनको बचत गर्न र यसबाट हुने प्रदूषण न्यूनीकरण गर्न विश्वले हावा बाट, सुर्यको तापबाट, परमाणुबाट वैकल्पिक उर्जा उत्पादन र प्रयोगमा बढी जोड दिनुपर्छ । त्यस्तै, कृषि क्षेत्रमा रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा जोड दिनु उत्तिकै जरुरी छ । यस किसमको सोच र प्रयास साथ अघि बढेमा मात्र मानव जातिका साथै समग्र जीव जगतको भलो सम्भव छ र यही नै हाम्रो परम दायित्व पनि हो ।