रामेछाप
सुनकोशी नदीमा एउटा झोलुङ्गे पुलसमेत नहुँदा रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ कोथवेका बालबालिका वर्षायाममा नदी तर्न नसकेपछि नदीपारी जंगलमा बसेर पढ्न बाध्य भएका छन् । घर नजिकै विद्यालय नभएकै कारण सिमान्तकृत ६० घरपरिवार माझी समुदायका वालवालिकाहरु घर नजिकै रहेको आधारभूत विद्यालयको पढाइ सकेर विद्यालय छोड्ने गरेका छन् । केही वालवालिकाहरु भने उच्च शिक्षा हासिल गर्ने भन्दै आफ्नो ज्यान नै बाजी थापेर सुनकोशी नदीमा हेलिएर छिमेकी जिल्ला सिन्धुलीको रातामाटामा रहेको माध्यमिक विद्यालय गुट बजारमा अध्ययन गर्न जान वाध्य छन् ।
सिमान्तकृत माझी समुदायका बालबालिकाहरु पढ्न वर्षात्को समममा जंगलमा बसेर बिद्यालय जाने गर्दछन् भने हिउँदको समयमा कोशी सानो र सग्लो हुँदा ट्युवमार्फत जाने गर्दछन् । उनीहरु अहिले कोथवेको जंगलको बीचमा सानो खरको छानाको गोठ निर्माण गरी त्यही रातबाँस बसेर बिहान पढ्न विद्यालय जान गरेका छन् । जंगलको बीचमा १३ जना मात्र किशोरी बस्ने गरेका छन् । जसमध्ये कक्षा १० मा पढ्ने २ जना छन् भने अन्य कक्षा ९ र ८ मा अध्ययरत छन् । सवैजना साना भएकाले उनीहरु जव रात पर्छ तव बीचमा को सुत्ने भन्ने बिषयमा दिनहु झगडा हुने गरेको छ । साना नानीहरुलाई बीचमा सुताएर दुईवटी कक्षा १० मा पढ्ने बालिकाहरु छेउछेउमा बसेर रात कटाउने गरेका छन् । रातभरी एक झप्को पनि नसुती उनीहरु उज्यालो मिर्मिरे भएपछि मात्र एक झप्को निद्रा सुतेर उठ्ने गरेका छन् । उठेसँगै खाना पकाएर खाएर पुनः विद्यालय कुद्ने गरेका छन् । यसरी रातमा राम्ररी निद्रा नपुग्दा विद्यालयमा पढ्दै गर्दा पढ्दापढ्दै निदाउनेसमेत गरेका छन् । उनीहरुको निद्रा पूरा हुन प्रत्येक शुक्रवार कुर्नु पर्ने वाध्यता छ । कहिले शुक्रवार आउँला र अभिभावक लिन आउँछन् अनि घरमा गएर राम्रोसँग निद्रा पुग्छ भन्ने हुन्छ, ती बालिकाहरु भन्छन् ।
नदी वारपार गर्ने पुल नहुँदा बालबालिका विद्यालय जान र विद्यालयबाट घर आउन ट्युवको प्रयोग गर्नु पर्ने भएकोले आफ्नो बालबच्चा विद्यालय कति खेर छुट्ला र आउँलान् भन्ने चिन्ता सधै अभिभावकहरुलाई हुने गरेको छ । धेरै चुनावहरु भए नेताहरु भोट माग्न माझी बस्तीमा आए, हामीलाई भोट दिएर चुनाव जिताउनुहोस्, हामी पुल बनाइदिन्छौ भन्दै आश्वासन पनि धेरै पटक दिए तर भोट दिएर चुनाव जितेर गएपछि हाम्रो बस्तीमा अहिलेसम्म कोही नेता फर्किएर आएनन् स्थानीय बताउँछन् ।
केहि बर्ष अघि नदी वारपार गर्ने पुल नहुँदा त्यस स्थानका माझी समुदाय काठको डुङ्गाबाट कोशी वारपार गर्ने गर्दथे । पछिल्लो समयमा डुङ्गा बनाउने काठ पाउन छाडेपछि उनीहरु ट्युवको माध्यमबाट कोशी वारपार गर्ने गरेका छन् । हिउँदको समयमा कोशी सानो हुँदा वारपार गर्न सहज भएता पनि वर्षातमा कोशीको सतह बढेर ठूलो हुने हुँदा विद्यार्थीहरुलाई वारपार गर्न धेरै समस्या हुने गरेको छ । नदी वर्षातमा ठूलो हुने र धमिलो पानी हुने हुँदा ठूला मान्छेलाई त नदी तर्न समस्या हुने गरेको छ भने साना बालबालिका त झन् तर्न सक्ने कुरै भएन । माझी बस्ती भन्दा करीव २ घन्टा तल डफ्कामा रहेको झोलुङ्गे पुल तरेर छिमेकी जिल्ला सिन्धुलीको रातामाटा तर्फ जाने गर्दथे । उक्त गोरेटो बाटो पनि अहिले मध्य पहाडी राजमार्ग निर्माणको क्रममा रहेको र माथि खनेको माटोले बाटो अवरुद्ध भएपछि ती वालवालिका सुनकोशी पारी जंगलमा बस्न वाध्य भएका हुन् । प्रत्येक हप्ताको शुक्रवार आफ्ना अभिभावक लिन आउँछन् ।
साभार-संयगपोष्ट साप्ताहिक