कविता
आज एक्काइसौं शताब्दीको
चरम विकासको समयमा
घनघस्याको उकालो चढे झैं
हर रात हर दिन बढीरहेकाछन भ्रष्टाचारी
खिएर दुब्ला पातला भए जनअपेक्षा
अनि खिया लागेर निकम्मा भए
सुन्दर सपना र आशाहरु !
अचेल मलाई लाग्छ
नौलो भविष्यको मीठो सपना बाडेर आन्दोलनको साइत हेर्ने पण्डितहरु
कुन खोपीमा लुकेका होलान्
हिजो आधा घेरा फाटेको टोपी लगाउनेहरु
आज श्री६ महाराजको श्रीपेच भिर्दै
भीआईपी सोच पालिराख्याछन्
हिजो हामीसङ्गै सडकमा टायर बाल्नेहरु
आज माफियाको बुई चढेर
आफ्नो शरीरको अग्रभागमा
माफियाको भ्रष्ट विज्ञापन देखाउछन
हिजो म जस्तै नौलो सपना बोकेर
नौलो जनवादको जङ्गली क्रान्ति गर्नेहरु
आज काठमाडौँको सिंहदरबारमा
दलाल पुँजीवादको चाकाडी गर्न थाल्याछन्
यसर्थमा हिजोको बलिदानले
सधै सोध्ने गर्छ खै त गणतन्त्र ?
खै त जनताको समाजवाद ?
खै वर्ग उत्थानका राष्ट्रिय नीति ?
अनि लर्बरिएको जिब्रोले
जे पायो त्यही बोलेर नयाँ सपनाहरु बाड्यौ
अनि आफैले आ-आफनैलाई नारायणहिटीलाई सङ्ग्रहालय र
शीतलनिवास नामसारी गराएर
नवधनाढ्य बनायौ र दियौ तिमीले
उनको नाम राष्ट्रिय पुजिपती
यसरी तिमिले झुन्ड्याइदिएको
ताजहरु देखेर सोध्न मन लागिरहेछ
के यो गणतन्त्र हो ?
के गणतन्त्र यहि हो?
जनताको शासन यहि हो?
शैक्षिक योग्यताका प्रमाण पत्रहरु
प्लास्टिकको झोलामा कोचेर
विदेश पलायन भएका
लक्का जवान युवाहरुलाई सोध
कहाँ आयो गणतन्त्र ?
बैशालु जोवन विदेशी भुमिमा खर्चेर चालीस कटेसी रमाउला भन्दै
खाडी मुलुक हिँडेको
विवाहित लोग्नेहरुलाई सोध
कहाँ आयो गणतन्त्र ?
समयले रङ्ग बदल्यो
तर मान्छेको पसिनाको मोल बद्लेन
यसैले हरेक साल
भविष्य निर्माणको सपना बोक्ने
कथा मात्र बनेर आयो गणतन्त्र
टुहुरा र बिधवाहरुको नारा बोक्ने
मीठो भाषण बनेर आयो गणतन्त्र
भाषण बनेर आयो गणतन्त्र
आयो गणतन्त्र ।
धन योन्जन
दोरम्बा रामेछाप





