साउन १२, काठमाडौं ।
२५ दिनको अन्तरालमा ८ पटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको पछिल्लो पटक निर्धारण गरिएको मिति नजिकिंदो छ । साउन ६ गते बाढीपहिरोको कारण देखाउँदै स्थगित गरिएको बैठक यहि मंगलवार बोलाइएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि सहमति खोज्ने भन्दै बैठक स्थगित हुँदै आएको छ । नेताहरुबीच निरन्तर वार्ता भइरहेपनि बाढीपहिरोलाई देखाउँदै सहमति गर्न दिइएको समयमा समेत कुनै प्रगति हुन सकेको छैन । यसबीच, मंगलवार पनि बैठक सञ्चालन हुनेमा अनिश्चितता कायम नै रहेको नेताहरु बताउँछन् ।
कोभिड (१९ र बाढी पहिरो जस्ता विपद् छायाँमा पार्ने गरी चुलिएको नेकपा विवाद सहजै अवतरण हुनेमा आशंका पैदा भएको छ । यतिबेला बाहिर देखिने गरी नेकपाको गतिबिधि ठप्प जस्तै छ । गुटगत भेलाको पारो पनि घटेको छ ।
कलहले निकासको बाटो पहिल्याएको छैन । कलह साम्य हुनुपर्ने बेलामा नेताहरु सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसकारण पार्टीको विवाद झनै जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ । एचबअथ (अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रवार पुष्पलाल र नरबहा कर्मचार्यको स्मति सभामा दिएको अभिव्यक्तिले नेकपाको अन्तर कलह झनै छर्लङ्गै भएको छ ।
कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको आरोप लगाए ।
स्थायी कमिटी बैठक चलिरहेकै बखत निर्वाचन आयोगमा एमाले दर्ताको निवदेन परेपछि बैठकका लागि तय गरिएका एजेण्डाहरु नै मोडिन पुगेका थिए । त्यस्तै, नेता नेपालले बहुमतबाट भएको निर्णय सबैले मान्नुपर्ने बताउँदै बहुमतबाट निर्णय गरेर जाने संकेत गरेका छन् । असार १० गतेबाट शुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीको राजीनामा माग गरेका थिए । जसकारण तय बैठकमा सीमा समस्या बाहेक अन्य विषयले प्रवेश नै पाउन सकेको छैन ।
बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओलीले आफूलाई नयाँ नक्सा जारी गरेकै कारण आफूलाई पदबाट हटाउन लागिएको अभिव्यक्ति दिए । मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा ओलीले दिएको अभिव्यक्तिले विवाद झनै चर्कायो । उनले आफ्नै पार्टीका नेताहरुले आफ्नो सरकार ढलाउन खोजेको आरोप लगाएपछि प्रचण्ड (नेपाल पक्षले विरोध गरेको थियो ।
नेताहरुबीच विवाद बढ्दै जाँदा पार्टी विभाजन समेत हुन सक्ने अनुमानहरु भए । पार्टी फुटको संघारमा पुगेको भन्दै असार १८ गते बसेको बैठकले कलहको छिनोफानो गर्ने जिम्मेवारी दुई अध्यक्षलाई सुम्पिएको थियो । बैठक रोकेर नै छलफलको समय दिइएपनि अध्यक्षद्वयले सहमतिको विन्दु पहिल्याउन सकेन । दिनहुँको भेटबाट दुई नेता टसमस भएनन् ।
दुई अध्यक्षको भेट अनिश्चित
दाहाल र नेपालले एउटै मञ्चबाट विरोध चर्काएयता ओली दाहालबीच सहमति खोज्ने वातावरण बन्न सकेको छैन । पार्टीको किचलो छिनोफानो गर्ने जिम्मा पाएका अध्यक्षद्वको शुक्रवार दिउँसो छलफल भएको थियो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अबको भेट कहिले भन्ने तय भइसकेको छैन ।’ दुई अध्यक्षबीच शुक्रवार भेट भएको थियो । त्यसयता छलफल भएको छैन । कहिले भेट्ने भन्ने तय भइसकेको छैन,’ सापकोटाले भने ।
स्थायी कमिटी बैठक नजिकिंदै गर्दा अध्यक्षद्वयको छलफल रोकिनुले मंगलवारको बैठक अनिश्चितता भएको नेताहरुको बुझाइ छ । अहिलेकै अवस्थामा बैठक सञ्चालन हुने सम्भावना कम रहेको बताउछन् , स्थायी कमिटी सदस्य गणेश साह ।’ नेताहरु सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिन थाल्नुभयो । नेताहरुबीच सहमति भएको पनि छैन । यसले विवाद छर्लङ्गै बनाएको छ । पार्टीमा विवाद झनै चर्किएको संकेत गरेको छ । यहि अवस्थामा बैठक बस्ने सम्भावना कम छ,’ साह भन्छन् ।
अर्का स्थायी कमिटी सदस्य रघुजी पन्त अहिलेसम्म बैठक बस्ने नै जानकारी पाएकाले बैठक बस्न सक्ने बताउँछन् ।
महाधिवेशन कार्ड जबजले रोक्यो
साउन ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा नै अध्यक्ष बन्ने प्रस्ताव अघि सारेका थिए । जसबाट ओलीले प्रचण्डलाई सहमतिमा लिने प्रयास गरेका थिए । पार्टीको विवाद समाधानका लागि भन्दै ओलीले चलाखीपूर्ण ढंगले महाधिवेशन कार्ड फालेको बताइन्छ । नेता नेपालले बैठकमा नै मंसिरमा महाधिवेशन सम्भव नहुने जवाफ दिए । बैठकमा प्रचण्ड मौन रहेपछि नेपाल पक्ष सशंकित बनेको थियो ।
नेताहरुको आशंका मेटाउदै प्रचण्डले मंसिरमा महाधिवेशन प्रस्तावमा आफू असहमत रहेको प्रस्टीकरण दिएका थिए । साउन ५ गते आफ्ना समूहका स्थायी कमिटी सदस्यहरुलाई बोलाएर वैचारिक विषय टुंगि नसकेकाले अब महाधिवेशन प्रस्ताव सम्भव नभएको प्रचण्डले ब्रिफ गरेका थिए । ओली पक्षले भने प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमति जनाइसकेको दाबी गर्दै आएका छन् । तर, जनताको बहुदलीय जनवादमा सहमत भए मात्रै मंसिरको महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव आएपछि प्रचण्ड पछि हटेको बताइन्छ ।