६ असोज, काठमाडौं ।
तस्करहरूले रक्तचन्दन नयाँनयाँ तरिकाले तस्करी गर्दै आएको राज खुलेको छ ।रक्तचन्दनलाई डमरु बनाएर तस्करी हुने गरेको पाईएको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली बाहिरिएको छ ।
महाशाखाका एसएसपी दिपक थापाले बताएअनुसार रक्तचन्दनसहित चार जना बौद्धमा रहेको डमरु कारखानाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ छन् ।
ओमबहादुर तामाङ भारतको दिल्लीमा काम गर्थे । कामकै क्रममा उनिसँग एक व्यक्तिसँग भेट भएको थियो । लकडाउन सुरु भएपछि उनीहरु नेपाल आए, डमरु कारखानामा बसे । तिनै व्यक्तिले रक्तचन्दनका दुईवटा मुढा दिएर डमरु बनाइदिन अर्डर गरेको बयान उनले प्रहरीमा दिएका छन् ।
अनुसन्धान अधिकृतहरूका अनुसार मुख्य व्यक्ति भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरुले डमरुमा रक्तचन्दन हाल्ने जिम्मेवारी मात्रै पाएका थिए ।
पक्राउ परेका व्यक्तिका अनुसार बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ हो ।
बरामद भएको १६ किलो ४ ग्राम सय ग्राम र ५ किलो ९ सय ग्रामको रक्तचन्दन जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रक्तचन्दन भारतबाट आएको हुनसक्ने आशंका गरिएकोछ । नेपालमा तयार पारेर यसलाई तेस्रो मुलुक लैजान खोजिएको हुनसक्ने सुरुवाती अनुसन्शानबाट देखिएको छ ।
प्रकरणमा फरार अन्य व्यक्तिको खोजी कार्य जारी रहेको एसएसपी थापाले बताए ।