रामेछाप। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले सञ्चालन गरेको आलु जोनका कारण आलु उत्पादन बढ्न थाले पछि गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेको गर्जाङ क्षेत्र र वडा नं ३ रस्नालुका किसान खुसि छन् ।
परियोजनाले आलु जोन मार्फत आधुनिक तरिकाबाट आलु खेती गर्न सहयोग गरेपछि आलु उत्पादनमा बृद्धि भएको चुचुरेका स्थानीय कृषक शंकर बस्नेतले बताए ।
गोकुलगंगाको माथिल्लो क्षेत्रमा सञ्चालनमा रहेको आलु जोनमा राम्रो काम भएको परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताए । आलु उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले विगतका वर्षदेखि सञ्चालित आलु जोनलाई चालु आर्थिक वर्षमा पनि परियोजनाबाट रकम विनियोजित गरिएको प्रमुख गैरे बताउँछन् । सोहि अनुरुप योजनाको कार्यान्वयनको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको उनको भनाई छ ।
आलु जोन सञ्चालन भएको गोकुलगंगाको वडा नं १ चुचुरेमा १ सय २० रोपनी जग्गालाई चक्लाबन्दी गरी आलु खेती गर्नको लागि परियोजनाले पाँच लाख रुपैयाँ र समूहले पचाँस प्रतिशत अर्थात पाँच लाख गरेर कुल दश लाख लगानी गरेको छ । यो कार्यक्रम तल्लो गर्जाङ आलु किवी तथा तरकारी उत्पादन कृषक समूह मार्फत सञ्चालन भएको छ । त्यस्तै सोही समुहमा बारी जोत्ने दुई ओटा ट्याक्टर पनि पचास प्रतिशत अनुदानमा दिइएको परियोजनाले बताएको छ । त्यस्तै आलु खेतीलाई सिँचाई गर्न न्यू गर्जाङ भ्याली एग्रो फर्मको लागि परियोजानले ७५ प्रतिशत र फर्मले २५ प्रतिशत गरी कुल दुई लाखमा सिंचाई पोखरी निर्माण भएको छ ।
परियोजनाले गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुको उच्च क्षेत्रमा आलुको बिउ संकलन तथा उत्पादनको लागि स्रोत केन्द्र स्थापना गर्न हिमालय पोट्याटो रिसर्च एण्ड डेभल्पमेन्ट सेन्टरलाई २५ लाख रुपैयाँ अनुदान दिएको छ । हिमालय पोट्याटो रिसर्च एण्ड डेभल्पमेन्ट सेन्टरले आफ्नो १५ लाख र परियोजनाको २५ लाख गरी ४० लाखको लगानीमा स्रोत केन्द्र स्थापना गरेको छ । त्यस्तै रस्नालुको तामे बिउ आलु एण्ड जडीबुटी सप्लायर्स फर्मको लागि आलु खेतीमा सिँचाई गर्न पक्की सिँचाई पोखरी निर्माणको लागि १ लाख ५० हजार परियोजनाले अनुदान सहयोग गरेको छ भने पचास हजार फर्मले लगानी गरेको फर्म सञ्चालक तेम्बा शेर्पा बताउँछन् ।
यो चालु आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिका भित्र आलु जोन सञ्चालन गर्नको परियोजनाले ७० लाख अनुदान सहयोग गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख थिरलाल गैरेले बताए ।