रामेछापको सुनापति गाउँपालिका वडा नं–४ बेथान (डहु) का महिलाहरुले गाउँमै चाउमिन उत्पादन सुरु गरेका छन् । उनीहरुले गाउँमै सानोतिनो व्यापार व्यवसाय गरेर आफुलाई चाहिने घरखर्च जुटाउन थालेका छन् ।
सुनापति गाउँपालिका वडा नं ४ बेथानका १५ जना महिलाहरुलाई केही वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति र उद्यम विकास समाजले चाउमिन वनाउने तालिम दिएको थियो ।
गाउँका महिलाहरु अहिले घरमै वसिबसि सिन्के चाउमिन वनाउने र गाउँका होटल तथा पसलहरुमा विक्री गरेर दैनिक घरखर्च चलाउनुको साथै आफ्नो पकेट खर्च समेत पुर्याउन थालेका छन् ।
यसअघि महिलाहरुमा सिप नहुँदा त्यतिकै वसेका महिलाहरुलाई सिन्के चाउमिन वनाउने तालिम दिएपछि उनीहरुले अहिले मैदाको पिठोबाट सिन्के चाउमिन वनाएर आफ्नो घरमा खाजामा समेत प्रयोग गर्दा खर्च अन्य खाजामा खर्च कटौती भएको छ ।
गाउँका सडक सञ्जाल जोडिएर यातायातका साधनहरु संचालन भएपछि गाउँमा रहेका होटलहरुमा चाउमिनको माग वढ्दै गएकाले बेथानका महिलाहरु चाउमिन वनाउने पेशा तर्फ आकर्षित भएका हुन् ।