Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको चुनावी रन्को र डिजिटल ‘ग्याप’

Kumar Shrestha by Kumar Shrestha
February 1, 2026
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछापको चुनावी रन्को र डिजिटल ‘ग्याप’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका चिया पसलदेखि गाउँका चौतारीसम्म चुनावी गफगाफको केन्द्र बनेका छन्। तर, यसपटक रामेछापको चुनावी भूगोल केवल पहाडी गोरेटो र मञ्चका भाषणहरूमा मात्र सीमित छैन । निर्वाचनको एउटा ठूलो हिस्सा अब मतदाताको हात–हातमा रहेको स्मार्टफोनको सानो स्क्रिनमा सरेको छ।
रामेछापको चुनावी इतिहासमा नेपाली कांग्रेस सधैँ एउटा निर्णायक र अपरिहार्य शक्तिका रूपमा रहिआएको छ। तर, यसपटकको ‘डिजिटल ब्याटल ग्राउन्ड’ (डिजिटल रणभूमि) मा भने यो पुरानो लोकतान्त्रिक दल एउटा नयाँ र अदृश्य चुनौतीसँग जुधिरहेको छ । त्यो हो, सामाजिक सञ्जालमा देखिएको चरम सुस्तता र रक्षात्मक शैली।
रामेछापमा कांग्रेसका मुख्य प्रतिस्पर्धीहरूले प्रविधिलाई यसरी प्रयोग गरिरहेका छन् कि लाग्छ, उनीहरू कुनै सूचना प्रविधि कम्पनीको चुनावी अभियान चलाइरहेका छन्। नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल सामाजिक सञ्जालमा निकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। युवा राजनीतिबाट आएका ढुङ्गेलका हरेक पाइला, भाषणका ‘पन्चलाइन’ र विकासका खाकाहरू आकर्षक भिडियो र ग्राफिक्समार्फत फेसबुक र टिकटकमा छ्यापछ्याप्ती छन्।


त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ पनि डिजिटल मोर्चामा उत्तिकै सक्रिय देखिन्छन्। ‘कुशल’ ले आफ्नो विगतको विकास निर्माणका कामहरूलाई उच्च गुणस्तरका भिडियोमार्फत मतदाताको मोबाइलसम्म पु¥याइरहेका छन्। यता, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी त झन् डिजिटल नेटिभ नै भइहाले। उनले फेसबुक लाइभ, प्रश्नोत्तर शृङ्खला र युवा केन्द्रित सन्देशहरू मार्फत परम्परागत दलहरूको गढ भत्काउने गरी डिजिटल सञ्जाल विस्तार गरेका छन्। यी तीनै उम्मेदवारका ‘डिजिटल योद्धाहरू’ २४ सै घण्टा सक्रिय रहँदा कांग्रेसको उपस्थिति भने बालुवामा खन्याएको पानीजस्तै भएको छ।
नेपाली कांग्रेसले यसपटक रामेछापबाट प्रतिनिधि सभाका लागि रामचन्द्र खड्कालाई चुनावी मैदानमा उतारेको छ। खड्का जिल्लाको राजनीतिमा दशकौँदेखि भिजेका, निष्कलंक छवि भएका र वैचारिक रूपमा स्पष्ट नेता हुन्। उनको सादगी, बौद्धिकता र तल्लो तहका कार्यकर्तासँगको प्रत्यक्ष सम्बन्ध उनको सबैभन्दा बलियो पक्ष हो। तर, विडम्बना के छ भने, खड्काको यो ‘सालीन व्यक्तित्व’ लाई सामाजिक सञ्जालको आक्रामक बजारमा ‘बिक्रीयोग्य’ बनाउन कांग्रेसको प्रचार संयन्त्र नराम्ररी चुकेको छ।
विपक्षीहरूले खड्काको शालिनतालाई ‘कमजोरी’ र ‘सुस्तता’ को रूपमा व्याख्या गर्दै डिजिटल मिडियामा नकारात्मक भाष्य निर्माण गरिरहेका छन्। एमाले, नेकपा र रास्वपाका उम्मेदवारहरूका आकर्षक ग्राफिक्स र जनताका समस्या सम्बोधन गर्ने ‘बाइट’ हरू भाइरल भइरहँदा, कांग्रेस कार्यकर्ताहरू भने अझै पनि फेसबुकमा पुराना शैलीका, धमिलो फोटो र पट्यारलाग्दा लामा ‘स्टाटस’ मात्र पोस्ट गरेर बसिरहेका छन्। आजको युगमा नेताको प्रत्यक्ष उपस्थिति मात्र पर्याप्त छैन। जबसम्म नेताको भिजन मतदाताको ‘थम्बनेल’ मा ठोकिँदैन, तबसम्म त्यसले मतमा रूपान्तरण हुने सम्भावना न्यून रहन्छ।
कांग्रेसभित्रको यो डिजिटल सुस्तताको जरो पार्टीको आन्तरिक संरचनामा छ। जिल्लाका अधिकांश पुराना नेताहरू अझै पनि राजनीति भनेको मञ्चमा बसेर लामो भाषण गर्ने, अबिर–माला लगाउने र गाउँ पस्ने मात्रै हो भन्ने भ्रममा छन्। उनीहरूका लागि सामाजिक सञ्जाल केवल फुर्सदको मनोरञ्जन मात्र हो। तर, रामेछापमा यसपटक ठूलो सङ्ख्यामा ‘जेन–जेड’ का मतदाताहरू थपिएका छन्।
यी नयाँ मतदाताहरू जो पहिलो पटक मतदान गर्दैछन्, उनीहरूका लागि २०४६ सालको आन्दोलन वा २०६२÷६३ को इतिहासभन्दा पनि भविष्यको प्रविधि, रोजगारी र ‘भाइब’ महत्वपूर्ण छ। उनीहरू स्मार्टफोनमा जसको उपस्थिति आकर्षक देख्छन्, उसैप्रति आकर्षित भइरहेका छन्। माधव ढुङ्गेल र कृष्णहरि बुढाथोकी जस्ता उम्मेदवारले यही बिन्दुलाई समातेका छन्। कांग्रेसले यो बदलिँदो लहरलाई ठम्याउन नसक्दा उसका गढ मानिने क्षेत्रहरूमा समेत युवाहरूको मोहभङ्ग हुँदै गएको छ।
रामेछापको चुनावमा वैदेशिक रोजगारीमा रहेका युवाहरूको भूमिका निर्णायक हुन्छ। खाडी मुलुकदेखि युरोप र अमेरिकासम्म रहेका रामेछापेली युवाहरूले घरमा फोन गरेर “यसपालि यसलाई भोट हालौँ“ भन्नुको ठूलो अर्थ रहन्छ। ती युवाहरूको संसार नै सामाजिक सञ्जाल हो। श्यामकुमार श्रेष्ठ र माधव ढुङ्गेलका टोलीले विदेशमा रहेका युवाहरूसँग नियमित भर्चुअल संवाद र समूहहरू निर्माण गरिरहँदा कांग्रेस भने आफ्नै आन्तरिक बैठकहरूमा अल्झिरहेको छ। रामचन्द्र खड्काको विकासको एजेन्डा ती युवाहरूमाझ पु¥याउने कुनै पनि डिजिटल रणनीति कांग्रेससँग देखिएको छैन।
सामाजिक सञ्जालमा कांग्रेसको अर्को कमजोरी भनेको ‘प्रतिक्रियात्मक राजनीति’ हो। उनीहरू आफ्ना एजेन्डा लिएर जनतामा जानुभन्दा पनि विपक्षीले गरेका टिप्पणीको प्रतिरक्षा गर्नमै समय खर्चिरहेका हुन्छन्। जिल्लाको जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा खड्काले राखेका योजनाहरू प्रभावकारी भए पनि ती योजनाहरू ‘डिजिटल भित्ता’ मा कतै देखिँदैनन्।
विपक्षीका ‘डिजिटल योद्धा’ हरूले तथ्यलाई बङ्ग्याएर प्रहार गर्दा त्यसको डटेर सामना गर्ने र आफ्ना सबल पक्ष उजागर गर्ने ‘आइटी टिम’ को अभाव कांग्रेसमा टड्कारो छ। यसले तटस्थ मतदाताहरूमा “कांग्रेस सुस्त र पुरानो भयो“ भन्ने भाष्यलाई थप बल पु¥याइरहेको छ।
यस सुस्ततालाई चिर्नका लागि कांग्रेसले तत्काल आफ्नो सञ्चार रणनीतिमा आमूल परिवर्तन गर्न जरुरी छ। केवल भाषणको भिडियो खिचेर फेसबुकमा हाल्नु मात्रै डिजिटल प्रचार होइन। तथ्याङ्क, इन्फोग्राफिक्स र युवाहरूले बुझ्ने सरल भाषामा रामचन्द्र खड्काका कुराहरू राख्न सक्नुपर्छ। प्रत्येक वडा तहमा प्रविधि बुझेका युवाहरू परिचालन गरेर विपक्षीका भ्रमहरूलाई चिर्न ढिला भइसकेको छ।
अबको लडाइँ केवल मतपत्रमा छाप लगाउने मात्र होइन, बरु मतदाताको मस्तिष्कमा आफ्नो स्थान सुरक्षित गर्ने पनि हो। प्रविधिको यो दौडमा माधव ढुङ्गेल, श्यामकुमार श्रेष्ठ र कृष्णहरि बुढाथोकीले सुरुवाती अग्रता लिएका छन्। कांग्रेसले यो ग्यापलाई समयमै भर्न सकेन भने पुरानो विरासत मात्रै चुनाव जित्ने आधार बन्न सक्दैन।
रामेछापको माटोमा कांग्रेसको लगानी र बलिदान ठूलो छ। तर, इतिहासको ब्याजले मात्र सधैँ चुनाव जितिँदैन। समयको माग अनुसार आफूलाई परिमार्जन नगर्ने हो भने जतिसुकै बलियो शक्ति भए पनि त्यो बिस्तारै क्षय हुँदै जान्छ। तामाकोशीको पानी बगेर गएजस्तै निर्वाचनको समय पनि द्रुत गतिमा बगिरहेको छ। यदि कांग्रेसले आफ्नो डिजिटल सुस्ततालाई चिरेर रामचन्द्र खड्कालाई प्रविधिमैत्री र आधुनिक उम्मेदवारका रूपमा प्रस्तुत गर्न सकेन भने, चुनावको नतिजा सोचेभन्दा भिन्न आउन सक्छ।
रामेछाप कांग्रेसका लागि यो एउटा यस्तो कठिन परीक्षा हो, जहाँ उसले आफूलाई ‘पुरानो र थाकेको दल’ बाट ‘आधुनिक र गतिशील दल’ मा रूपान्तरण भएको प्रमाणित गर्नुपर्नेछ। अन्यथा, डिजिटल सञ्जालको आक्रामक लहरले कांग्रेसको पुरानो किल्ला सजिलै बगाउन सक्छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कांग्रेसको रणनीति र विरासत जोगाउने दाउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.