चण्डीगढ, वैशाख ४ गते । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट मैदानमा गएराति भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो । घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो ।
राजस्थानका राहुल त्रिपाठीले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए । सञ्जु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए ।
पन्जाबका अर्सदिप सिंह, रविचन्द्र आश्विन र मोहमद सामीले २÷२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विनले विस्फोटक ब्याटिङ गर्दै चार बलमा १७ रन बनाएर अविजित रहे ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिएका थिए ।