काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन्।
नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री कुन्दन काफ्ले र नेता राम प्रसाद अधिकारीको नेतृत्वमा वाल्मिकी क्यामपसबाट विरोध जुलुश सुरु भएको थियो।
दुई साताअघि मात्र उद्योग तथा वाणिज्य मन्त्रालयको विषादी परिक्षणका लागि प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको हो।
जाँच विनानै तरकारी नेपाल भित्र्याउन भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण स्थगित गरेको थियो। आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने निर्णय बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।