बैशाख २,निरोजकुमार थापा,
काठमाण्डौ । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीन जनालाई पुर्पक्षका थुनामा पठाइएको छ ।
पक्राउ परेका ४ मध्ये एक भने घटनामा संलग्न नदेखिएको भन्दै तारेखमा छुटेका छन् । चैत ३० गते भक्तपुर जिल्ला अदालतले उनीहरुलाई काठमाडौंको डिल्लीबजारस्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
आदेशसँगै कैलालीको टीकापुर न.पा. २ घर भई हाल सामाखुसी बस्ने ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलालीकै भजनी न.पा. ४ घर भई चितवनको भरतपुर बस्ने ३२ वर्षीय अमृतबहादुर कुमाल र कालीकोट शान्ति त्रिवेणी गा.पा. ८ घर भई बसुन्धरा बस्ने २७ वर्षीय अभिषेक भन्ने टेकबहादुर विक जेल चलान भएका हुन् ।
लमजुङ घर भई हाल जडिबुटी बस्ने देव गुरुङ भने तारेखमा रिहा भएका छन् । पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा गत फागुन २८ गते कुकर बम विस्फोट गराइएको थियो । बम विस्फोट गराएको आरोपमा उनीहरुलाई प्रहरीले चैत ६ गते पक्राउ गरेको थियो ।