हामीलाई अन्धकारबाट उज्यालोतिर लाने व्यक्ति नै शिक्षक हो । शिक्षक शैक्षिक अभिभावक हुन् । एउटा असल व्यक्ति बन्नका लागि शिक्षकको साथ महत्वपूर्ण रहन्छ । शिक्षकबाट लिएको शिक्षा जीवन भर काम लाग्छ । जसले हामीलाई लक्ष्यको बाटो देखाउँछ, गन्तव्य देखाउँछ । जसरी आमा बाबाले सँधै छोराछोरीको भलो चाहने गर्नु हुन्छ । शिक्षकले पनि विद्यार्थीको भलो नै चाहानुहुन्छ । शिक्षकको उद्देश्य नै विद्यार्थीको उज्ज्वल भविष्य बनाउनु हो ।
मलाई लाग्छ, हरेक विद्यार्थी जस्तै मलाई पनि यस्तो शिक्षकको आवश्यकता छ, जसले धेरै भन्दा धेरै जीवन उपयोगी शिक्षा प्रदान गरुन् । मैले खोजेको शिक्षक असल, गुणी र मसँग सँधै नम्र भएर बोल्ने खालको होस् । मेरो मनमा खड्केका विषयगत तथा बाहिरी सवालको जवाफ हाँसीहाँसी दिने खालको होस् । मैले चाहेको शिक्षक कर्यव्यवान होस् । आफ्नो कर्तव्यका लागि सँधै लागिरहने खालको होस् । मेरो समस्यालाई सजिलै हल गरिदने खालको होस् । मेरा साथीहरूलाई पनि मलाई जस्तै माया गर्ने खालको, सफा सुघ्गर भएर कक्षा कोठामा आउने खालको होस् । मेरो शिक्षकमा राष्ट्र प्रति माया नै माया होस् । मलाई राष्ट्रियता सिकाउने खालको होस् ।
म के पढ्दैछु, किन पढ्दैछु भन्ने प्रश्न मेरो मनमा आउनु भन्दा अगाडि मेरो शिक्षकले त्यसको समाधान दिने होस् । शिक्षकले हामीलाई पढाउनु हुन्छ । राम्रा आनिबानीका लागि प्रेरित गर्नु हुन्छ । मैले खोजेको शिक्षक पढाउने खालको होइन सिकाउने खालको होस् । मैले खोजेको शिक्षक जीवन उपयोगी शैक्षिक साथी जस्तै गुरु हो ।
म विद्यालय नगएको भोलिपल्ट म जाँदा मेरो शिक्षकले मलाई गाली नगरोस् । मलाई मायाले सोधोस की के समस्या भयो र तिमि आइनौ ? म छिट्टै विद्यालयबाट निस्कन खोज्दा मलाई मेरो शिक्षकले म किन पढ्न छाडेर जाँदैछु भनेर हाँसिहाँसी सोध्नुहोस् । मैले गृहकार्य नगर्दा, मैले स्कुलको पोसाक नलगाउँदा, मैले मैलो पोसाक लगाउँदा मलाई मेरो शिक्षकले नकुट्नुहोस् । बरू मायाले भन्नुहोस्, मेरो समस्या सोध्नुहोस् । समस्याको समाधान दिने खालको होस् ।
लेखिका सुवेदी मन्थली मा.वि.मन्थलीमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन्।