रामेछाप जिल्लाको मन्थली ५ मा जन्मनु भएका ‘अनन्त आचार्य’ हाल स–परिवार क्यानडाको क्यालगरी सहरमा बस्नुहुन्छ । अहिले कोरोना भाइरसको कारण विश्वनै आक्रान्त बनेको छ । नेपालीहरु पनि धेरै देशमा दुःखका साथ यो भाइरससंग जुधिरहेका छन् । प्रवासी नेपालीमा कस्तो समस्या छ त ? उनीहरु राज्यबाट के आशा गरिरहेका छन् त ?
(संवार्ताकार उद्धव अविचलले गर्नुभएको कुराकानीको सम्पादित अंश)
तपाई विदेश जानुको मुख्य कारण के हो ? नेपालमा आफ्नो भविष्य नदेख्नु भएकै हो त ?
मानिस आधारभूत रुपमा फिरन्ते जाति हो । यस सिलसिलामा संसार भरका धेरै मानिसहरु आफू जन्मेको ठाउँबाट अर्को ठाउँमा जाने आउने र बस्ने गरेका हुन्छन् । यसै सिलसिलामा म पनि अहिलेको लागि देश बाहिर रहेको अबस्था हो । नेपाल पनि एक सुन्दर भविष्य भएको देश हो । मैले पनि नेपालमा भविष्य नदेखेको भने हैन । देखेको छु ।
अहिले संसारमा कोरोना भाइरसको महामारी चलेको छ, यसबाट तपाई रहनु भएको देशमा कत्तिको असर परिरहेको छ ?
म क्यानाडा को क्यालगरी शहर मा बस्दै आएको छु । क्यानाडा आफैमा नेपाल भन्दा कोभिड (१९ ले बढी प्रभावित देश हो । क्यानडामा यो भाइरसका कारण हजारौ व्यक्तिहरुको मृत्यु भैसकेको छ भने म बसेको शहर मा सय भन्दा बढीको मृत्यु भैसकेको छ ।
प्रवासका नेपालीहरुमा यो दुर्दशा आउँदा नेपाल सरकारले के गर्नु पर्ला जस्तो लाग्छ ? के छन् अपेक्षा प्रवासीहरुका ?
हो, खासगरी बेलायत र अमेरिकामा धेरै नेपालीको ज्यान गएको अवस्था छ । अन्य देशहरुमा पनि क्षति भएको छ । यो अवस्थामा नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुको बारेमा चासो राख्नु पर्छ । सरकार र कुटनीतिक माध्यमद्वारा कुनैपनि नेपाली समस्यामा परेमा सहयोग र उद्दारको व्यवस्था मिलाइनु पर्छ । यो नेपाल सरकार आफैले बुझ्नु पर्ने कुरा हो ।
विदेशमा दुःख गरी कमाएर देश चलाएका नेपालीहरुलाई सरकारले बेवास्ता गरेजस्तो लाग्दैन ?
अवश्य पनि । बाहिरबाट भित्रिने रेमीट्यान्सले नेपालको आर्थिक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । नेपाल सरकारले बाहिर बस्ने नेपालीहरुको बारेमा सरोकार नराखेको भन्ने कुरा साँचो होइन । बरु मध्यपूर्व क्षेत्रमा बढी ध्यान पुर्याउनु पर्ने देखिएको छ । नेपाल सरकारले सीमित स्रोत र साधनका बीच काम गर्नु परेको तथ्यलाई पनि ख्याल गर्नुपर्ने हुन्छ तर सरकारको गति चाहिँ अलि सुस्त भएकै हो ।
यो बेला तपाई जस्ता सचेत युवाहरुले स्वदेशमा नै बसेर यो महामारीका बीचमा सरकारलाई सहयोग गर्न सकिन्थ्यो नि ?
हो, हामी बाहिर बस्ने नेपालीले नेपाललाई जहिलेपनि सहयोग गर्नुपर्छ र गरिरहेका गरिरहेका छौं । यो महामारीको अवस्थामा नेपाल आएर सहयोग गर्न सक्ने अवस्था हुँदैन । यद्यपि, नेपाल बाहिर बस्ने नेपालीहरुले गैर आवासीय नेपाली संघ लगायत नेपाली संघ संस्था मार्फत नेपाल लाई सहयोग पुर्याउदै आएका छन् ।
तपाई त एउटा विकशित राष्ट्रमा हुनुहुन्छ अन्य खाडी देशका नागरिकको पनि पिडा बुझिरहनु भएको होला ? तत्काल उनीहरुलाई के गर्न सकिन्छ भन्ने धारणा छ तपाईहरुसँग ?
अवश्य पनि मध्यपूर्वमा रहनुहुने नेपालीहरु बढी अप्ठ्यारोमा हुनुहुन्छ । यदि त्यहाँको सरकारले उचित संरक्षण र व्यवहार गर्दैन् अर्थात् सेवा सुविधाबाट बन्चित गर्दछ भने नेपाल सरकारले तुरुन्त संरक्षण र उद्दार गर्नु पर्दछ । यसका लागि विदेश स्थित नेपाली कुटनीतिक निकायहरु सक्रिय रहनु पर्दछ । आफ्ना नागरिकलाई समस्या पर्दा राज्यले संरक्षण दिनुपर्छ । यो राज्यको कर्तव्य हो ।
तपाईको अबको योजना के हो ? सिङ्गो जीवन विदेशमै बिताउने कि नेपाल फर्किएर आफ्नै देशमा केही गर्ने सोचमा हुनुहुन्छ ?
मेरो व्यक्तिगत कुरा गर्ने हो भने अब बिस्तारै नेपाल फर्किने सोचमा छु । म हिजो पनि सँधै विदेश बस्ने सोचले विदेश आएको थिइन । विदेशमा यहाँबाट शिक्षा हासिल गरियो, कामको अनुभव भयो । धेरै कुरा सिक्ने अवसर पाइयो । आफूले विदेशबाट सिकेको ज्ञान र अनुभवलाई नेपाल आएर व्यवहारिक रुपमा बाँड्ने इच्छा छ । खासगरी साना–साना कुराहरुको थालनी र प्रयासबाट ठूला ठूला उपलब्धीहरु हासिल भएका आफ्ना आँखाले देखेका र भोगेका अनुभवहरु बाँड्ने इच्छा छ ।
नेपालीहरुको विदेशमोह अत्यधिक देखिन्छ ? जो बिदेश जान चाहन्थे उनीहरुलाई कोरोनाले रोकेको छ, त्यस्ता युवाहरूलाई तपाई के सल्लाह दिनुहुन्छ ?
नेपालीहरुको विदेशमोहप्रतिका विभिन्न आयामहरु छन् । कोही अध्ययन को सिलसिलामा, कोही राम्रो रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्दो छ । यी कुराहरु सामान्य हुन् । अध्ययनको समाप्ती पछि वा एउटा निष्चित समय पछिको रोजÞगारी पश्चात नेपाल फर्किने हो भने यसले सम्बधित व्यक्ति र देश दुबैलाई फाइदा गर्दछ । तर डर लाग्दो पक्ष के छ भने एकपटक विदेश गएपछि संधैको लागि उतै बस्ने क्रम बढ्दै गएको छ, जुन राम्रो होइन ।
दोस्रो कुरा नेपाल फर्केर के गर्ने ? भन्ने मानसिकता विकास भएको देखिन्छ । जुन सत्य होइन किनकी नेपालमा पनि गर्न सकिने धेरै कुराहरु छन् ।
अर्को कुरा नेपाल का युवा वर्गमा नेपाल मा नै बसेर पनि केही राम्रो गर्न सकिन्छ भन्ने आत्माविश्वासको कमी हुँदै गएको देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । अन्तिम र तीतो तर भन्नैपर्ने कुरा राज्यले आफ्ना नागरिक र खासगरी युवा वर्गलाई आफ्नै देशभित्र बसेर भविष्य सुरक्षित हुन्छ भन्ने कुराको विश्वास दिलाउन नसक्नु विदेश मोहको मुख्य कारण रहेको देखिन्छ ।
अन्तमा हाम्रो मिडिया मार्फत आम नेपालीलाई के भन्न चहानु हुन्छ ?
यो मिडिया मार्फत म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने नेपाल धेरै सम्भावना र अवसर भएको देश हो । हामी निराश हुनु हुँदैन । मैले यो कुरा देखेर र भोगेर बोलेको हो । म क्यानाडा को क्यालगरी शहर मा बस्छु र यहाँ वर्षको आठ महिना हिउँ जम्छ । उक्त अवधिभर कुनै खेतीपाती र बाहिरी निर्माणका कार्यहरु असम्भव हुन्छ ।
समग्र क्यानाडा देशकै अवस्था कÞरिब यही हो । यस्तो देशले वर्षको एक सिजन खेती गरेर अन्न विदेशसम्म बेचेर पैसा कमाउँछ । मासु जन्य वस्तुहरु चीन सम्म पुर्याएर विक्री गर्छ र आफू तरकारी र फलफूल अमेरिका र मेक्सिकोबाट खरीद गर्छ । देशको समग्र शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात राज्य नियत्रित छ । शिक्षा र स्वास्थ्य निःशुल्क छ । जनता इमान्दार भएर कर तिर्छन् र राज्य बाट अधिकारको रुपमा सुबिधा पाउछन् ।
यसैले हाम्रो देशमा पनि यो कोरोना महामारीको प्रभाव पछि कृषिले नेपालीहरुको आयमा सुधार ल्याउँदै कृषिक्रान्तीमा अगाडि जान सकोस् । समग्र नेपालीहरु त्यसकैलागि लाग्न सक्नु पर्दछ ।