सिडिओ, डिएस्पी र मेयरसाब प्रति नागरिकको प्रश्न ?

चैत,१३, प्रकाश परिष्कार

रामेछाप । विश्व कोरोना जंग लडिरहेको छ । यो पंक्तिकारले यो आलेख तयार पार्दा सम्म (बिहिबार साँझ ५ बजे) नेपालको सन्दर्भमा ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ६ सय ८७ जनामा कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ सय ८४ जना चेकजाँच पछि घर फर्किएका छन् । कोरोनाबाट विश्वमा ४ लाख भन्दा बेसी जनसंख्या प्रभावित भएको छ भने २२ हजार भन्दा बढी मानिसहरुको दुःखद मृत्यु भएको छ ।
यो त भयो कोरोना अपडेट । अब यो पंक्तिकार रामेछापको कोरोनाको विश्लेषणात्मक अपडेट ।
‘चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि । मान्छे पनि चियाजस्तै हुनुपर्छ आवश्यक ठाउँमा गुलियो नभए कडा’ महान चिनियाँ दार्शनिक ज्याङ सि मिनको यो भनाईलाई यतिबेला सम्झनु बढी उपयुक्त हुन आउँछ । हो यही अवस्थालाई राज्यले यतिबेला अबलम्बन गर्नु जरुरी छ ।
विश्व यतिबेला संकटमा भएको बेला नेपालमा पनि सो संकट छैन भन्नु नितान्त मुर्खता हो । नेपाल जस्तो स्रोत र साधनले विपन्न मुलुकमा कोरोना जस्तो भयानक महामारीसँग जुध्नु निकै चुनौतिपूर्ण छ, मेडिकल्ली त झन असम्भव भन्न हिचकिचाउने अवस्था छैन । देश यतिबेला एकान्तबासमा छ । सामाजिक संजालमा विभिन्न टिकाटिप्पणीहरु हुने गरेका छन् । कोही भन्छन्, ‘कम्युनिष्ट सरकारले त सुतिसुती खान दिन्छ भन्थे हो रहेछ ।’ यस्ता फेसबुके गफ चल्दै गर्दा संयोग कोरोना भाइरसको संक्रमण पनि देशको इतिहासकै बलियो कम्युनिष्ट सरकारको पालामा भइरहेको छ । जुनसुकै सरकारको पालामा भएको भए पनि यो महामारी हुनुथ्यो, भयो । अबको हाम्रो अन्तिम र उत्तम विकल्प भनेको नै एकान्तवास हुनु हो । जो आज हामी गरिरहेका छौं ।


कहिले काँही त लाग्छ, यो सपना भइदिए पनि हुन्थ्यो, तर हकिकतमा यो भोग्दैछ विश्व । हामी रामेछापेली नागरिकहरु पनि यस्तै हविगतमा गुज्रिरहेका छौं । नेपाल सरकारको आदेशमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । स्थानीयहरु यसको पालना गरिरहेका छन् पनि । राज्यस्तरबाट नै यो महामारीलाई समयमा नै सामान्य सौच्दा यसको भौतिक स्वरुप इटालीको जस्तो नहोला भन्न सकिने अवस्था छैन । कोरोनाका संक्रमितहरु दिनानुदिन थपिने क्रममा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हविगत, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जनस्वास्थय प्रयोेगशाला र अन्य सरकारी निजी अस्पतालहरुको बीचमा हुन नसकेको समन्वयले हामी नेपालीहरु पनि अस्ट्रेलियाली जनताको जस्तो बिगत भोग्न बाध्य हुँदैछौं भन्ने कुराको ज्वलन्त प्रमाण हो ।
रामेछाप जिल्लाको सदरमुकाम लकडाउनमा पूर्णतया बाँधिएको छैन । देशभरका जिल्लाहरुको लकडाउनकोे अवस्थालाई हिजो सरकारले पहिलो दिन भन्दा दोस्रो दिन बढी प्रभावकारी भएको तथ्य बाहिर ल्याउँदै गर्दा जिल्ला प्रशासन कार्यालय, रामेछापले हिजो (२०७६ चैत्र १२ गते) बेलुका गृह मन्त्रालयलाई पठाएको रिपोर्ट जे थियो, त्यो शतप्रतिशत सही थियो भन्न सकिने अवस्था रहेन । हिजो रामेछापको मन्थली पूर्ण लकडाउन थियो भनेर कसरी भन्न सकिन्थ्यो ? जिल्लाको मुख्य बजार देवकोटा चोकमा केही पसलहरु खुलिरहेका थिए भने मानिसहरुको अनावश्यक आवतजावत पनि उस्तै थियो । मोटरसाइकलमा अनावश्यक रुपमा ओहोरदोहोर गर्ने युवाहरुको अवस्था पनि उस्तै थियो । तिघ्रा र पाखुरा ठूला हुँदैमा राज्यले दिएको आदेशलाई पालना गर्नु पर्दैन भन्ने दम्भ केही युवाहरुमा देखिएको थियो, त्यसलाई प्रहरी प्रशासनले अत्यन्तै नजिकबाट देखिरहेको थियो ।
तर प्रहरी प्रशासन मौन ।

आखिर यो रवैया कहिले सम्म ? कोरोनाको त्रास र राज्यको आदेशलाई सकसपूर्वक भोगिरहेका मन्थलीबासीहरुको धैर्यलाई केही युवाहरुको मुख्र्याइँ र बल मिच्याँइले कस्तो नजिरको प्रमाण पेश गर्दैछ ? अरु सडकमा निस्किए भनेर सबै निस्कनु पर्छ भन्ने होइन । यो एकान्तवास आफ्नै सुरक्षाको लागि हो भन्ने धेरै नागरिकहरुमा चेतना छ तर यस्तो बेकम्मा बेवकुफहरुको रवैयाले अन्य व्यक्तिहरुको जीवनमा आउने संभावित संकटको जिम्मेवारी लिने को ?
संक्रमित हुँदा म मात्रै हुने हो, अरुलाई के मतलब भन्ने स्वाँठहरु पनि यही मन्थली बजारमा लकडाउनको समयमा बरालिँदै हिँड्ने बेवकुफहरुमा नदेखिएको होइन । उनीहरुले नबुझेका होइनन्, नियम कानुन केही होइन मैले जे गरेपनि हुन्छ, भन्ने कुल्सित मानसिकताले घर गरेको हो । अब यस्तो अवस्थामा यस्ता बज्रस्वाँठहरुको यो दम्भलाई भत्काउने निकाय खोइ सिडिओसाब् ?
हिजो समान्य अवस्थामा तपाईं र तपाईंकै जुनियरहरुसँग हात मिलाउँदै, चिया पिउँदै अँगालोमारेका तथा कुनै न कुनै राजनैतिक पार्टीका आडमा भाइगिरी देखाइरहेका ठेउकेहरु नै हुन् नियम नमान्ने । हिजो हात मिलाएका साथी मित्रहरुलाई आज कसरी नियमको अवज्ञा गरेको बारेमा सचेत गराउँ भन्ने भ्रम बोकेका तपाईंका संगठन भित्रका प्रहरीहरुलाई कसरी यो विरुद्धको एक्शनमा ल्याउनु हुन्छ डिएस्पीसाब् ?
जिल्लाका भौगोलिक रुपले टाढा रहेका दुई गाउँपालिकाहरु गोकुलगंगा र उमाकुण्डले बनाएक आइसोलेसन र क्वारेन्टाइनहरु देख्नु भएको छ नि हैन मेयरसाब् ? मन्थली मा.वि.को भवनमा भुँइमा बनाइएको आइसोलेसनले यहाँको कार्यशैलीमा कस्तो अट्टाहस भइरहेको छ, त्यो सुन्नु भएको छ ? मान्छु, कुनै दैवी विपत्तिका बेला तुरुन्तका तुरुन्ती कुनै भनेजस्तो बन्दोबस्त गर्न सकिँदैन । जे छ, त्यसैमा काम चलाउनु पर्छ । तर सिमेन्टेड भवनको चिसो भुँइमा बनाइएको ओच्छ्यानहरुमा भोलि हुने सम्भावित कोरोनाका संक्रमितहरुले झन कस्तो पिडा भोग्नु पर्ला मेयर साब् ?
मेयरसाब् कम्तीमा मन्थली माविमा भएका बेन्चहरुलाई जोडेर बेड बनाइदिएको भए पनि क्वारेन्टाइन कति राम्रो हुने थियो । ल त्यो पनि मिलेन, तपाईं आफैं र मन्थली नगरपालिकाले औपचारिक आह्वान गरी बजारबासीहरुसँग समन्वय गरी होटल तथा व्यक्तिगत घरका प्रयोग विहिन खाटहरुलाई निर्मलीकरण गरी प्रयोग गर्नुभएको भए के यस्तो सघन परिवेशमा कसैले आफ्नो नगरपालिकालाई यो सहयोग गर्न तयार हुँदैनथ्यो होला र ? कम्तीमा होटल व्यवसायीहरुको संगठन सँग समन्वय गरी प्रत्येक होटलबाट १÷१ वटा खाट माग गरेको भए के हाम्रा बजारका होटल व्यवसायीहरुले त्यति सहयोग गर्ने थिएनन् त मेयरसाब् ?

अन्य गाउँ तथा नगरपालिकामा बनाइएका क्वारेन्टाइनहरु पनि धेरैजसो विद्यालयका बेच्चलाई जोडेर बनाइएका छन् कि खाट प्रयोग गरिएका छन् । के बाँकी गाउँ तथा नगरपालिकाले कोरोनाका लागि भनेर पहिल्यै खाट तयारी गरे या यसैका लागि भन्दै तयारी गर्न लगाए ?
दिन प्रतिदिन काम भन्दा बाहेकका ट्रकका चालकहरु परिवार बोकेर ससुराली गइरहेका छन्, मोटरसाइकलहरु खुला सडकमा बत्तिरहेका छन् । यस्तो अवस्थामा सिधै एक्शन लिने निकाय के हेर्दैछ ?


आउँदो १८ गतेबाट यो एकान्तबास (लकडाउन) फेरि लम्बिने अत्यन्तै धेरै सम्भावना छ । विभिन्न संचारमाध्यमहरुमा यस बारेका समाचारहरु आइरहेकै छन् । भलै कुनै अनलाइन मिडियाले आफ्नो टिआरपी बढाउनका लागि गलतै समाचार वा काल्पनिक समाचारै लेखेको भए पनि त्यो हुने हुने सम्भावना छ । यस्तो अवस्थामा अझै हामीले यस्तै देखावा गतिविधिहरु गर्दै जाने हो भने भोेलि निकै खतरनाक अवस्था निम्तिन सक्छ । मन्थली बजार र जिल्लाका अन्य बजार क्षेत्रको लकडाउनलाई कडाइ गरिनु पर्छ । यदि सरकारले गरेको यो आदेशलाई अवज्ञा गर्नेलाई ६ फिट लामो भाटाले बजाउँदा के फरक पर्छ । देश र जनताहरु बाँचे भने मानव अधिकारको कुरा पछि गर्दै गरौंला ।
यो सघन अवस्था हो । यो अवस्थामा एउटा व्यक्तिको कारणले अन्य धेरै व्यक्तिहरु कोरोनाको शिकार बन्नु पर्ने खतरा उत्तिकै छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै हामी नागरिकहरु नै सचेत बन्दै आफ्नो आफ्नो बासस्थानमा धैर्यता पूर्वक एकान्तबासमा रहनु पर्ने हुन्छ । सबैले हेक्का राखौं, हुरी र चट्याङ्ग सँगै घनघोर बर्षिएको मुशलधारे पानी पनि उसको निष्चित समय पछि रोकिन्छ र सुर्यको लालिमा पृथ्वीमा झर्छ नै ।

(लेखक मालश्री साप्ताहिक मन्थलीका सम्पादक हुन्)