८ जेठ,
रामेछाप । मन्थली सहित् स्मृति बहुमुखी क्याम्पस हरियाली क्याम्पसको उपमा पाउँदै गएको छ । रामेछाप जस्तो सुख्खाग्रस्त जिल्ला त्यसमा पनि मन्थली जस्तो अझ सुख्खा ठाउँमा यस क्याम्पसको उपमा हरियाली क्याम्पस भएको हो ।
भर्खरै विश्व विद्यालय अनुदान आयोगवाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरको यस विद्यालयको गतिविधि हरियालीतर्फ अझ सशक्त भएको हो ।
क्याम्पसको हरियाली र यसले क्याम्पसको पठनपाठनमा पारेको प्रभाव सम्बन्धी जनता भ्वाइससँग कुराकानी गर्दै क्याम्पस प्रमुख ऋषि कार्की भन्छन्, ‘क्यूएएको मापदण्डमा ग्रिन क्याम्पसको अवधारणा पनि समावेश भएको कारणले समेत यो हरियाली विकास भएको हो । त्यो सँगसँगै हरियो रङ्ग जीवनवादी रङ्ग भएकाले यसको विकास गरिएको हो ।’
क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई ‘प्रशर’ गरेर यो वातावरण निर्माण गरेको भन्दा पनि विद्यार्थीहरु स्वयं नै यस कार्यको सुरुआत गरेको कार्की बताउँछन् ।
हेर्दा पनि लाग्छ, मन्थली जस्तो सुख्खा ठाउँमा पनि यस्तो हरियाली कसरी सम्भव भएको होला ? जो कोही पनि यो विषयमा सोचमग्न हुन्छ ।
विद्यार्थी मात्र नभएर शिक्षकहरु पनि हरियो क्याम्पसका लागि अग्रसर छन् । मात्रै जागिर खाने मानसिकताबाट यहाँ अध्यापन गर्ने शिक्षकहरु प्रेरित छैनन् । कुराकानीमा नै कार्की अगाडि भन्छन्, ‘यहाँका शिक्षकहरु यो लकडाउनको समयमा पनि आफ्नो स्वास्थ्यको समेत परवाह नगरी यहाँ आएर आलोपालो क्याम्पस लगायत यहाँको वस्तुस्थितिको नियमित अध्ययन गरिरहनु हुन्छ । यसले गर्दा पनि क्याम्पसको यो अवस्थामा विकास हुन सकेको हो ।’
क्यूएए प्राप्तिका लागि आवश्यक पर्ने सफा, सस्तो र सुविधायुक्त खाजाघर (क्यान्टिन) पनि निर्धारित लक्ष्यमा पर्ने भएकोले सो लक्ष्य समेत यस क्यापसले निर्धारण गरेको छ ।
‘आफूहरुले विद्यार्थीहरुका लागि संचालन गरेको खाजाघरमा आवश्यक पर्ने तरकारीहरु सकेसम्म आफैंले अग्र्यानिक रुपमा उत्पादन गर्ने भएकोले पनि यहाँको खानाका परिकारहरु सस्तो छ ।’
१५ रोपनी क्षेत्रफलमा फैलिएको यस क्याम्पसमा फलफूल रोपणकार्य समेत गरिएको छ । आँपका धेरै विरुवाहरु कोही हुर्किरहेका छन् भने कोही फलिसमेत सकेका छन् । थोपा सिँचाईको राम्रो प्रबन्ध गरिएको छ ।
रामेछाप जिल्लाकै शानको रुपमा स्थापित हुँदै गरेको यस मन्थली सहित् स्मृति बहुमुखी क्याम्पसले जिल्लाकै गरिमा बोक्न सफल भएको छ ।