अजय विक्रम मानन्धर, डिभिजन वन अधिकृत,महेन्द्रनगर, कञ्चनपुर
(वर्तमान नेपालको सामुदायिक वनको अवस्था र सामुदायिक वन उपभोक्ता समूहको वन प्रतिको अपनत्वका विषयमा मानन्धरसँग गरिएको अनौपचारिक कुराकानीको सम्पादित अंश–सम्पादक)
पहाडको जस्तो वन क्षेत्रको अवस्था तराईमा छैन । यहाँका सामुदायिक वनहरु नै भयंकर ठूला हुने गर्दछन् । ठूला सामुदायिक वनहरु भएपछि आम्दानी पनि धेरै हुने भयो नै । तर यहाँको अवस्था निकै उदेकलाग्दो छ ।
यहाँका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु नै तरस्करसँग मिलेका हुन्छन् । भर्खरै म कञ्चनपुरको डिभिजन वन अधिकृत भएर आएपछि एउटा सामुदायिक वनको उपाध्यक्षलाई तस्करी गरेको प्रमाण पुर्याइ ल्याएर थुनामा राखिएको छ । म पनि अहिलेसम्म तराई क्षेत्रको डिएफओ भएर काम गरेको पहिलो पटक हो । सामुदायिक वनका पदाधिकारीहरु त आप्mनो वन प्रति बफादार हुन्छन् भन्ने लाग्थ्यो । पहाडी क्षेत्रको वनको अवस्थालाई हेर्दा त्यस्तै देखिन्थ्यो । तर यहाँ त्यस्तो हुँदो रहेनछ । तराईका सामुदायिक वनको अर्थको पाटो निकै फराकिलो हुने गर्दछ ।
म २०४८ सालबाट वन क्षेत्रमा प्रवेश गर्दा अहिलेको जस्तो वनको अवस्था थिएन । जनस्तरमा सामुदायिक वनको अवधारणा बुझाउन नै निकै हम्मेहम्मे पर्दथ्यो । त्यस्तो बेलामा पनि मैले रेन्जर पदबाट आफ्नो सेवा सुरु गर्दा हामीले कति जनस्तरमा गएर सामुदायिक वनको अवधारणामा सरकारको तर्फबाट निकै कार्यक्रमहरु संचालन गर्यौं । ‘यतिसम्म कि त्यो बेला जनस्तरमा गएर सामुदायिक वनको अवधारणा सार्वजनिक गर्दा अब सरकारले वन क्षेत्र खायो । अहिले हामीले दुःख गरेर वन हुर्काउँदा भोलि सरकारले हामीबाट खोस्छ ।’ भन्ने धारणा जनस्तरमा रहेको थियो ।
२०–२१ वर्षको उमेरमा रेन्जर भएर जनस्तरमा जाँदा मलाई म रेन्जर हूँ भन्ने पत्याउँदैन थिए । त्यो बेलाको जनस्तरको बुझाईमा रेन्जर भनेको मधेसीमूलको हुने, मोटोमोटो, पुक्क पेट उठेको, जुँघाको मुठा झ्याप्प भएको हुन्छ भन्ने बुझाई भएको बेलामा मलाई जनस्तरले रेन्जरको रुपमा पत्याउने त कुरै भएन । तर पनि मैले जनस्तरलाई मेरो आफ्नै कार्यशैली र प्रभावले काम लिन र उहाँहरुलाई विश्वासमा लिन सफल भएको थिएँ ।
जब २०४९ सालमा पहिलो वन ऐन आयो, त्यसपछि हामीलाई अक्षरसः काम कार्य गर्न सजिलो भयो । हामीले हाम्रा कुराहरु अरुलाई बुझाउनको लागि अझै सजिलो हुँदै गएर बिस्तार बिस्तार सामुदायिक वनहरुको गठन प्रक्रिया अगाडि बढेको थियो ।
हाल सामुदायिक वनहरुको अवस्था तराईमा भन्दा पहाडमा निकै सबल छ । त्यहाँ सामुदायिक वन प्रतिको माया गर्ने उपभोक्ताहरु छन् । संरक्षण, संवद्धन र सदुपयोगको पाटो निक्कै ओझिलो छ । जुन जस्तो अवस्थामा वन भएता पनि उहाँहरुले वनलाई गरेको माया देख्दा खुब आनन्द आउँछ । तर त्यसको ठ्याक्कै उल्टो तराई तिर त्यतिधेरै जनस्तरमा आफ्नो सामुदायिक वनप्रति माया पलाएको जस्तो मलाई लाग्दैन । जसले जसरी सक्छ, त्यसले त्यो वनलाई सोही रुपबाट भोगचलन गर्न खोज्दा रहेछन् । यो त सिधै सामुदायिक वन प्रतिको दुरुपयोग भएन र ?
सुन्नुहोस् टेलिफोन कुराकानी…