जेठ २०,
रामेछाप। रामेछाप जिल्लामा दुर्गानदी पनि छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । सुनकोसी नदी, तामाकोसी नदीसँगै रामेछाप जिल्लाबाट दुर्गानदीको पनि बहाव रहेको छ भन्ने प्रायःलाई थाहा छैन ।
मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको सीमाना भएर बग्ने जनबोलीको भाषामा चिनिने भटौली खोलालाई नै दुर्गानदी भनिन्छ । जनबोलीको भाषामा भटौली खोला भनेर चिनिने दुर्गानदीको अस्तित्व एउटा सानो कुवाबाट सुरु हुन्छ । यहाँहरुले देखिरहनु भएको यो कुवा नै दुर्गानदीको अस्तित्व हो भन्दा साँच्चै अचम्मै लाग्छ ।
वरपर हेर्दा लेकाली प्रजातिका विरुवा र बञ्जर भूमि छ । मनग्य पानीको स्रोत भएको ठाउँ पनि होइन यो । हेर्दा कुनै गाउँमा पानीको लागि प्रयोग गरिने कुवा भन्दा फरक देखिँदैन । तर वास्तविकता पनि यही हो । यो कुवाभन्दा दक्षिणतर्फको १ सय मिटर तलको भू–भागसम्म पानीको गतिलो जरुवा रहेको छ । यसै श्रोतबाट खाँडादेवी गाउँपालिका, विशेषगरी माकादुम क्षेत्रका बासिन्दाहरुको जल भरोसाको केन्द्र यही स्थान रहने गरेको छ ।
दुर्गा नदीको शिर भनेर मानिने यस कुवाको पनि अलग्गै पहिचान रहेको छ । यो स्थान भन्दा ५ सय मिटर माथि रहेको खाँडादेवी मन्दिरमा यो कुवाको जल बिना दैनिक नित्य पूजा अर्थात् ‘निमपूजा’ गर्न मिल्दैन । त्यहाँका पुजारीले दैनिकरुपमा यो कुवामा आएर नित्य स्नान गरेर यहाँको पानीले खाँडादेवीलाई अभिषेक नगरे सम्म यो पूजा सार्थक नहुने जनविश्वास रहिआएको छ ।
पछिल्लो पुस्ताका मान्छेहरु आफ्ना मौलिक परम्परा र वास्तविकताबाट निकै नै टाढा हुँदै गइरहेका छन् । झन पछिल्लो समयमा सार्थक शिक्षाका लागि शहर पस्ने प्रवृत्ति झाङ्गिदै गएका कारण पनि धेरै बालबालिकाहरु यो वास्तविकताबाट टाढा भइरहेका छन् । गाउँका बुढापाकाहरु, जो यो विषयमा जानकार छन्, उनीहरुसँग यो बारेमा सोध्न कोही आउँदैन तसर्थ उनीहरुको स्मरणबाट पनि यो वास्तविकता विस्तारै धूमिल बन्दै छ ।
खाँडादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तामाङले भने अनुसार यो नदीको वास्तविकताबारे व्यापक प्रचार प्रसार गरिन सक्नु पर्छ । तामाङ मात्र नभएर दुर्गा नदीको पौराणिक वस्तविकतालाई मन्थली नगरपालिका वडा नं. ७ का ७२ वर्षिय वृद्ध श्रीवंश कँडेल यो नदी पौराण्कि महत्वको भएको स्वीकार्छन् ।
सामान्यतया नदीहरु उत्तरबाट दक्षिण तर्फ बहाव लिने गर्दछन् भने पश्चिमबाट पूर्व बाहिनी नदीको रुपमा दुर्गानदीलाई चिनिन्छ । पौराणिक मान्यतामा समेत यो नदीको विशेषता झल्किन्छ भन्ने कुरा हिमवत खण्डमा समेत व्याख्या भएको कँडेल स्वीकार गर्दछन् ।
मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका तामाकोसी नदी किनारका उर्वरायुक्त भूमिलाई यो नदीले सिँचाईको प्रवन्ध गराएको छ । तर हजारौं मानिसलाई प्राण धान्नका लागि प्रयोग हुने यो नदीले भने आफ्नो परिचय खुलस्त भएर दिन सकेको छैन । दुर्गानदीलाई स्थानीय सरकारले विशेष महत्व दिएर पौराणिक मान्यतामा समेत आफूलाई स्थापित गर्न सफल भएको यस नदीसँग जोडिएको खाँडादेवीको वास्तविकतालाई व्यापाक प्रचार प्रसारमा लैजान सक्दा स्थानीय अस्तित्व र मौलिकताको पहिचान हुन सक्छ ।