जेठ २३, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका कृषक खड्गबहादुर कार्कीले आफ्नो ५ रोपनी क्षेत्रफलको बारीमा बुद्धचित्त रोपण गरेका छन् । विगत ५ वर्ष अघि रोपिएको बुद्धचित्तको गत वर्ष देखि उत्पादन कार्य सुरु भएको छ भने यस वर्ष पनि कार्कीको बगैचामा भएको बुद्ध चित्तले राम्रो आम्दानी दिने देखिएको छ ।
बुद्धचित्त, बोधिचित्त स्थान अनुसार यसको अलग अलग नामाकरण गरिएको छ । वाक्य संरचना तथा निर्माणका आधारमा हेर्ने हो भने बोधि र चित्त यी दुई शब्द मिलेर बनेको पूर्ण शब्द हो बोधिचित्त । यस शब्दको खास अर्थ बोधि अर्थात् स्वच्छ बुद्धि र चित अर्थात् मन भन्ने हुन्छ ।
यसको समग्र अर्थ भन्नुपर्दा स्वच्छ सफा मन र बुद्धिको लागि यो माला बहु उपयोगी हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास रहेको छ । यस बोधिचित्त मालाको जप गरेमा धर्म प्राप्ती हुने र मोक्षको बाटो खुल्ने बौद्ध धार्मिक विश्वास रहेको छ ।
यो माला जति पुरानो हुँदै गयो, त्यत्ति नै त्यसमा चमक आउने गर्दछ । त्यसैले यस प्रकारको मालालाई पुरानो बनाउने तथा पुरानो माला प्रति नै बौद्धधर्मावलम्बी हरु आकर्षित हुने गर्दछन् ।
गत वर्ष सुनारपानीका कार्कीले यसको राम्रै आम्दानी लिन सक्ने सम्भावना थियो । तर बिडम्बना उनले उत्पादन गरेको बोधिचित्त अघिल्लो वर्ष बिक्न नसकेर कार्की निराश छन् । अघिल्लो वर्ष पनि अन्दाजी २० केजी उत्पादन भएको बोधिचित्त उनले बेच्न नसकेको गुनासो गरेका छन् ।
बोधिचित्तको नेपालमा उत्पत्ति अन्दाजी सातौं शताब्दीमा भएको बौद्धधर्मावलम्बी हरुको विश्वास रहेको छ । सातौं शताब्दीको मध्यकाल तिर भारतबाट नेपाल हुँदै तिब्बत जाने क्रममा बौद्ध धर्मगुरु रिम्पोछे अर्थात् पद्म सम्भव नेपालको काभे्रको तिमाल हुँदै गएको विश्वास रहेको छ । हाल उक्त स्थान यारि नाग अर्थात् धेलुङ पहरा भनी प्रख्यात छ भने हाल सो स्थानमा गुफा समेत रहेको छ ।
जसभित्र बौद्ध धर्मसंग सम्बन्धित विभिन्न वस्तुहरुको आकृति अहिले पनि देख्न सकिन्छ र गुफा बाहिर गुरु पद्म सम्भवको जुत्ताको निशानीरुपी शिला समेत देख्न सकिन्छ ।
गुरु रिम्पोछे अर्थात् पद्म सम्भव त्यस स्थानमा तपस्या पश्चात उक्त स्थलमा बोधिचित्त मालाको बिउ छरेर आफ्नो गन्तव्य तिर गएको भनी बौध धर्मग्रन्थ पेमा काथाङ्गमा उल्लेख गरिएको पाइन्छ । उक्त समयदेखि नै यो बोधिचित्त माला प्रचलनमा आइरहेको छ ।
बोधिचित्तको यस्तो इतिहास हुँदै गर्दा र नेपालमा पनि काभ्रे लगायतका जिल्लाहरुमा यसको उत्पादन भएको अवस्थामा केही कृषकहरुले लगाएका बोधिचित्तको मूल्य पाउन सकेका छैनन् । आफूले गत वर्ष उत्पादन गरेको बोधिचित्त बिक्न नसकेर यत्तिकै थन्किएमा कृषक खड्गबहादुर कार्कीका छोरा ओपन्द्र कार्की निराश हुँदै भन्छन्,
‘यदि बेच्न पाइएको भए अहिले पनि ६०–७० लाखको बोधिचित्त थियो । तर के गर्नु बेच्न सकिएन । दुःख मात्रै खेर गयो ।’
विश्वमा १ सय उनान्असीवटा भन्दा बढी देशहरु बौद्धमार्गी देशहरु छन् । बौद्ध परम्परालाई मान्ने देशका हर नागरिकहरुले सकेसम्म आफ्नो घरमा एउटासम्म भए पनि बोधिचित्तको माला राख्न चाहन्छन् । विश्व बजारमा बोधिचित्तको राम्रो माग भएको अवस्थामा स्थानीयस्तरका केही कृषकहरुको उत्पादनले भने बजार पाउन सकेको छैन ।
यतिबेला कार्कीको बगैचामा ५० वटा भन्दा बढी बोधिचित्तका बोटहरु रहेका छन् । तिनीहरु प्रत्येकले फल हुर्काइरहेका देखिन्छन् । विगत ५ वर्ष अघि काभ्रेका तिमालबाट प्रतिगोटा १ हजार रुपैयाँमा खरिद गरेर ल्याएको कुनै पनि विरुवा मर्न भने पाएन । यसलाई आफ्नो सौभाग्य भएको कार्की स्वीकार्छन् ।
बोधिचितको बिरुवा सम शितोष्ण वर्गमा पर्ने विरुवा हो । यसलाई पुसदेखि माघ महिनामा रोप्नु सर्वोत्तम मानिन्छ । तर पनि उचित वातावरणको निर्माण गर्न सकेमा असार साउनमा पनि यो बिरुवा रोप्न सकिन्छ । यसलाई समुन्द्रि सतहबाट ४०० देखि २००० मिटर सम्मको उचाईमा सफल खेती गर्न सकिन्छ ।
बिरुवा रोप्नको लागि थोरै पानी पर्ने सुख्खा ठाँउ, धेरैजसो रातो माटो भएको ठाँउमा यसको खेती फस्टाउने गर्दछ । बिरुवा राम्रोसँग हुर्किएपछि अन्य बिरुवालाई झैँ यसलाई स्याहार नगरे पनि हुन्छ । यो बिरुवा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु उत्तम मानिन्छ । बिरुवा रोपेपछि आवश्यक मात्रामा त्यसलाई सिंचाई, मलखाद तथा गोडमेलको उचित प्रबन्ध मिलाउनुपर्छ ।
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फलिरहेको प्रकार अनुसार ३ देखि ७ मुखे सम्मको मूल्य प्रति गोटा ४ सयदेखि ४ लाख रुपैयाँ सम्म पर्ने गर्दछ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मूल्य हुन्छ । ७ मिलिमिटरकोे १ सय ८ गेडा अर्थात् एक मालाको ४ लाख रुपैयाँ मूल्य पर्छ भने साइज बढ्दै जाँदा मूल्य कम हुँदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखि ३० हजर सम्ममा बेचिन्छ ।
हाल देशमा कृषिका लागि विभिन्न बहस तथा क्रान्तिका कुरा चलिरहेका बेला बोधिचित्तजस्तो बहुमूल्य प्रजातिको व्यवसायिक खेतीतर्फ लाग्न कृषकहरुलाई स्थानीय तहहरुले प्रेरित गर्न सक्नु पर्दछ । विभिन्न उत्प्रेरणका कार्यक्रम मार्फत स्थानीय कृषकहरुलाई यो व्यवसायतर्फ आकर्षित गर्न सकियो भने देशको आर्थिक समृद्धि नजिकै छ भन्दा अन्यथा हुँदैन ।