जेठ २३,
रामेछाप। नेपालमा कोरोनाका कारण आज थप एक जनाको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै हिजो (बिहिबार) बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुर्खेत प्रादेशिक अस्पतालमा मृत्युपछि गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिए ।
भारतको मुम्बईबाट नेपाल आएर क्वारेन्टाइनमा १४ दिन बसेर २ पटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई गत २१ जेठमा घर पठाइएको थियो । उनको हिजो (बिहिबार) बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा बस्दासम्म कुनै पनि लक्षण नदेखिएको उनको एक्कासी मृत्यु भएको हो । हिजो एकको मृत्यु भएको पुष्टि भएको थियो । file phot/abctv स्रोत