बैशाख ३० गते स्थानिय चुनाब हुने निश्चित जस्तै छ । निर्वाचन आयोगले आफ्नो काम तिब्रताका साथ अगाडी बढाई सक्यो । बिभिन्न राजनितिकदलहरू आफ्नो प्रचारप्रसार र संगठन विस्तारका लागि बिभिन्न योजनाहरू लिई गाउँगाउँ छिरिसके ।आफ्नो पार्टीलाई जिताउन भोट नै माग्न थालिसके राजनितिक दलहरूले ।
हुन त चुनाव एउटा प्रक्रिया मात्रै हो। चुनावी प्रतक्रियाले राम्रो परिणाम निकाल्छ । मतलब राम्रो परिणाम निकाल्छ भन्ने आस गरौँ । चुनावले राम्रो परिणाम निकाल्छ भनि रहँदा केहि कताकता नमिले झैँ आभाष होला । हुन पनि हो चुनावले राम्रो परिणाम दिन सक्ने नेतृत्व ल्याउने हो । परिणाम नेतृत्वले दिने हो नेताले दिने हो । तर पनि चुनाव चुनाव नै हो, यसले राम्रो परिणाम दिनुनै पर्छ । परिणामको वरिपरि किन यति घुमिरहेको छ भनेर अचम्ममा नपर्नुस् । कुरोको चुरो नै यहि छ । चुनावी माहोलले गाउँघर, सहरबजार र चोकचोकका चिया पसलहरू तातिईसकेका छन् ।
आफूले आफूलाई र आफूले आफ्नोलाई कसले नराम्रो छ भन्छन् र ? सबै नेताले मै राम्रो भन्छन् । सबै पार्टीले आफ्नो पार्टी नै राम्रो भन्छन् । जनताको सेवाको लागि, देश विकासका लागि र आमूल परिवर्तनका लागि आफ्नो पार्टीले जित्नि अत्यावश्यक छ भन्छन् । तर नेपालको राजनितिमा भनाई र गराई आकाश जमिनको फरकछ । संसद भवनमा छिर्नु अघि ’ म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न ’ भन्ने नेताहरूनै भ्रष्टचारको दगदगमा डुबिसकेका हुन्छन् । नेताहरूलाई राम्ररी थाहा छ की पछि पैसा सोहोर्ने दिन नआउन सक्छ । सोहोर्ने दिन आएको बेला सोहोरेर पैसाको आडमा पावर र पहुँच देखाउने लालसा सँधै रहने गर्छ नेताहरूमा ।
चुनावनै हो जहाँ जनताले आफ्नो मतको शक्ति देखाउन सक्छन् , आफ्नो मतको सहि सदुपयोगले सहि व्यक्तिलाई नेतृत्वमा लान सक्छन् । असल र विकासवादी नेतृत्व छान्ने एउटै अवसर हो चुनाव । सहि ठाउँमा सहि व्यक्ति छान्न सके अवश्य विकासको मुल फुट्न सक्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलको शब्दलाई सापट्टी लिने हो भने नेता भनेको चोर हो । हामीले चुनाबममा चोर मध्येको कम चोर छान्नुको विकल्प छैन । मह काड्नेले हात अवश्य चाट्छन् । हामी हात चाट्ने नेतृत्व चुनौँ, माहुरिको मह सहित घार नै खाने नेताबाट बचौँ ।
हरेक समस्याको अन्तिम विकल्प चुनाब भएपनि चुनाब गर्न बातावरण चाहिन्छ । चुनावी वातावरण बनाउन नेतृत्वपङ्गिले कन्जुस्याई नगरुन् । चुनावका लागि एकले अर्कोलाई विश्वास गर्नुपर्छ । हुन त चुनाबै भए पनि आउने पात्र उही नै हुन् । यिनको संस्कार उही नै हो । भलै अनुहार फेरिन सक्ला । हिजोको दिनमा सहमतिको नाममा २÷२ ठाउँबाट हारेका माधब नेपाललाई प्रधानमन्त्री बनाएर लोकलाई हँसाउने र जनमतको खिल्ली उडाउने काम गरिएको यथार्थ ताजै छ ।स्थानिय चुनावमा पनि त्यस्तै नभएपनि त्यस्तै लाग्ने अरुखाले ’कु’ गर्ने चेष्टा नगर्दा राम्रो होला । स्थानिय तहमा भेगिय राजनीति र जातिय राजनीतिको दबदबा छ ।
हाम्रो नेपालका नेताहरूले न नाम कमाउन सके न त देशको नाम नै उचो राख्न सके । बिभिन्न काण्डै काण्डमा मुछिए आफै । ती काण्ड पट्टी जाँदै नजाउँ । त्यता जान लागियो भने यता शब्द विचलन हुन सक्छ । कहिलेकाहीं लाग्दछ, नेपालका नेताले अन्तर्राष्ट्रिय जगतमा किन नाम कमाएनन्? के, हामी सँग भएका सबै नेता कमसलै छन् त? हुन पनि कमजोरी त कति हुन् कति, जो नेताहरूको दिनानुदिन भागबण्डा राजनीतिले नै दर्शाउँछन् । भन्नु पनि के भन्नु? कति पो भन्नु ? म्यानपावर मालिकलाई नै खाडी मुलुककै लागि राजदूत नियुक्त गर्न सक्ने दलहरू छन् यहाँ । कति दिलदार छन् हाम्रा नेताहरू !
हामी जनता नेतालाई गाली गरेर कहिल्यै थाक्दैनौँ । नेता हामी जनताका गाली सुने पनि नसुने झै गर्न छाड्दैनन् । यो गालीको खेतिलाई बढावा दिनु भन्दा गाली नै नगर्ने तरिका खोजौँ । समाज अझै पनि सेवा भाव जागृत नेपाली भेटिन्छ नै । राजनितिलाई सेवा सम्झेर सेवा दिने नेतृत्व नभएको होईन । हामीले नेतृत्वमा राजनितिलाई व्यापार सम्झनेलाई पुर्याएका हौँ ।
चुनावको बेला टिकट दिने तरिकामा पनि फेर बदल गर्न जरुरी देखिन्छ । चुनावी मैदानमा उतार्ने ’क्यान्डिडेट’ को बारेमा टिकट दिने स्थानमा बसेकाहरूले थोरै मात्र अध्ययन गर्न सके जनताले सहि नेतृत्वलाई मतदान गरेर जिताउने थिए । टिकट दिँदा धन र बल भएको व्यक्ति छानिदा जनताले असल नेतृत्व नपाएका हुन् ।
धनको आडमा चुनावी मैदानमा उत्रिएर जितेकाले त्यो धनलाई लगानी सोच्दछन् । लगानी गरे पछि फाईदा लिनु नै पर्यो । लगानी उठाएर फाईदा कमाउने समय ज्मा ५ वर्षे करार हुन्छ । त्यही समयमा हो कमाउने उठाउने । कमाउनेको पनि के दोष? लगानी उठाउदा गलत हो र ? जनतालाई चुनावको बेलामा मासुभात, ब्राण्डेड मदिरा पिलाएको उठाउन परेन ? अतिथि सत्कार र ’पकेट मनि’का लागि गरेको लगानी उठाउन परेन ? गल्ती त जनताको पनि हो नि । भ्रष्ट बनाउन जनताले पनि सिकाएका हुन् नेतालाई ।
ज–जसलाई दोषको आरोप लगाएनी ’घुमिफिरि रुम्झाटार’ भने जस्तै हो । पाटीलाई चुनाब गराउने नाममा सत्ता नै चाहिएको हो, पद चाहिएको हो, आफ्नो हातमा पावर चाहिएको हो । हिजो अधिकार चाहियो भनेर आन्दोलन गर्नेहरु कैयौँ निर्मला बलात्कृर पछि मारिदा खै बालुवाटार घेरेका ? पावर र पहुँचको नाममा अपराधि लुकाईनुका लागि थियो नेतृत्व? दोषीको संरक्षण नाईके निर्माणका लागि थियो जनताको मतदान ?
यहाँ सबलाई डर छ, कुन मुख लिएर भोट माग्न जाने ? तर पनि लाज पचाएरै भए पनि भोट माग्न लुसुलुसु जान थालेका छन् । के नेताहरु भित्रि मनबाटै चुनाब चाहन्छन ? अझै पनि केहि हद सम्म शंकाको घेरा बाँकी नै छ । यहाँ के छ भने कालले मर्ने दोष जिब्रोलाई दिने चलन नेपालका राजनितिक पाटीहरुमा छ ।भन्न त आफैलाई लाज लाग्छ, तर नभिनि सकिदैन– हाम्रा नेतामा राजनैतिक संस्कार त छँदै छैन हामीले राजनीतिलाई कति दिनसम्म यस्तै कित्तामा प्रयोग गर्ने ?
कुराका कथा जति लम्ब्याए पनि लम्बिन्छ नै । नेपाली जनताको चाहना भनेकै संबृद्ध नेपाल सुखी नेपाली नै हो । यसका लागि नेतृत्वमा आउने नेताहरू प्रतिबद्ध, कटिबद्ध र जुझारु होउन । निर्नाचनका लागि राज्यकोषबाट खर्चिने १२ अर्बमा नेपाली जनताको पनि रगत पसिना मिसिएको छ । नेपाली जनताको रगत पसिनाको खर्चले नेतृत्वमा आउने सबैले जनताको ओठमा मुस्कान लय्याउन सकुन्। समृद्ध नेपाल निर्माण गरुन् । अग्रिम शुभकामना । र अन्त्यमा,नेताज्यू, मिठामिठा, सपनाका महल समेटेर घोषणापत्र नल्याउनुहोस् । तपाईको सोचले भ्याए सम्म र बजेटले भ्याउने सम्मको योजना सार्वजनिक गर्नुस् । जनता निद्रामा थिए हिजो । आज ब्युँझिसके ।