अप्रिल अधिकारी। जेठ १०,
रामेछाप । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण होटेल व्यावसाय धाराशायी बन्दै गएकोमा व्यावसायीहरुले चिन्ता व्यक्त गरेका छन । होटल तथा पर्यटन व्यावसायी संघ रामेछापका केही प्रतिनिधिहरुको बैठकले जिल्लाका होटल व्यावसायहरुको संचालनको अवस्थाको समिक्षा गर्दै लकडाउनको ठूलो मारमा होटल व्यावसाय परेको बताएका हुन ।
मन्थलीमा अधिकांश व्यापार व्यवसाय खस्किदै गएको अवस्थामा यतिबेला सरकारले गरेको लकडाउनको ठूलो मारमा होटल व्यावसायीहरु परेको होटल तथा पर्यटन व्यावसायी संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताए । कतिपयको होटल व्यावसायबाट नै पलायन हुनु पर्ने अवस्था आएको श्रेष्ठले बताए । ऋण गरेर व्यावसाय संचालन गर्नेहरुको यतिबेला ऋणले ढाड सेकेको छ तर त्यसतर्फ राज्यको ध्यान जान सकेको छैन । ऋणको व्याज तिरि रहनु पर्छ व्यावसाय संचालन हुन सकेका छैनन कसरी व्यावसायीले बैंकको किस्ता र व्याज बुझाउने होटल व्यावसायी सुदिप देवकोटाले बताए । उनले त्यसतर्फ सरकार र बैंकिङ निकायको ध्यान जानु पर्ने र निश्चित समयका लागि सहुलियतका प्रबन्ध मिलाउन आवश्यक रहेको बताए । व्यावसाय संचालन नभएको अवस्थामा भाडा छुट र अन्य सहुलियतको प्रवन्ध मिलाउन जरुरी व्यावसायीहरुको माग रहेको छ ।
होटलहरु यतिबेला धाराशायी बन्दै गइरहेको अवस्था सरकारलाई छर्लङ छ तर पनि सरकार होटल व्यावसाय संचालनको प्रबन्ध मिलाउनतर्फ लागि नपर्नु व्यावासायीहरुको लागि दुर्भाग्य बन्दै गएको होटल व्यावसायी महासंघ नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार श्रेष्ठले बताए । व्यावसायीहरुले व्यावसायबाट कि त हात नै धुनु पर्ने अवस्था छ कि त राज्यलाई घचघच्याएर व्यावसाय संचालन गर्ने उचित प्रवन्ध मिलाउनुको अरु विकल्प नरहेको श्रेष्ठले बताए । अब चौतर्फि रुपमा दवावको सृजना गर्नु पर्ने बेला आएको छ सोही अनुरुप व्यावसायीहरुको हकहितमा कसरी काम गर्न सकिन्छ र सरकारलाई दवाव सृजना गरी जोखिमबाट बच्दै व्यावसाय संचालन गर्ने आधार कसरी तयार गर्न सकिन्छ भन्दै महासंघ आफ्नो ठाउबाट लागि परि रहेको श्रेष्ठले बताए ।