कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा तीव्र भएका बेला लिखु तामाकोसी गाउँपालिका वडा नं. ७ तिल्पुङ्का उडाध्यक्ष सुवास बोहोरासँग बोहोरा अंकले गरेको कुराकानीको सम्पादित अंश– प्रधान सम्पादक)
स्वागत छ यहाँलाई ‘जनता भ्वाइस’ मा ।
धन्यावाद् ।
तपाईको वडामा कोरोना भाइरस (कोभिड १९) लाई संक्रमण नियन्त्रणको कस्तो प्रयास भइरहेको छ ?
मैले कोभिड १९ लाई आफ्नो वडास्तरमा फैलिन नदिन दैनिक प्रचारप्रसारमा कटिबद्ध भएर लागेको छु । यतिसम्म कि आफैं सक्रिय भएर माइकिङ गर्दै सचेतना फैलाउने देखि सुरक्षाको बारेमा पनि जानकारी गरेको छु । यदि कोराना भाइरसको संक्रमण देखिहालेमा क्वारेन्टिन सहित आइसोलेसन वार्ड खडा गरेको छु । साथै, स्वास्थ्य सँस्थालाइ पनि तयारी अवस्थामा बस्न निर्देशन गरेको छु ।
तपाईंको वडामा दैनिक आवतजावत बाक्लै हुने गरेको भन्ने सुनिन्छ नि ?
यो त गाउँ हो । यहाँ दैनिक जीविकोपार्जनका लागि विभिन्न कामहरु गर्नु पर्ने नै हुन्छ । खेतीपातीका कामहरु रोक्ने कुरा आउँदैन । सामाजिक दूरी कायम गरेर विकास निर्माणका कार्यहरु भइरहेका छन् । यतिबेला यही कोरोना भाइरसको कारणले बाँझा जमिनहरु खनिन थालेका छन् । यहाँको मात्रै के कुरा, सदरमुकाम मन्थली त पूर्णरुपमा लकडाउन हुन सकेको छैन ।
यसको अर्थ यहाँको वडा अब व्यवसायिक र आधुनिक कृषितर्फ उन्मुख भएको हो ?
त्यो अब अनिवार्यता नै हो । कोरोना भाइरसको अन्त्य सजिलै नहुने करिब करिब देखिइसक्यो । यस्तो अवस्थामा परम्परावादी कृषि प्रणालीमा लाग्ने र त्यसैलाई विश्वास गर्ने हो भने अबको पुस्ताले प्रगति गर्न सक्दैन । युवाहरुको सम्पूर्ण शक्ति अब आधुनिक कृषि कर्मतर्प उन्मुख हुनु नै पर्छ । अन्यथा जहाँको त्यहीँ रहने हो । मलाई लाग्छ, हामीले नयाँ नयाँ भिजन र कार्यक्रमहरु ल्याउँदै गयौं भने पक्कै पनि मेरो वडा मात्रै होइन, समग्र रामेछाप र देशभरी नै कृषिमा परिवर्तन आउन जरुरी छ । बस् सोच् र योजना जरुरी छ । यहाँ स्रोतको अभाव छैन ।
त्यसो हो भने त आधुनिक कृषि कार्यका लागि अब वडाबासीले वडाकै रोहबरमा बिऊ, मल लगायतका आवश्यक वस्तुहरु पाउन सक्लान् नि हैन ?
वडाले बिउ बिजनको वितरण गर्न सक्दैन । नियमानुसार गाउँपालिकामा कृषि शाखा हुन्छ, उसले नै वितरण गर्ने हो । हाम्रो गाउँपालिकाको हकमा हेर्ने हो भने हालसम्म गाउँ कार्यपालिकाको बैठक सम्म त बस्न सकेको अवस्था छैन भने कृषकहरुलाई बिउ बिजन र मलखाद वितरण गर्ने कुरामा मलाई विश्वास छैन । त्यसैले वडाबासीलाई म अनावश्यक आश्वासन दिन चाहन्न ।
नागरिकसँग निक्कै नजिकै हुने सरकारको वडा स्तरको सरकारको प्रमुख तपाईं । भोलि यस्तै लकडाउन चल्दै गयो भने वडामा भोकमरी लाग्यो भने पनि पालिकाकै मुख ताक्नु हुन्छ भनेर बुझौं ?
यस्तै अवस्था हो भने भोकमरी नलाग्ला भन्न सक्ने अवस्था छैन । यो संभावित अवस्थाको विषयमा हाम्रो गाउँपालिकामा कुनै कुराकानी नै हुँदैन । विभिन्न कारणले यो अवस्थाको सिर्जना भएको हो । लाग्छ, हामी त गाउँ कार्यपालिकाबाट कतै उछिट्टिएका छौं । वडाबासीहरुको बुझाई पनि नराम्रो होइन । गाउँपालिका भन्दा पहिला उनीहरुको घर आँगनमा भएको राज्य भने वडास्तर हो । तर वडाबासीहरुले बुझ्न के जरुरी छ भने गाउँपालिकाको एक्शन बिना हामील रियाक्शन दिन मिल्दैन । गाउँपालिका प्रमुखको प्रमाणीकरण बिना कुनै पनि वडामा बजेट जान सक्दैन । तर यहाँ निकै फरक वातावरणमा काम हुन्छ । यो बारेमा त वडाबासीहरुले पनि बुझ्नु भएकै होला जस्तो लाग्छ ।
संकटको समयमा विगतका क्लेशहरुलाई त्यागेर काम गर्नुपर्ने अवस्थामा तपाईंहरु आफैंमा गाँडकोराकोर गरेर नागरिकहरुलाई मारमा पारिरहनु भएको छ है ?
यो गम्भिर प्रश्न हो । गाउँपालिकामा भएको फन्डा निकै लामो छ । हामीले कुनैपनि विषयमा आफ्ना वडाका तर्फबाट, नागरिकहरुका तर्फबाट बोल्ने अवसर समेत दिँइदैन बैठकमा । यस्तो अवस्थामा पार्टीको चेन अफ् कमाण्डलाई पनि फलो गर्नेै पर्छ । आफ्नो पार्टीको शाख गिर्न दिनु पनि भएन । यतिबेला झगडा गरेर केही हुँदैन । तर मेयोले नै गतिलोसँग गाडिन नसकेपछि गोरुहरुले दाइँ कसरी गर्छन् ? हामी यतिबेला माउ बिनाको चल्ला जस्तो भएका छौं ।
तपाईंको वडामा कालोबाजरी निकै फस्टायो रे नि हैन, लकडाउनको समयमा ?
तपाईंले भनेको जस्तो विल्कुलै होइन । म हरेक पटक आफ्नो वडाको प्रत्यक वस्तीमा पुगेको छु । हरेक स्थानमा भएका पसल तथा खाद्य स्टोरहरुमा पुग्दा त्यस्तो पाएकै छैन । कहिँकतै लुकिछिपी कसैले गरेको प्रमाणित भएमा नियमानुसार कारवाहीको लागि माथिल्लो निकाए छँदै छ।
तपाईंको वडामा क्वारेन्टिनमा बस्नेको संख्या कति छन् ?
गत जेठ ८ गतेदेखि हामीले क्वारेन्टिनमा शंकास्पद व्यक्तिहरुलाई राख्न सुरु गरेका हौं । जम्मा ७ जना भारतबाट आउनु भएका व्यक्तिहरुलाई यहाँ राखिएको छ । भारतमा पनि क्वारेन्टिनमा १४ दिन राखेर पठाइएको हो । जहाँ RDT परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । नेपालमा ल्याएर २ स्थानमा RDT परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि स्थानीय प्रशासनको अनुमतिमा वडामा ल्याइएको हो । अब अझै १४ दिन क्वारेन्टिनमा राखेर RDT परीक्षण गर्दा नेगेटिभ आयो भने मात्रै घर पठाइन्छ ।
अनि खानाबासको व्यवस्था नि ?
त्यो पनि वडाले नै व्यवस्था गरेको छ । सबैलाई राम्रो गरिएको छ जस्तो मलाई लागेको छ । मानवीय व्यवहार गर्न पछि पर्दिन ।
यो सघन अवस्थामा प्रतिपक्षीका भूमिका कस्तो पाउनु भयो ?
निकै सरहानीय भूमिका निर्वाह गरिरहनु भएको छ उहाँहरुले । संकटको अवस्थामा को सत्तापक्ष को प्रतिपक्ष ? यस्तो बेलामा सबै मिलेर संकटको समाधान तर्फ लाग्ने नै त हो । मैले मेरो वडामा प्रतिपक्षबाट कुनै असहयोग व्यहोर्नु परेको छैन । खुशी लागको छ । तर प्रतिपक्षले साथ दिएपनि आफ्नै पक्षले सहयोग गर्दैन । टिम मिल्न र मिलाउन नै सकेका छैनौं ।
धन्यवाद् समय र संवादका लागि ?
धन्यवाद् यहाँलाई पनि ।