जेठ १०, जनता भ्वाइस संवाददाता,
रामेछाप .डिभिजन वन कार्यालय रामेछापले कार्यालय भवनको वरपरको घेराबार पर्खालमा जनचेतनामूलक वन सम्बन्धी सन्देशहरु लेखाएको छ ।
आर्थिक वर्ष २०७६–०७७ को वार्षिक स्वीकृति कार्यक्रमबाट उक्त कार्यक्रम गरिएको डिभिजन वन अधिकृत कृष्ण न्यौपानेले जानकारी दिएका छन् । जनता भ्वाइससँग कुराकानी डिभिजन अधिकृत न्यौपानेले भने, ‘वन, पर्यावरण, जलाधार र वन्यजन्तुका क्षेत्रमा समुदायस्तरका नागरिकहरुको गहिरो चासो हुनु जरुरी छ । यदि समुदाय स्तरमा नै यो चासो नहुने हो भने समुदायमा हस्तान्तरित वनको अवस्था निकै दर्दनाक हुन सक्छ । त्यसैले डिभिजन वनमा कुनै पनि समयमा भ्रमणगर्ने सामुदायिक वन उपभोक्ता तथा अन्य सरोकारवालाहरुका लागि यी सन्देशमूलक शब्दहरु कोरिएका हुन् ।’

मुलुक संघियतामा गएसँगै तत्कालिन जिल्ला वन कार्यालयको स्वरुप परिवर्तन गरी डिभिजन वन कार्यालय बनाए सँगै विगतका कार्यालय प्रमुखहरुको सोच भन्दा पनि फरक भएर न्यौपानेले आफ्नो कामलाई अगाडि बढाइरहेका छन् । जिल्लामा भएका सामुदायिक वनहरुको वर्तमान अवस्था र उपभोक्ताहरुको चासोलाई अझ वृद्धि गर्नेगरी आफ्ना कार्यक्रमहरु सार्वजनिक हुन लागेको बेला नै कोभिड १९ को महामारीले मुलुक बन्दबन्दीमा फसेका कारण अझै केही काम गर्ने नसकिएको न्यौपानेले बताएका छन् ।
गत सालको माघ महिनाबाट डिभिजन वन कार्यालय प्रमुखको जिम्मेवारी संहालेका न्यौपाने तिन्ताका देखि नै आफ्ना कर्मचारीहरुको मनभित्रको ‘हाकिम’ बन्न सकेको सब डिभिजन कार्यालय, नागदह, धोवीका वन रक्षक नीरबहादुर हायु बताउँछन् ।

विगतमा बहुसरोकारवाला वन कार्यक्रमको समयमा तत्कालिन जिल्ला वन कार्यालयका प्रमुख केदारनाथ पौडेलले पुष्पलाल मार्ग अन्तर्गत सेलेघाटदेखि हालको मन्थली १३ मिल्ती बजारसम्मको सडक भित्ताहरुमा यस्तै प्रकृतिका सन्देशहरु लेखाएका थिए ।
त्यसपछिका कुनै पनि कार्यालय प्रमुखहरुलाई सामुदायिक वन, वातावरण, वन्यजन्तु र जलाधारका विषयमा चासो नगएको अवस्था थियो । यस्तो अवस्थामा न्यौपानेको यस किसिमको चासोले विशेषतः रामेछाप जिल्लाका सामुदायिक वनहरु समुदायस्तरमा ‘आप्का धन कि बाप्का धन’ भन्ने हिन्दी उखान परिवर्तन भएर ‘सामुदायिक वन, समुदायको धन’ भन्ने सम्म पुग्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।





