जेठ १८,
काठमाण्डौ । नेपालमा हालसम्म पीसीआर विधिमार्फत ६९ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आरडीटी विधिमार्फत एक लाख ११ हजार १ सय ९ जनाको ५ भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिमार्फत २ हजार ८ सय ५३ जनाको र आरडीटी मार्फत ४ हजार ५४ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
यसैबीच मन्त्रालयले पीसीआर विधिको परीक्षण विस्तार भइरहेको जनाएको छ । अहिलेसम्म क्वरेण्टीनमा रहनेको सङ्ख्या १ लाख १९ हजार एक सय ९२ जना रहेका छन् । अहिलेसम्म २ सय २० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
सोमबार १ सय ६६ जना सङ्क्रमित भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १ हजार पाँच सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । आज बाजुराकी दुई वर्षीया बालिकाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै कुल मृतकको सङ्ख्या आठ पुगेको छ ।