जेठ १९, जनता भ्वाइस संवाददाता, रामेछाप
बर्खाको मौसम नजिकिँदै गर्दा मन्थलीमा मकैमा राख्ने रासायनिक मलको लागि लाइन बस्ने कृषकहरुको ठूला भिड देखिएको छ ।
मन्थलीको खाँदबारी ओरालोमा रहेको कृषक जागरण कृषी सहकारी संस्था लिमिटेडको मल डिपोमा सोमबार कृषकहरुको ठूलो भिड लागेको हो । देश कोरोना भाइरसको कारणले लकडाउनमा गएको बेला यता कृषकहरुलाई भने रासायनिक मलको चरम अभाव छ ।
न कुनै सामाजिक दूरी, न कुनै सुरक्षाको प्रबन्ध । कतिपय कृषकहरुको मुखमा त मास्क धरी थिएन । सबैलाई आफूले मल पाउने हो या होइन भन्ने मात्र चिन्ता थियो । चर्को घाममा मलको लाममा लाग्नुको पिडा असैह्य भएको कृषक तुलराम कार्की बताउँछन् ।
सरकारले वर्षेनी कृषिक्षेत्रमा लगानीको धिमा वृद्धि गर्दै सम्भावित आत्मनिर्भरता खोजेपनि समयमा नै कृषकलाई मल र बिउ दिन नसकेको तीतो वास्तविकता रहेको छ । कृषकहरुको यो हालतले सरकारले खोजेजस्तो कृषिमा क्रान्ति र आत्मनिर्भरता सपना बन्ने त पक्का छँदैछ त्यो सँगसँगै हरेक वर्ष गरको लगानी समेत बालुवामा पानी बन्ने देखिन्छ ।