जेठ २७,
रामेछाप । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी पछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने बताएका छन् ।
प्रतिनिधिसभा संसद बैठकमा मंगलबार सांसदहरूले राखेका जिज्ञासामा केन्द्रित रहेर जवाफ दिदै मन्त्री पोखरेलले योसै महिनाभित्रमा परीक्षाहरूबारे निर्णय लिइने बताए ।
‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ उनले भने, ‘विद्यालयमा क्वारेन्टाइन छ । केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन।’
एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने उनले बताए।
एसईईबारे तीन विकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले संसदमा जानकारी गराए। ‘एसईई खारेज गर्ने, विद्यालयलाई दिने, राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउनेजस्ता विकल्प छलफल भएका छन्,’ उनले भने, ‘कानुनी जटिलता पनि छ।’
परीक्षाहरूबारे पर्याप्त गृहकार्य र छलफलबाट टुंगोमा पुगिने उनले बताए। file Photo





