असार ३, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाले बनाउन लागेको १६ शैयाको आइसोलेशन कक्ष काम सुरु भएको १५ दिनसम्म पनि तयार हुन सकेको छैन । नगरपालिकाले कोभिड १९ को कारण टेण्डर प्रक्रिया नअपनाई सामान्य कार्यालयीय निर्णय गरेर निर्माण गर्न सुरु गरेको आइसोलेशन कक्षको हालसम्म करिब ३० प्रतिशत काम मात्रै सकिएको छ ।
यस्तो धिमा गतिमा कार्यप्रगति भएकोमा नगरप्रमुख रमेशकुमार बस्नेत हैरान भएको बताएका छन् । पब्लिक नेटवर्क अनलाईन टेलिभिजनसँग कुराकानी गर्दै बस्नेत भन्छन्, ‘कुन बेला के हुने हो टुङ्गो छैन । यस्तो आकस्मिक काम गर्न थालेपछि छिटो काम गर्नु पर्नेमा कामको दायित्व लिएकाहरु सुस्त हुनुले निकै नै दिक्दारी लागेको छ ।’ यस्तो प्रतिक्रिया दिँदै गर्दा बस्नेत निकै आक्रोसित देखिन्थे ।
जनता भ्वाइसले आइसोलेशन निर्माण कार्यको गति निकै कम भएको बारेमा मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फुँयालसँग प्रतिक्रिया लिँदा फुँयाल आफूहरुको काम ५० प्रतिशत सकिएको बताउँछन्
फुँयालले आफूलाई जति पानी माथिको ओभानो बनाउन खोजेपनि वास्तविकता भने निकै दयालाग्दो छ । विशेषगरी निर्माणपक्षले कामदारको अभाव देखाएको भएपनि यो कारण मात्र यसको संरचना निर्माणमा बाधक देखिँदैन । पहिल्यै गाडिएको ठूलो टेन्ट भित्र बनाउन लागेको यो आइसोलेशन मन्थलीको करिब ४० डिग्रीसेल्सियसको तापक्रममा कति प्रभावकारी होला, त्यो त भोलि यहाँ बस्ने नियति बोकेकाहरले भनलान् नै । तर यहाँ कोरोनाका संक्रमितहरु बस्नुपर्ने अवस्था आएमा कहाँ लगेर राख्छ मन्थली नगर स्वास्थ्य शाखाले ? यो प्रश्नको हामीसँग त के मन्थली नगरपालिकासँग नै छैन यसको उपर्युक्त जवाफ ।
जेठ २० गते नगरपालिकाले एक निर्णयमार्फत कार्य प्रारम्भ गरेको यो काम, सुरु भएको करिब छैटौं दिन नै ढालानको काम सकिएको थियो यो आइसोलेशन बनाउन नगरपालिकाले १२ लाख ६३ हजार ३ सय ७४ रुपैयाँ खर्च गर्ने लक्ष्य बनाएको छ । यस्तो सघन अवस्थामा खर्चको त अहिल्यै हिसावकिताब नखोजौं, त्यो खोज्न पनि एकदिन लाग्नु पर्नेछ । तर यहाँ त पैसा भएपनि काम हुन सकेको छैन ।
जनता भ्वाइसको टिम असार २ गते रिपोटिङ्को लागि निर्माण स्थलमा पुग्दा भुँई ढलान पछि क्याबिन निर्माणको कार्य संचालन हुँदै थियो ।
असार २ गते, १४ औं दिनसम्म चलेको कामको यो गति यस्तो सघन अवस्थामा किन ढिलो भयो भन्ने बारे निर्माण स्थलमा भेटिएका सब इन्जिनियर कृष्णदास श्रेष्ठ यस्ते बनिबनाउ समस्या देखाउँदै अबको समयदेखि रातारात काम गर्ने बताउँछन् ।
संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । कुन दिन कतिबेला कति कोरोना संक्रमित भेटिन्छन् भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा समेत कछुवाको गतिमा काम गरेर नगरपालिकाले कस्तो गतिविधि गर्दैछ भन्ने प्रश्न उठ्न थालेको छ । सब इन्जिनियर श्रेष्ठ र मन्थली नगर स्वास्थ्य प्रमुख फुँयाल अब रातारात काम गरेर भएपनि छिटो सक्ने धुनमा लागेका छन् ।
अब यहीँनेर अर्को प्रश्न जन्मिन्छ,
सुरुदेखि नै रातारात काम गर्न यी महोदयहरुलाई कसले रोक्यो ?