असार ०९
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार (भोली) बस्दैछ । बुधबार ११ बजे प्रधानमन्त्री निवास बालुटारमा स्थायी कमिटी बोलाइएको छ । बैठकको तयारीका लागि (आज) मंगलबार बिहानैदेखि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।
बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँग भेट गरी छलफल गरेका बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान गृहमन्त्री थापासँग छुट्टै भेट गरेका थिए । त्यसपछि स्थायी कमिटी बैठकको तयारीका लागि अध्यक्ष दाहाल र महासचिव पौडेलसँग भेटवार्ता गरेको स्रातले बताएको छ।
बुधबारको स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाएको छ।
गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका २० जना स्थायी कमिटी सदस्यहरू पनि बुधबारको बैठकका लागि अनौपचारिक छलफलमा जुटेको एक स्थाथी कमिटी सदस्यले जानकारी दिए।
सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ (४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।
२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।
यही असार १६ गतेभित्र संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पास गराउने तयारीमा प्रधानमन्त्री लागेका छन्। पार्टीमा निर्णय गराएर संसदमा लैजाने वा पार्टीको विवादकाबीच सिधै संसदमा लगेर पास गर्ने भन्ने कुरा तथ भइसकेको छैन।





