असार १२, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नवीनकुमार थापा मगरले जनता भ्वाइस डट कम को अफिस रहेको आफ्नो घरको सो बापतको भाडा २ महिनाकोे लागि छुट गर्ने घोषणा गरेका छन् । उनले यो घोषणा पत्रकारिताको हित र प्रवर्धनका लागि रहेको समेत बताएका छन् । कोरोना भाइरस कोभिड १९ को कारण भएको बन्दाबन्दी र त्यसको प्रभावले पत्रकार र व्यवसायिक पत्रकारितामा परेको प्रभाव र अस्तव्यस्ततालाई मध्यनजर गर्दै थापा मगरले आफ्नो घरको भाडालाई छुट् गर्ने निर्णय गरेका हुन् ।
घरभाडा छुट् गर्ने बारेमा थापा मगरलाई ‘रामेछाप उद्योग वाणिज्य संघले समेत २० प्रतिशत भाडा छुट् गर्ने निर्णय गर्दा यहाँले किन २ महिनाको छुट् गर्नुभयो ?’ भन्ने जिज्ञासामा थापामगरले भने, ‘त्यो हाम्रो अफिसियल निर्णय हो । त्यसमा मैले समग्र बडीले गरेको निर्णयलाई मान्नु पर्छ तर यो मेरो घर भएकोले मैले स्वेच्छाले यो निर्णय गरेको हूँ । यो निर्णय गर्दा मैले आफू मात्रै सेफ ल्याण्डिङ् हुने भन्दा पनि सबैको यो महामारीमा व्यापारीहरु तथा अन्य वर्गलाई सेफ ल्याण्डिङ् हुनुपर्छ भन्ने भावले छुट् गरेको हूँ ।’
थापा मगरले २ महिनाको घरभाडा सहित् उपभोग्य बिजुली तथा पानीको समेत छुट् गरेका छन् । रामेछाप उद्योग वाणिज्य संघले केही दिन पहिले गरेको आफ्नो घरबहालमा बसेका व्यवसायीहरुलाई २० प्रतिशत भाडामा छुट् गर्ने बताएको भएपनि सो निर्णयलाई पुर्नविचार गर्दै नगरपालिका तथा सम्बन्धित निकाय समक्ष मन्थलीका समग्र घरधनीहरुलाई छुट गराउन आग्रह गरिरहेको थापा मगरले जनाकारी दिएका छन् । साथै अन्य आवश्यक व्यवसायिक, सम्पत्ति तथा घरभाडा करहरुको छुट् समेत गर्नु पर्छ भन्ने उहाँको भनाई रहेको छ ।





